८ वैशाख २०७८ बुधबार
समाज

आधुनिक सहर निर्माणमा ललितपुर अगाडि

पालिका

ललितपुर महानगरपालिकाले पुल्चोक कुपण्डोलमा निर्माण गर्ने फ्लाई ओभरको सांकेतिक तस्बिर

ऐतिहासिक तथा मौलिक सहरका रूपमा मानिने उपत्यकामा आधुनिक पूर्वाधार भने सोचेजस्तो छैन। आधुनिक संरचना निर्माण र पूर्वाधारमा भएको गल्ती र कमजोरीका कारण देशको राजधानीको पूर्वाधार भद्रगोल छ। विगतदेखि नै दीर्घकालीन सोच र योजनाअनुसार संरचना नबन्दा सहर क्रंक्रिटमय मात्र बनेको छ। सहरी पूर्वाधारमा ध्यान नदिँदा काठमाडौं झन् झन् कुरूप र अव्यवस्थित बन्दै गइरहेको छ। यही बेला ललितपुर महानगरपालिकाभित्र भने केही चित्त बुझ्दो काम भएको छ।  

मुलुकमा संघीयता आएसँगै ललितपुरमा आएको नयाँ टिमले ससाना काम गर्दा पनि व्यवस्थित सहरका रूपमा चिनाउन सहयोग पुगेको छ। गत आव २०७६/७७ मा महानगरभित्र १ हजार ७ सय ७ वटा योजना सम्पन्न भएका छन्। न्यूनतम ५ लाखदेखि ५० लाखभन्दा बढी लगानीका यी योजना सम्पन्न भएको महानगर सूचना अधिकारी रुद्र अधिकारी बताउँछन्।  

उनका अनुसार गत आवमा वडास्तरीय योजना मात्रै १३ सय ८६ वटा सम्पन्न भएका छन्। ६.६ किमि सडक कालोपत्रे भएको छ। ७.६ किमि सडक मर्मत गरिएको छ। यस्तै हरियाली योजनाअन्तर्गत ३० वटा पार्क निर्माण भएका छन्। ५२.४ किमि ढल निर्माण गरिएको छ। ३० वटा खानेपानीका योजना सम्पन्न भएका छन्। १० वटा सिँचाइ योजना र १० वटा पोखरी पुनर्निर्माण गर्ने काम भएको छ।

गत आवमा वडास्तरीय योजना मात्र १३ सय ८६ वटा सम्पन्न भएका छन्। ६.६ किमि सडक कालोपत्रे भएको छ भने ७.६ किमि सडक मर्मत गरिएको छ। हरियाली योजनाअन्तर्गत ३० वटा पार्क बनेका छन्। १० वटा सिँचाइ योजना र १० वटा पोखरी पुनर्निर्माणको काम सम्पन्न भएको छ।

नयाँ–नयाँ योजनासहितका आधुनिक विकासका योजनाले ललितपुर थप व्यवस्थित हुने विज्ञ बताउँछन्। सहरी योजना तथा पूर्वाधारविद् सूर्यराज आचार्यले काठमाडौंको तुलनामा ललितपुर महानगरको पूर्वाधार निर्माण शैली र संरचना केही मिलेको बताए। उनका अनुसार कैयौं मापदण्ड र आधारहरूसँगै ललितपुर सहरले महानगरको नाम पाएको हो। महानगरसँग जोडिएर आउने मुख्य संरचना सहरी पूर्वाधार हो। भौतिक विकासको जटिलता, जनघनत्व बढी, खाली जग्गा कम भएको, बनिबनाउ संरचनायुक्त, नयाँ काम गर्न जटिलता भएको ठाउँ महानगर हो। उनी भन्छन्, ‘यस हिसाबमा हेर्दा पनि महानगरको जटिलता र चुनौती कति छ भन्ने थाहा हुन्छ, महानगर बन्न जनसंख्या मात्रै भएर हुँदैन आधुनिक सरसुविधा पनि त्यसले भेटेको हुनुपर्छ, त्यस्ता कुरामा ललितपुर अलि व्यवस्थित र अगाडि छ।’ उनका अनुसार सहरको रूप झल्किने भनेकै पूर्वाधारका कारण हो। यदि सहरको पूर्वाधार चिटिक्क र मिलेको छ भने त्यो सहर व्यवस्थित देखिन्छ। ललितपुर महानगरको केही पक्षलाई हेर्ने हो भने राम्रा काम भएका छन्। भवनवरपरको संरचना झकिझकाउ बनेको छ। ऐतिहासिक कमल पोखरीले पुनर्जीवन पाएको छ। भूकम्पमा भत्किएका काठकाठका दुईवटा पार्टी बनिसकेका छन्।  

प्रविधिविज्ञ डा. सुदन झा भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार र बजार अत्याधुनिक भयो भने मात्रै सहरलाई व्यवस्थित मान्न सकिने बताउँछन्। उनी भन्छन्, ‘आधुनिक सहर मानवीय आवश्यकता पूर्तिका हिसाबले अग्रणी मानिन्छ, त्यसकारण बस्दै गरेका नयाँ सहर थप सुविधायुक्त हुनुपर्छ।’

अन्य आधुनिक संरचना निर्माण शैली र पूर्वाधारलाई हेर्दा उपत्यकाकै भव्य र व्यवस्थित पूर्वाधार ललितपुर अग्र स्थानमा रहने अनुमान भने गरिएको छ। काठमाडौंमा सरकारी संरचना भरिएपछि सरकारी कार्यालय ललितपुरमा सर्दै छन्। मन्त्रीहरूका लागि भैंसेपाटीमा जिम हाउससहितको भव्य क्वार्टर निर्माण भइरहेको छ। मन्त्रीको बसोबास भैंसेपाटीमा सर्ने भएपछि पुल्चोक–एकान्तकुना–भैंसेपाटी सडक व्यवस्थित बनेको छ। लगनखेल हुँदै सातदोबाटो निस्कने सडक पनि ८ लेनमा परिणत भएको छ। जावलाखेल हुँदै कुपन्डोलसम्म साइकल लेन छुट्याइएको छ। पुल्चोकको मन्त्री क्वार्टर र पुल्चोक इन्जिनियरिङ क्याम्पसको बाहिरी पर्खाल निर्माण भइसकेको छ।  

ललितपुर महानगरपालिकाका पूर्वमेयर बुद्धिराज बज्राचार्य राजनीतिक परिवेश र सहरी विकास मन्त्रालयको कारण सहरको पूर्वाधार बिग्रिएको बताउँछन्। उनी भन्छन्, ‘सहरको पूर्वाधारमा म तत्कालीन ललितपुर नगरपालिकाको मेयर हुँदा पनि धेरै योजना बनाइएको थियो, तर मेयर र कर्मचारी फेरिँदै जाँदा पूर्वाधार योजना मनलाग्दी भयो।’ उनका अनुसार ललितपुर महानगरपालिकाको पूर्वाधारलाई व्यवस्थित बनाउने सन्दर्भमा भएका छलफल र योजनाको कमी नै छ।  

ललितपुर महानगर तथा उपत्यकाको आधुनिक पूर्वाधार भने संस्कृतिविद् सत्यमोहन जोशीलाई त्यति चित्त बुझेको छैन। सहर आधुनिक र मौलिक हुनुपर्छ भन्ने मान्य राख्ने जोशी सहरको पूर्वाधारमा कैयौं कमीकमजोरी भएको बताउँछन्। उनी भन्छन्, ‘सहरमा हदैसम्मका आधुनिक संरचना र हदैसम्मका पौराणिक तथा मौलिक संरचना हुनुपर्छ, आधुनिकता भिœयाउने क्रममा हामीले मौलिकतालाई पनि ख्याल गर्नुपर्छ, अहिलेको सहरी पूर्वाधार मलाई त्यति मन परेको छैन।’ उनको बुझाइमा सहर भनेको पढेलेखेका र जिम्मेवार निकाय भएको ठाउँ हो। जहाँ कैयौं इन्जिनियर र पूर्वाधारविद् हुन्छन्। उनीहरूकै कारण पनि सहरको पूर्वाधार व्यवस्थित बनेको हुन्छ। तर हाम्रा सहर इन्जिनियर र पूर्वाधारको योजना अनुरूप विकास हुन नसकेको उनको बुझाइ छ। सहरी योजना बनिनसक्दै सहरको अधिकांश सम्पत्ति निजीकरण हुँदा सहरको संरचना भद्रगोल भएको जोशी बताउँछन्।

पूर्वाधारमा विज्ञकै मतभेद

नयाँ र आधुनिक विकासको जटिलता भएको ठाउँमा परिष्कृत विकास र जनअपेक्षाअनुसार काम गर्नु जनप्रतिनिधिको मुख्य दायित्व भए पनि सोही अनुसार जनप्रतिनिधिले काम नगरेको विज्ञ बताउँछन्। पूर्वाधारविद् सूर्यराज आचार्य सहरको संरचनालाई ख्याल गर्दै विकासका काम अघि बढाउन सक्ने तागत निर्वाचित जनप्रतिनिधिमा हुनुपर्ने धारणा राख्छन्। भौतिक संरचना ठिकठाक नभइकन र अन्य सहरी सरसुविधा नपुगेको हिसाबमा त्यो ठाउँलाई राम्रो वा विकसित ठाउँ भन्न नमिल्ने उनको तर्क छ। ‘अहिले नेपालका जति पनि महानगर र नगरपालिका छन्। तीनले खास मापदण्ड पूरा गरेको भेटिन्न,’ उनी भन्छन्, ‘किनभने महानगर र नगरपालिका भनेको अलि सुविधायुक्त र चुस्त सेवा भएको ठाउँ हो भन्ने बुझ्नुपर्दछ। हामीकहाँ त संरचना र शैलीमै मदभेद छ।’ विज्ञहरूभन्दा जनप्रतिनिधि जान्नेसुन्ने पल्टिँदा सरकारको विकास भद्रगोल भएको उनको भनाइ छ। आर्किटेक्ट इन्जिनियर तथा काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटीका) अध्यक्ष रोहित रञ्जितकार सम्पदा पूर्वाधारमा पनि धेरैथरी विवाद र मदभेद देखिएकाले काम गर्न अलमल भइरहेको बताउँछन्। ‘सहर बन्नका लागि इन्जिनियरिङ पक्ष मिलेको हुनुपर्छ,’ उनी भन्छन्, ‘तर यहाँ पूर्वाधारमा सरकार र विज्ञ दुई खेमामा भए।’

सिटिनेटसँगको सहकार्य  

गत कात्तिक २०७६ मा ललितपुर महानगरपालिकामा विदेशी मेयर उपमेयरहरू सरिक भए। जसले ललितपुरलाई मात्रै नभएर नेपालकै स्थानीय सरकारलाई आधुनिकताको अनुभव लिने मौका मिल्यो। काठमाडौं एसिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिकालगायत आबद्ध रहेको संस्था ‘सिटिनेट’को ३८औं कार्यसमिति बैठक ललिततपुर महानगरले आयोजना गरेपछि विदेशी देशका मेयर उपमेयरहरू काठमाडौं आएका थिए। २७ देशका मेयर–उपमेयर काठमाडौं आउनु चानचुने कुरा थिएन। उनीहरूबाट यहाँका जनप्रतिनिधिले लिन सक्ने फाइदा धेरै थिए। त्यसमध्ये सबैभन्दा बढी फाइदा ललितपुर महानगरपालिकाले लिएको मान्न सकिन्छ। विज्ञहरू नेपाल भ्रमण आएको मौका छोपी महानगरप्रमुख चिरिबाबु महर्जनले ललितपुर सहरभित्र आधुनिकता र मौलिकता कसरी झल्काउने भन्ने सम्बन्धमा छलफल गरेका थिए। जसकारण साइकल लेन, साना सडक व्यवस्थित, होर्डिङ बोर्ड व्यवस्थित, बिजुलीका तार र ढल व्यवस्थित गर्न इन्जिनियरिङ सहयोग पुगेको थियो। उक्त बैठकमा सहभागी हुन भारत, चीन, कोरिया, जापानलगायत देशका जनप्रतिनिधि समावेश थिए। उक्त अवसरमा नेपालका सांस्कृतिक सम्पदालाई अन्य मुलुकमा प्रचारप्रसार गरी पर्यटक आगमन बढाउने लक्ष्य ललितपुर महानगरले राखेको थियो। 

ललितपुर महानगरपालिका सिटिनेटमा २९ वर्षदेखि आबद्ध रहँदै आएको छ। विकसित देशका व्यक्तिको सहभागितामा नेपालमा यस्तो कार्यक्रम आयोजना हुनु राम्रो मानिन्छ। यसले यहाँका ऐतिहासिक ठाउँको प्रचारप्रसार र विकास तथा पूर्वाधारमा विदेशीसँग हातेमालो गर्न सहज पुर्‍याउँछ। ललितपुर महानगरले सिटिनेटमा भाग लिएका देशबाट दमकल र ब्रुमर अनुदान प्राप्त गरेको थियो। त्यस्तै यसपटकको बैठकमा जलवायु परिवर्तन, सम्पदा र दिगो पर्यटन विषयमा छलफल भएको थियो। यसबाहेक आधुनिक विकासमा रमाइरहेका विदेशी मुलुकका मेयर–उपमेयरले महानगरको पूर्वाधार व्यवस्थित पार्नेबारे सुझाव दिएका थिए। सिटिनेट सन् १९८७ मा स्थापित सहरको विकासका लागि प्रतिबद्ध निकाय र संस्था आबद्ध भएको संस्था मानिन्छ। यसले सहरलाई विकसित र समृद्ध बनाउन नेतृत्वकर्ताको क्षमता अभिवृद्धि गर्न सहयोग गर्दै आइरहेको छ।

पूर्वप्रधानन्त्री बाबुराम भट्टराई पूर्वाधार र मौलिकता सहरको परिचायक रहेको बताउँछन्। सहर मानवीय सभ्यताको परिचायक भएकाले महानगरपालिकाको पूर्वाधार कसिलो र व्यवस्थित हुनपर्ने बताउँछन्। ललितपुर सहर सनातन सहर भएकाले यो सहरको मौलिकता र इतिहासअनुसार विकास र पूर्वाधार निर्माणका काम गर्नुपर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘यो सहरको विकासको अभिभारा बोकेको निकाय सबैभन्दा बढी जिम्मेवारी संस्था हो, ललितपुर विकासका लागि महागरले उठाएको योजना र विकासका काम कामकारबाही होलान् तर मेरो विचारमा सहर अलि अव्यवस्थित नै छन्।’

महानगरपालिका उपमेयर गीता सत्याल महानगरलाई सुव्यवस्थित र सुविधायुक्त सहर बनाउन कस्सिइरहेको बताउँछिन्। पूर्वाधार विकास नै महानगरको प्राथमिकतामा परेको उनको भनाइ छ। उनका अनुसार महानरगलाई हरियाली र सफा पार्नका लागि वृक्षरोपणको काम भएको छ। कुपण्डोल–पुल्चोक, सातदोबाटो–हात्तीवन, सानेपा–पुल्चोक क्षेत्रमा वृक्षरोपण भएको छ। यहाँका उजाड बनेका पार्क र पोखरीले पनि मूर्तता पाएका छन्। उनी भन्छिन्, ‘नयाँ नयाँ पूर्वाधारका काम गर्दा हामीले मापदण्ड र मौलिकतालाई चासो दिएका छौं, सरकारको रूप पूर्वाधारमा भर पर्छ।’ उनका अनुसार आगलागीको हिसाबले उच्च जोखिम मानिएको सहरी क्षेत्रमा आगलागी नियन्त्रणका लागि दमकल कार्यालय व्यवस्थित पारिएको छ।  

यो वर्ष १० वटा वडा भवन निर्माण सम्पन्न भइसकेका छन्। २९ वटै वडा कार्यालयलाई आफ्नै भवन बनाउन महानगरले ८५ लाख रूपैयाँ बजेट छुट्याएको छ। ७० हजार २ सय ५६ घरधुरी रहेको महानगरमा प्रतिवर्ष ३.५५५ वृद्धि दर छ। महानगरमा साक्षरता दर ८०.३५५ रहेको उपमेयर सत्यालको भनाइ छ।  

उपभोक्ता समितिमार्फत काम गर्दा झन्झट

सूचना अधिकारी गौतम अधिकांश योजना उपभोक्ता समितिमार्फत भएको बताउँछन्। यसो गर्दा खरिद पक्रिया छिटो र सजिलो भए पनि समयमा योजना नसकिने र म्याद थप गर्नुपर्ने समस्या आउने उनको भनाइ छ। गुणस्तरमा समस्या हुने, अनुगमन र कामदारको अभाव हुने भएकाले सहरी विकासका झन्झट भएको उनी बताउँछन्। ‘कतिपय योजनाको काम सम्पन्न भइसकेपछि मर्मतका लागि उपभोक्ता समितिले जिम्मा लिएन, त्यसकारण पनि समस्या भएको महसुस गर्न सकिन्छ,’ उनी भन्छन्।

मेयर चिरिबाबु महर्जन भन्छन्

महानगरभित्र सडक कालोपत्रे वा निर्माण गर्दा जनप्रतिनिधिको सहभागिता अनिवार्य गरिएको छ। महानगरले पछिल्ला ३ वर्षयता ७३ वटा सडकखण्डको काम गरिरहेको छ। त्यसमध्ये ३० वटा सडकखण्डको काम सकिएको छ।  

एसियाली विकास बैंकसँगको सहकार्यमा शंखमूलदेखि लगनखेलसम्म तार भूमिगतर ढल व्यवस्थापनको काम सुरु गरिएको छ। कुपण्डोलदेखि जावलाखेलसम्म स्मार्ट स्ट्रिट लाइट जडान कार्य सकिने क्रममा छ।  

कलंकीदेखि कोटेश्वरसम्मको चक्रपथ सडकमा लाइट जडान गर्ने योजना अघि बढाइनेछ। जावलाखेल, लगनखेलर पुल्चोकको फुटबल ग्राउन्डलाई व्यवस्थित गर्नेर बाहिरबाटरेलिङराख्ने कार्य भइरहेको छ। महानगरपालिकाकै अर्को नयाँ भवन निर्माण गर्ने योजना पनि तय भएको छ। महानगरको भौतिक पूर्वाधार व्यवस्थित गर्न हामीले सक्दो प्रयास गरेका छौं। पाटन क्षेत्रको सडकर जाम व्यवस्थित गर्न एकतर्फी नियम लागु गरिएको छ। महानगरभित्र पैदल यात्रा गर्न सकिने ठाउँमा मोटरसाइकल निषेध गर्ने योजना पनि अघि सारिएको छ।

प्रकाशित: १९ फाल्गुन २०७७ ०९:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?