१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पुर्जा दिने भन्दै सर्दु खोला अतिक्रमण

भुमि आयोगबाट सुकुमबासीहरूले धनी पुर्जा पाउने हल्ला चलाएर धरानको सर्दु खोला अतिक्रमण गरी बस्ती बसाउन चलखेल सुरु भएको छ। धरान– १७ कालापानीस्थित सर्दु खोलामा अतिक्रमण गरि रातारात एक सयभन्दा बढी घडेरी तथा ४ वटा टहरा बनाएको पाइएको हो। रातारात खोला अतिक्रमण गरी बनाइएका घरटहरालाई बुधबार दिउँसो धरानको नगर प्रहरीले हटाएको छ। नगर प्रहरी निरीक्षक विष्णु कोइरालाका अनुसार त्यहाँ एकवटा घडेरी ओगटिएको थियो भने भुइँ ढलान गरेर ४ वटा टहरा निर्माण गरिएको थियो। ‘चारवटा टहरा भुइँ नै ढलान गरेर बनाइएको थियो, सयवटा घडेरी ओगटिएको रहेछ,’ कोइरालाले भने, ‘हामीले गएर ती सबै हटाइसकेका छौं।’  

स्थानीयहरूका अनुसार धरानमा सुकुम्बासीहरूलाई जग्गा वितरण गर्दैछ भन्ने हल्ला चलेको कारण सर्दु खोलामा अन्यत्रबाट मानिसहरू आएर जग्गा ओगट्न थालेका हुन्। धरान उपमहानगरपालिका र भूमी आयोगबीच मापदण्ड पुगेका भूमिहीन तथा सुकुमबासीलाई पुर्जा वितरण गर्ने सम्झौता भएको थियो भने आयोगको जिल्ला समिति पनि गठन भइसकेको छ। सोही कारणले धरानमा पुर्जा वितरण हुने हल्लाको कारण अहिले धेरै जग्गा ओगटेका सुकु्मबासी परिवारको जग्गा किनबेचले व्यापकता पाएको छ भने खोला तथा ऐलनी जग्गाहरू अतिक्रमण गर्ने क्रम बढेको छ। ‘धरानमा सकुमबासीहरूलाई जग्गा वितरण हँुदैछ भन्ने हल्ला चलेको रहेछ, त्यसैले आएर आफूखुसी जग्गा ओगटिएको रहेछ,’ कोइरालाले भने, ‘हामीले भत्काइँरहदा कोही पनि प्रतिकार गर्न आएनन्, त्यसैले सबै बाहिरबाटै आएका होलान् भन्ने छ।’

वडा नं १७ का अध्यक्ष मनोज भट्टराईका अनुसार अतिक्रमण परेको ठाउँमा देवीथान पनि छ। अनधिकृत रूपमा बनेका टहरा भत्काउन लगाएको र उक्त क्षेत्रलाई घेराबारा गरेर संरक्षण गरिने अध्यक्ष भट्टराईले बताए। उनले भने, ‘त्यस ठाउँमा देवीथान पनि छ। त्यो धार्मिक क्षेत्र पनि भएकोले घेराबार गरेर संरक्षण गर्छाैं।’ मेयर तिलक राईले पनि अनधिकृतरूपमा बस्ती बसेको सूचना पाएपछि हटाउन नगर प्रहरीलाई निर्देशन दिएको बताए। साथै उनले सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीयले नै चासो दिनुपर्ने बताए।  

‘बाहिरको मान्छे आएर खोला ओगटेर टहराहरू बनाएको रहेछ, हामीले हटाउन लगाईसक्यौं,’ मेयर राईले भने, ‘खोला अतिक्रमण गरेर बसेपछि बर्षामा भेलबाढी आएर समस्या हुन्छ। त्यसैले खोला अतिक्रमण गर्न दिनुहुँदैन। त्यसको लागि स्थानीय आफंै पनि सचेत हुनुपर्छ, नयाँ बस्ती बसाउन दिनुहुँदैन।’

प्रकाशित: २० फाल्गुन २०७७ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App