१० वैशाख २०७८ शुक्रबार
समाज

फेवातालः सिरान क्षेत्रको पुरै वेवास्ता

सिरान क्षेत्र क्षतविक्षत, तल भने संरक्षणको स्वर

फेवातालको सिरान क्षेत्रको हपर्न खोलाको भत्किएको ड्याम मर्मत गर्दै कामदार । तस्बिरः उमेश पुन÷नागरिक

पोखरा क्षेत्रमा सन् २०२० मा अहिलेसम्मकै बढी ५४५३ मिलिमिटर वर्षा भयो । यसअघि १९९८ मा सबैभन्दा धेरै ४८७९ मिलिमिटर वर्षा भएको थियो । दुईदशक अघिको रेकर्ड तोड्दै २०२० मा अधिक वर्षा हुँदा पोखराको गहना मानिएको फेवातालको सिरान क्षेत्रमा दर्जनौ ठाउँमा बढेमानका पहिरा गए ।  

अधिक वर्षाले फेवातालको जलाधार क्षेत्रको एउटै खहरेमा यो वर्षायाममा तीनदर्जन हाराहारीमा पहिरो झरेको विज्ञले बताएका छन् । ती पहिरोबाट बगेको ढुंगामाटो, गिट्टी, बालुवा सिधै फेवातालमा मिसियो । पहिरो मात्र जाने नभई त्यस क्षेत्रको जंगलको हरियाली समेत बगेर तालमा मिसियो, ढुंगामाटोले खेतीयोग्य जमिन पु¥यो ।  

विभिन्न अध्ययनले सिरान क्षेत्रबाट हरेकवर्ष बगेर आउने करिब १ लाख ४२ हजार टन गिट्टि, बालुवा र ढुंगा फेवातालमा मिसिने देखाएका छन् । त्यसले ताल पुर्ने गतिलाई तिब्रता दिएको छ । सिरान क्षेत्रको पहिरोको मात्र नभई मोटरबाटोको माटो समेत बगेर फेवातालमै आउँछ ।  

पोखरा महानगरपालिकाको–२३ फेवातालको सिरान क्षेत्र हो । वडाको सम्पुर्ण भाग नै जलाधार क्षेत्रमा पर्छ । वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले वर्षाका कारण जलाधार क्षेत्रमा वर्षेनी भूक्षय हुने गरेको बताए । उनका अनुसार २३ नम्बर वडामा मात्र झन्डै एकसय किलोमिटर दुरीको कच्ची मोटरबाटो पनि छ । निरन्तरको वर्षाले खहरेमा पहिरो मात्र निम्त्याउने नभई मोटरबाटोको कटान पनि उत्तिकै गर्छ ।  

‘यो पटक त सडक मात्र नभई फेवासिरान नै छियाछिया परेको छ । जंगल क्षेत्रमा पनि उत्तिकै नोक्सान भयो । हरियाली जंगल नै पहिरोमा बग्यो,’ उनले भने, ‘सिरानबाट बगेको सबैचिज तालमा मिसियो । फेवातालको तल्लो क्षेत्रमा संरक्षणका कुरा बढी हुन्छन्, सिरान क्षेत्रको तहसनहसबारे वेवास्ता गरिन्छ ।’  

वर्षादले तालको जलाधार क्षेत्रमा भूक्षय निम्त्याउँदा त्यसको मार तल्लो भेगमा पर्दै आएको उनले बताए । ‘एकैपटक ठुलो पहिरो जान्थ्यो भने सबैले थाहा पाउँथे । सानातिना पहिरो र सडक कटानबारे धेरैलाई चाँसै छैन,’ उनले भने, ‘सिरानबाट बगेको पहिरोले ताल त पुर्छ नै ठाउँठाउँमा खेतीयोग्य जमिनमा पनि क्षति पु¥याएको छ । त्यसको लेखाजोखा नै छैन ।’

पराजुलीका अनुसार फेवातालको जलाधार क्षेत्रमा अन्नपुर्ण गाउँपालिकाको १ देखि ४ नम्बरसम्मको वडाक्षेत्र र पोखरा महानगरपालिकाका २२,२३ र २४ नम्बर वडा पर्छन । तीमध्ये अन्नपुर्णका चारवटा वडा र पोखराका २३ र २४ मा भू–क्षय हुँदा मार फेवाताललाई पर्छ । ‘तल्लो भेगको अतिक्रमणलाई मात्र ध्यान दिएका छौ । जलाधार क्षेत्रको भूक्षय झनै डरलाग्दो छ,’ उनले भने, ‘अधिक वर्षाले योपटक झनै बढी मार ताललाई परेको छ ।’ ‘सिरान क्षेत्र जबसम्म संरक्षण हुँदैन, तबसम्म ताल पुरिनबाट जोगिँदैन,’ उनले भने ।  

‘सिल्टेसन ड्याम’को बिजोग

सिरान क्षेत्रबाट बगेर आएको ढुंगा, गिट्टी, बालुवाले वर्षेनी फेवाताल पुर्दै गएको भन्ने आवाज उठेपछि बगेर आउने ती सामाग्री तालसम्म आउन नदिन ‘सिल्टेसन ड्याम’ (थिग्रयाउने पोखरी) बनाउने योजना बन्यो । त्यही अनुसार गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा सिरान क्षेत्रका वेतयनी, लौरुक, अँधेरीखोला र हर्पनखोलामा ‘सिल्टेसन ड्याम’ बनाइयो ।  

महानगरका इन्जिनियर विमल आचार्यका अनुसार वेतयानी र लौरुकखोलामा ५० मिटर लम्बाइ, ५० मिटर चौडाइ र ४ मिटरको उचाइका ‘सिल्टेसन ड्याम’ बनाइयो । अँधेरीखोला र हर्पनमा भने १ सय मिटर लम्बाई, १ सय मिटर चौडाई र ४ मिटर उचाईका ड्याम बने । बेतयानीको ड्याम’ बनाउन ५ करोड ४६ लाख, लौरुकमा ५ करोड ७४ लाख, अँधेरीखोलामा ९ करोड ६ लाख र हर्पनखोलामा ७ करोड ८८ लाख रुपैयाँ लागत परेको थियो ।  

करोडौं रुपैयाँ खर्चेर सिरानमा सिल्टेसन ड्याम त बनाइयो, तर, ती ड्याममा भरिएको ढुंगा, माटो, गिट्टी निकालिएन । वर्षाद्मा एकैरातमा भरिएका ती ड्याम बेलैमा खालि नगराउँदा सिरान क्षेत्रबाट बगेर आएको ढुंगा, माटो, गिटी योवर्ष पनि तालमै मिसिन आइपुग्यो। ‘ड्याम बनाउन जुन हिसाबले करोडौं रुपैयाँ खर्च भयो, त्यसले खासै अर्थ राखेन,’ पोखरा–२३ का अध्यक्ष पराजुलीले भने, ‘भरिएका ड्याम उत्तिनै बेला खालि गर्नुपर्ने हो, तर संकलित ढुंगा, गिटी, बालुवा एकपटक पनि निकालिएन । ड्यामले रोकेका सामाग्री अहिले पनि निकालिएको छैन ।’  

उनका अनुसार ड्याममा संकलित ढुंगा, गिटी, बालुवा ननिकाल्ने हो भने अबको केही समयसपछि वर्षा हुँदा बगेर पुन तालमा मिसिनेछ । ‘यतिखेर वर्षा भएको छैन । अबको केही समयमा पोखरामा दिनहँु भीषण वर्षा हुँदा खहरेमा थामिनसक्नु बाढी आउँछ, त्यो बाढीले ड्याम जोगिने छैनन, बरु अहिले थुप्रिएको ढुंगा, गिटी, बालुवा बगेर सिधै तालमै पुग्नेछ,’ उनले भने, ‘यसैपनि ती ड्याम बलियोगरि बनेका छैनन । एकवर्ष पनि नटिक्ने गरि ड्याम बनेका छन्, पोहोर बनेका ड्याम अहिले नै टालटुल गर्न थालिएको छ ।’  

एकपटक बनेका ड्यामले वर्षाैका लागि काम गर्नुपर्ने भएपनि फेवासिरानका यी ड्यामले एकवर्षका लागि पनि काम नगरेको उनले बताए । ‘अहिले नै थुप्रिएको सामाग्री ननिकाल्ने हो भने आगामि वर्षामा ड्याम पनि रहनेछैनन, र अहिले रोकिएको ढुंगा, गिटी, बालुवा तालमा पुग्नेछ,’ उनले भने, ‘करोडौं रुपैयाँ खर्च गरिएका ड्यामको अर्थ केहि रहेन ।’ पराजुलीले भने झैं सिल्टेसन ड्याम अहिले नै भत्किने अवस्थामा पुगेका छन् । हर्पनको ड्याम त मर्मतसम्भार गर्न थालिएको छ । ड्यामको बीचबीचमा भ्वाङ पर्न थालेका छन् । तिनै भ्वाङ पुर्न कामदार खटाइएको छ ।

महानगरका इन्जिनियर आचार्य पनि ड्याममा संकलित ढुंगा, गिटी, बालुवा बेलैमा निकाल्न नसकिएको स्वीकार्छन । ‘वर्षामा बाढिले गर्दा निकाल्न सकिएन, अब भने निकाल्नका लागि टेण्डर आव्हानको तयारी भईरहेको छ,’ आचार्यले भने, ‘दशवर्षका लागि ठेक्का लिएर ड्याममा संकलित सामाग्री निकाल्ने र त्यसबापतको आम्दानीले तालकै सिरान क्षेत्रमा खर्चने योजना छ । ठेक्का दिनका लागि टेण्डर आव्हान गर्ने तयारी भएको छ ।’  

ड्याममा संकलित ढुंगामाटो, गिटी सातामा दुईपटक निकाल्नु पर्ने हो । तर, वर्षाले गर्दा निकाल्नै नसकेको आचार्यले बताए । संकलित सामाग्री पुरै निकालेर रित्तो बनाएपनि दुईघण्टामा भरिने गरि सिरान क्षेत्रमा पहिरो झरेको उनले बताए । अँधेरी खोलाबाट दुईपटक सामाग्री निकालेपनि बगाएको उनले बताए । निर्माण गरिएका ‘सिल्टेसन ड्याम’ बाट वार्षिक रुपमा २ लाख ५६ हजार घनमिटर ढुंगा, गिट्टी, बालुवा झिक्न सकिने अनुमान महानगरको थियो । त्यसबाट महानगरपालिकालाई वार्षिक २३ करोड रुपैयाँ आम्दानीसमेत हुने अनुमान रहेकोमा त्यो सबै हुन नसकेको आचार्यले बताए ।

स्थानीयबासि पनि ड्यामको अवस्थाप्रति चिन्तित छन् । अँधेरीखोला नजिकैका बासिन्दा स्थानीय बिष्णु दाहालका अनुसार महानगरले हरेकसाता संकलित सामाग्री निकाल्ने बचन दिएपनि एकपटक पनि निकालेको छैन । दाहालका अनुसार ड्याममा संकलित सामाग्री ओभरफ्लो भएर बग्दा नजिकैको १५६ रोपनी जग्गाको धानखेती पुरिएको थियो । ‘चक्लाबन्दी गरेको जग्गामा धानखेती फस्टाएको थियो । ड्याम बनेपछि हामी पनि चक्लाबन्दी क्षेत्र सुरक्षित हुनेमा आशावादी थियौ,’ दाहालले भने, ‘तर, ड्याम नै फुट्यो । ड्याम ओभरफ्लो र फुट्दा बगेको सामाग्रीले चक्लाबन्दी भएको जग्गा नै पुरियो । तीनसय मुरी धान हुने अनुमान थियो, २० मुरि धानमा चित्त बुझाउनुप¥यो ।’ ड्यामको बाँधले माथिबाट बगेर आएको सामाग्रीको भार थेग्न नसकेपछि फुटेको उनले बताए ।  

गण्डकी ताल विकास प्राधिकरणका कार्यकारी प्रमुख डा. अनुप गुरुङले पनि ड्याममा संकलित ढुंगा, गिटी, बालुवा बाहिर ननिकाल्नु नै कमजोरी भएको बताए । ‘२८ करोड रुपैयाँ भन्दा बढी लागत खर्चेर बनाइएको ड्यामको सही उपयोग हुन नसकेकै हो,’ गुरुङले भने, ‘विस्तृत अध्ययन नगरी ड्याम बनाउँदा यो अवस्था आएको हो । २८ करोड भन्दा बढी रकम खेर गएको छ ।’ ड्याममा संकलित सामाग्री बेचेर आएको रकमले तालको सिरान क्षेत्रको संरक्षण गर्ने योजना भएपनि त्यो अनुसार काम नभएको उनले पनि बताए । अहिले संकलित सामाग्री ननिकाल्ने हो भने आगामि वर्षामा सबै बगेर तालमै आउने जोखिम रहेको र ड्यामको लगानी खेर जाने उनले बताए ।  

वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजन सुवेदी सिल्टेसन ड्याम भन्दा माथितिर ठाउँठाउँमा ५० मिटरको अन्तरमा चेकड्याम बनाएर बगेर आएको सामाग्री थिग्रयाउन सकेको भए मुख्य ड्यामलाई भार कम पर्ने भएपनि त्यो अनुसार डिजाइन नभएको बताउँछन् । ‘एकैपटक ड्याम बन्दाको परिणाम हो । बढेमानका ढुंगा माथि नै रोक्नुपर्ने हो, तर, तल आएर थुप्रिदा ड्याम नै कमजोर बनेको हो,’ उनले भने, ‘संकलित सामाग्रीलाई पनि बेलैमा निकाल्न सकिएन । मुख्य समस्या नै गेग्रानबाट ताल पुरिने समस्या हो ।’ तालको वरिपरि सडक खन्नका लागि डोजरको खर्च जुटाएपनि संरक्षणका लागि बजेट नदिँदा सडक र पहिरोले ताललाई पुर्दै लगेको उनले सुनाए ।  

स्थानीयको जग्गामा सिल्टेसन ड्याम

फेवातालको पानीको मुल श्रोत मानिएका हपर्न, अँधेरी सहितका खोलामा सिल्टेसन ड्याम त बने, तर,ती ड्यामले व्यक्तिको निजी जग्गा पनि ओगटेका छन् । निजी जग्गालाई पनि ड्यामभित्र पारेर बाँध बाँधेपछि अहिले स्थानीयले अप्ठेरो पारेका छन् । हपर्नमा त सूचना नै टाँसेर आफ्नो लालपूर्जा भएको जग्गाको मुआब्जा नदिएसम्म संकलित ढुंगा, गिटी, बालुवा निकाल्न नदिने स्थानीयले बताएका छन् । हपर्नमा व्यक्तिको जग्गामा ड्याम बनेकोले जग्गाको मुआब्जा नपाएसम्म आफुहरुले संकलित  सामाग्री झिक्न नदिने स्थानीय शिवप्रसाद पराजुलीले बताए । उनले आफ्नो चाररोपनी जग्गा ड्यामभित्र परेको बताए ।  

‘नगरपालिकाले चित्तबुझ्दो मुआब्जा नदिए हामीले ड्याममा थुप्रिएको ढुंगा, गिटी, बालुवा निकाल्न दिन्नौ,’ उनले भने, ‘हामीसँग लालपूर्जा छ । कि हाम्रो लालपूर्जा मान्दिन भन्नुप¥यो, नत्र हामीलाई मुआब्जा दिनुपर्छ । जर्बजस्ती जग्गालाई ड्यामभित्र पारेर छेक्न पाँइदैन ।’ यस्तै समस्या अँधेरीखोलामा पनि रहेको स्थानीय विष्णु दाहालले बताए । ‘ड्याम बनाउने बेला केही समस्या हुँदैन, समस्या छिटै सल्टिन्छ भनेर आश्वासन दिइयो । तर, अहिले महानगरले अलपत्र पारेको छ,’ दाहालले भने, ‘हाम्रो जग्गा ड्यामभित्र परेको छ । त्यही ड्याममा ढुंगा, माटो, बालुवा थुप्रेको छ ।’

स्थानीयको अप्ठेरो र अवरोधबारे महानगर पनि बेखबर छैन । पोखरा–२३ का अध्यक्ष पराजुली भन्छन, ‘हर्पनको ड्याममा मात्र चारजनाको जग्गा परेको छ । व्यक्तिको जग्गामा ड्याम बनेर ढुंगा, माटो, थुप्र्रेको छ । व्यक्तिगत जग्गामा ड्याम बनेकोले अहिले क्षतिपूर्ति माग्नु स्वभाविक हो । निजी जग्गाको त्यो समस्या सल्टाउन उनीहरुलाई उचित क्षतिपूर्ति दिनुपर्छ । आफ्नो सम्पत्तिको संरक्षण गर्न खोज्नु स्थानीयको कमजोरी होईन ।’

महानगरका इन्जिनियर आचार्य पनि हपर्न र अँधेरीमा व्यक्तिको जग्गामा ड्याम परेको बताउँछन् । ‘आफ्नो जग्गा ड्यामभित्र परेको भनेर जग्गाधनिले भनिरहेका छन, प्राविधिक लगेर नापजाँच गराउने काम भएको छ,’ आचार्यले भने, ‘यो बारेमा पनि महानगरले छिटै नै निर्णय गर्नेछ ।’ ड्यामको लम्बाई बढेपछि व्यक्तिको जग्गा पनि परेको उनले बताए । ‘त्यो बेला समस्या समाधान भयो भनेर काम गराइयो, तर, अहिले अप्ठेरो आइपरेको छ,’ उनले भने, ‘महागरले मुआब्जा नदिए ड्यामको जग्गा नदिने स्थानीयको अडान छ ।’

गण्डकी ताल विकास प्राधिकरणका कार्यकारी प्रमुख गुरुङ पनि कागजी प्रक्रिया नमिल्दा व्यक्तिको जग्गाबारे समस्या निम्तिएको बताउँछन् । ‘व्यक्तिको जग्गा पनि ड्याममा परेको छ । त्यो बाहेक ड्यामकै कारण पनि चक्लाबन्दीको जग्गा डुबानमा प¥यो,’ उनले भने ।  

ताल संरक्षणका कुरा मात्र ठुला, प्रदुषण हटाउने पहल नै भएन

मानवीय र प्राकृतिक अतिक्रमणमा परेको फेवाताल संरक्षणमा जति बढी कुरा हुने गरेको छ, त्यो अनुसार संरक्षणमा पहल नभएको भन्दै सरोकारवालाको चिन्ता छ । वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक सुवेदी भन्छन्,‘फेवाताललाई जोगाउन गरिने वास्तविक प्रयास हुनै सकेन ।’ ताल पुर्ने मुख्य श्रोतमै काम नभएको उनले बताए । ‘भेल बग्न नदिन सिरानमै रोक्नुपर्ने हो । पहिरोलाई सिर्जना हुने ठाउँमा रोक्न प्राथमिकता दिनुपर्छ । आयु बढाउन प्रयास गर्ने हो । तर, त्यो अनुसार हुन सकेको छैन ।’  

फेवाताललाई देखाएर पर्यटनमा लाभ लिईरहेका व्यवसायी पनि तालको लागि भएको काम देख्दा सन्तुष्ट हुन नसक्ने बताउँछन् । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन भन्छन्, ‘फेवाताल सबैतिरको चर्चाको विषय बन्ने गरेको छ । निर्वाचित सरकारले फेवाताल संरक्षणमा प्राथमिकता दिनेमा आशावादी थियौं । तर, त्यो अनुसार संरक्षण हुन सकेन ।’ तालको अपनत्व कसले लिने भन्ने नै निश्चित नहुँदा जिम्मेवार हुन नसकेको उनले बताए । ‘राम्रो कामको जस लिने मात्र काम भएको छ,’ उनले भने, ‘तालका लागि दीर्घकालिन काम हुन सकेन । सबैतिर लथालिंग छ । चर्चाको विषय मात्र बनाइएको छ ।’ तुलाचनले मानवीयसँगै प्राकृतिक अतिक्रमण र भूक्षयले पनि ताललाई जोखिममा पार्दै लगेको बताए । ‘प्रदुषणको आकार अझै घट्न सकेको छैन । ढलको योजना पनि बनेन । कुरा लामो समयदेखि भएको छ, तर, त्यो अनुसार काम भएन,’ तुलाचनले भने, ‘प्रदुषण घटाउनेबारे खासै चाँसो कसैले लिएको छैन ।’  

 वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक सुवेदी पनि तालको प्रदुषण कम गर्ने कुरामा काम नभएको बताउँछन् । ‘फिर्के खोलाको प्रदुषण रोकिएको छैन । तालमा ढल मिसाउने भन्ने रोकथाम नै छैन,’ सुवेदीले भने, ‘यस्तै अवस्था रहिरहे अबका केही वर्षपछि तालको पानी नै गन्हाउन थाल्नेछ । त्यो बेला कुनै जीव बाँच्दैन । बागमतिमा गन्हाउने पानी बगेजस्तै अवस्थमा फेवातालमा हुनेछ ।’ ठाउँठाउँबाट बगेको ढल सिधै तालमा मिसिँदा त्यसको असर आश्रित जीवजन्तुमा परेको उनले बताए ।  

‘थुप्रिएको माटो निकाल्ने हो भने तालको आकार बढाउन सकिनछ, तर प्रदुषण हटाउन सकस छ । ठुलो रोग प्रदुषणमा हो,’ सुवेदी भन्छन, ‘भिन्दै नाला बनाएर तालमा मिसिएको फोहर व्यवस्थापन नगरे ताल बच्ने छैन । प्रदुषण रोक्न जलाधार क्षेत्रमा व्यवस्थित भू–उपयोग नीति हुनुपर्छ । जलाधार क्षेत्र राज्यको नियन्त्रणमा हुनुपर्छ । व्यक्तिले उपयोग गर्ने होईन ।’ 

प्रकाशित: १८ फाल्गुन २०७७ १६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?