coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भुपु लाहुरेको सहयोगले भोर्लेवासीलाई खानेपानी

वेलफेयरले बनाएको खानेपानी धारा । तस्बिरः महेश्वर

२१ वर्षदेखि खानेपानीको अभाव भोग्दै आएका उदयपुरको जाल्पाचिलाउनेवासीलाई लाहुरेहरुको संस्था ‘गोर्खा वेलफेयर ट्रस्ट’ले शुद्ध खानेपानीको व्यवस्था गरिदिएका छन् । सदरमुकामकै नगरपालिका भए पनि बिकट र दुर्गम बस्ती भएकाले जाल्पाचिलाउनेका बासिन्दा खानेपानीको अभाव भोग्दै आएका थिए ।  

३ दशकअघि गाउँलेले खेतमा सिंचाई गर्न खनेको कुलोका पानी खाँदै आएका त्रियुगा नगरपालिका १६ नं. वडाको भोर्लेबासी ०४५ सालको भूकम्पले कुलो भत्काएपछि २१ वर्षदेखि खानेपानीको हाहाकार भोग्दै आएका थिए । लाहुरेहरुको धरानस्थित ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीयको खानेपानी समस्या टरेको हो । भूकम्पले कुलो भत्काएपछि जरुवा र खोलाको धमिलो पानी खान बाध्य स्थानीयलाई ट्रस्टको सहयोगमा ‘भोर्ले खानेपानी योजना’ सम्पन्न भएपछि सदाका लागि समस्या हल भएको त्रियुगा १६ का वडाध्यक्ष मानबहादुर राईले बताए ।  

उनका अनुसार ०७६ चैत १५ गतेदेखि निर्माण सुरु भएको सम्पन्न भएपछि अहिले लभगभ घरघरमा धारा जडान भएर सबै गाउँलेको खानेपानी समस्या टरेको छ । ३९ लाख ६ हजार १ सय २४ रुपैयाँको प्राविधिक इस्टीमेट रहेको योजनामा ४ लाख घटी ३५ लाख २६ हजार १ सय १८ मात्र खर्च गर्दै योजना सम्पन्न भएको राईले बताए । जसमा २० लाख ८५ हजार ४ सय ४३ रुपैंया ट्रस्टले र १४ लाख ४० हजार ६ सय ७५ रुपैयाँ समुदायको तर्फबाट स्थानीयको श्रमदान र कच्चा पदार्थ प्रयोग भएको वडाध्यक्ष राईले बताए ।

योजनाबाट ३९ वटा धारा निर्माण भएपछि गाउँमा खानेपानीको छेलोखेला भएको स्थानीय भोर्ले माध्यामिक विद्यालयका शिक्षक चन्द्रबहादुर राईले बताए । उनका अनुसार दशैं वर्षदेखि काकाकुल भएका भोर्लेबासीले शुद्ध खानेपानी पाएपछि पूर्व लाहुरे र उनीहरुको संस्थालाई धन्वाद दिएका छन् । बाल्यकालदेखि खानेपानीको समस्या भोग्दै आएका वडाध्यक्ष स्वयं पनि गाउँमा योजना सञ्चालन गरेर पानी आउँदा धेरै खुसी भएको वडाध्यक्ष राईले सुनाए ।  

ट्रष्टका परियोजना प्रवन्धक (पिएम) कृष्णबहादुर सुब्बाले लाहुरेहरुको गाँस काटेर जम्मा भएको रकमबाट स्थापित ट्रष्टबाट बनेको योजनालाई आफ्नै ठानेर सुरुक्षा गर्न आग्रह गरेका छन् । गाउँमा आएको खानेपानी योजनालाई सामूहिक सम्पत्ति ठानेर दीगो र व्यवस्थित तरिकाले सुरक्षा गर्दै लामो समयसम्म प्रयोग गर्न पनि सुब्बाले आग्रह गरे । उनका अनुसार योजनाबाट भोर्लेका १ सय ३ महिला र १ सय २१ पुरुष तथा ३ सय ३६ विद्यार्थीलाई शुद्ध खानेपानीको व्यवस्था भएको छ ।  

सुब्बाले ‘मल्टीआर्टी सिस्टम प्रबिधि’मा निर्मित योजनामा पानी जम्मा गर्ने, फिल्टर गर्ने र निकास जाने गरी ६ वटा टयाङ्की र एउटा ड्याम बनाइएको बताए । जस अनुसार मुहानबाट आउने पानी छुट्टा छुट्टै ट्याङ्कीमार्फत शुद्धिकरण हुने गर्छ भने जस्तोसुकै वर्षा वा बाढीको बेला पनि फिल्टरमार्फत शुद्धिकरण हुने भएकाले उपभोक्ताले बारैकाल शुद्ध खानेपानी खान पाउने प्रविधि जडान भएको छ ।  

भोर्लेमा खानेपानी योजना सम्पन्न भएसँगै १६ नं. वडाको विकट बस्तीबासीले पनि शुद्ध पानी खान पाउने सुविधा भएको छ । खानेपानीभन्दा पहिले नै विद्युत, टेलिफोन सडकजस्ता पूर्वाधार यसअघि नै बस्ती बस्तीसम्म पुगिसकेको वडा सदस्य गोमा कार्कीले बताईन् । उनका अनुसार अहिले खानेपानी समस्यासमेत हटेपछि १६ नं. वडा विकटबाट सुगममा परिणत हुन पुगेको छ ।

प्रकाशित: १८ फाल्गुन २०७७ ०६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App