४ वैशाख २०८१ मंगलबार
समाज

फेवातालको गहिराई बढाउन माटो निकाल्न थालियो

फेवातालबाट माटो निकालिँदै । तस्बिर ः सन्देश÷नागरिक

फेवातालको गहिराई बढाउनका लागि थुप्रिएको माटो निकाल्न थालिएको छ । फेवातालको बाँध मर्मतसम्भारका लागि पानीको सतह घटाएको मौका पारेर माटो निकाल्न थालिएको हो ।  

गण्डकी प्रदेशको वातावरण मन्त्रालयको संयोजनमा जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बृहद जलाधार ब्यबस्थापन कार्यालय, पोखरा महानगरपालिका, जलाधार ब्यबस्थापन कार्यालय तनहुँ र ताल संरक्षण तथा विकास प्राधिकरणको सहकार्यमा मंगलबारदेखि तालको माटो निकाल्न शुरु गरिएको हो ।  

फेवातालको तल्लो क्षेत्रको फिर्केखोलाबाट माटो निकाल्न थालिएको हो । फेवातालमा मिसिने फिर्केखोलाबाट शुरु भएको माटो निकाल्ने अभियान चिसाखोलाहुँदै हर्पनखोला, खहरेखोलासम्म पुग्नेछ । जहाँ ती खोलाहरुले बगाएर ल्याएको ढुंगा, गिट्टी, बालुवा लगायतका गेग्रान थुप्रिएको छ । निकालिएको माटोले तालबाहिरका खाल्डाखुल्डी पुर्ने तयारी छ ।  

फेवातालबाट १५ हजार घनमिटर माटो निकाल्ने तयारी गरिएको छ । फेवातालको माटो ठाउँ अनुसार एकदेखि चारमिटर गहिराईसम्मको माटो निकाल्ने तयारी गरिएको माटो निकाल्न बनेको फेवातालको माटो ब्यबस्थापन समितिका संयोजक रामकाजी श्रेष्ठले जानकारी दिए । जसका लागि १ करोड ३३ लाख रुपैयाँ खर्च लाग्ने लागत स्टिमेट आएको उनको भनाई छ । ‘एक्साभेटरको प्रयोग गर्दा करिब २५ लाख रुपैयाँमा यो काम सकिन्थ्यो,’ उनले भने, ‘तर फेवाताल संवेदनशील क्षेत्र भएकाले सबै ठाउँमा एक्साभेटर प्रयोग गर्न नसकिने भएकाले मान्छेले निकाल्नेछन् ।’  

प्रदेश सरकार, महानगर वा ताल संरक्षण तथा विकास प्राधिकरणसँग बजेट नभएपछि कोमागाने पार्क सौन्दर्यकरणका लागि छुट्याएको २० लाख मध्ये ५ लाख रुपैयाँ निकालेर काम शुरु गरिएको संयोजक श्रेष्ठले बताए । त्यसपछि फेवा जलाधार क्षेत्र संरक्षणका लागि छुट्याएको रकम पनि तानेर फेवातालको माटो निकाल्न प्रयोग गरिने उनको भनाई छ । त्यसका अलावा तनहुँ जलाधार क्षेत्र संरक्षणका लागि छुट्याएको करीब ३ लाख रुपैयाँ समेत माटो निकाल्न प्रयोग गरिने उनले बताए ।

माटो निकाल्नका लागि कुनैपनि तहले बजेट विनियोजन नगरेकाले अहिले खर्च जोहो गर्न सहज नभएको उनले बताए । तर, प्रदेश सरकारले फागुन मसान्तसम्ममा काम शुरु नगरेका योजनाहरुको बजेट रकमान्तर गरेर माटो निकाल्नका लागि निकासा गरिदिने आश्वासन दिएको उनले बताए । फेवातालको स्वामित्व रहेको पोखरा महानगरपालिकाले पनि बजेट दिने आश्वासन दिएको छ । तर बजेट नछुट्टिएकाले योजना कार्यान्वयनमा नगएका योजनाको बजेट रकमान्तर गरेर ५० लाख जति दिने आश्वासन दिएको संयोजक श्रेष्ठले बताए । त्यस्तै, सिंचाई डिभिजन कार्यालयले पनि आफूसँग प्रयाप्त नभएपनि केही बजेट दिने आश्वासन दिएको छ ।

मााटो निकाल्ने अभियान थाल्दै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले अहिले निकालिएको माटो पुन तालमा मिसिने अवस्था आउन नदिने बताए । ‘निकालिएको माटो बाहिरपट्टि दबेको क्षेत्र तथा खाल्डाखुल्डी पुरिनेछ,’ उनले भने, ‘त्यसपछि बाँकी रहेको माटोले माछापुच्छ«े, अन्नपूर्ण, सगरमाथा लगायतका ८ हजार मिटर भन्दा माथिका हिमालहरुको आकृति बनाइनेछ ।’ ती हिमाल आकृतीमा दुबो रोपेर हरियाली बनाउने र पछि फेवातालमा फुटट्रयाक निर्माणका बेला सोहि माटो प्रयोग गरिने उनको भनाई छ । ‘फेवाताल जोगाउने अभियान हो यो,’ उनले भने,‘यो अभियानसँगै फेवाताल जोगाउन सरकार लागिपरेको छ, फेवाताल जोगाउन पोखरेली उठे है भन्ने सन्देश दिनु पनि हो ।’ उनले जनताले प्रश्न उठाउन नसक्नेगरी काम गर्न निर्देशनपनि दिए ।

यसअअघि बाँध मर्मतसम्भारको लागि फेवातालको पानीको सतह घटाएपछि नागरिकस्तरबाट फेवाको गहिराई बढाउनुपर्ने आवाज उठेको थियो । नागरिक स्तरबाट आवाज उठेसँगै संघसंस्थाले दवाब बढाएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका, फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समिति, सिंचाई डिभिजन कार्यालयलगायतका सरोकारवालाहरुको बैठकले फेवातालबाट माटो, ढुंगा, गिट्टी, बालुवा निकाल्ने निर्णय गरेको हो ।

फेवातालको पानीको सतह घटाएलगत्तै माटो निकाल्नुपर्ने भएपनि यसबारे छलफल र निर्णय ढिलो हुँदा अहिले फेवातालको बाँध मर्मत सम्भारको काम सकिएपछि मात्र माटो निकाल्न थालिएको छ । जसका कारण तालमा पानी संकलनमा ढिलाई भएको छ । मर्मत गरिएको ड्याम परीक्षणका लागि पानी संकलन शुरु गरि सकिएको सिंचाई डिभिजन कार्यालय पोखराका प्रमुख किरण आचार्यले बताए । उनले ४ दिन अघिदेखि पानी संकलन शुरु भएको र अहिलेसम्म झण्डै शुन्य दशमलव पाँच मिटर पानी जमिसकेको जानकारी दिए । अबको एकमहिनामा फेवातालको जलाशयको आकार पुरानै अवस्थामा फर्किने उनले बताए ।

फेवातालको मुहान मानिने खोलाहरुबाट वर्षेनी १ लाख ४२ हजार घनमिटर भन्दा बढी माटो फेवातालमा आएर मिसिने गरेको सरकारी तथ्याङ्क छ । जसका कारण तालको सतह घट्दै जाँदा अतिक्रमण बढ्दो छ । फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले फेवातालको बास्तविक क्षेत्र ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा अर्थात ५.७२६ वर्ग किलोमिटर रहेको जनाएको छ । यो विश्वप्रकाश लामिछानेको प्रतिवेदनमा उल्लेख भएको भन्दा १ हजार ६ सय १९ रोपनी कम हो । लामिछाने प्रतिवेदनमा फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी (६.५४ वर्ग कि.मी.) रहेको उल्लेख छ ।

प्रकाशित: १८ फाल्गुन २०७७ ०६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App