१५ चैत्र २०८० बिहीबार
समाज

ओछ्यानसहित बेपत्ता झा दम्पती अझै बेखबर

गत सोमबार राति सुतिरहेकै ठाउँबाट ओछ्यानसहित बेपत्ता महोत्तरी पिपरा गाउँपालिका–५ सहोडवाका ७० वर्षीय मुसाफिर झा र उनकी ६५ वर्षीया पत्नी गीतादेवी अझै भेटिएका छैनन्। उनको बेपत्तालाई ‘रहस्यमय’ भन्दै प्ररहीले सुक्ष्म अनुसन्धान गरिरहेको बताएको छ। प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामबाट ८ किलोमिटर दक्षिणमा भएको यस घटनाले गाउँमा त्रास सिर्जना गरेको छ।  

‘बेपत्ता झाको निवासमा रगत्तको थोपा र घिसारेको संकेत देखिएको थियो,’ प्रदेश २ प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले भने, ‘घटनाको अनुसन्धान गरिरहेका छौं। तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। हामीले घटनाको सूचना पाइसकेका छौँ छिट्टै तथ्यमा पुगेर सार्वजनिक गर्छौं।’ प्रहरीले अनुसन्धानको क्रममा खोज्दै जाँदा झाको घरभन्दा दुई सय मिटर परको पोखरीमा दुई वटा झुल फेला पारेका छन्। तकिया तन्नासहित झा दम्पतीको खोजीमा प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोली परिचालन भएको डिआइजी सिंहले बताए।

प्रहरीका अनुसार झाका पती–पत्नी गत सोमबार राति अलग–अलग कोठामा सुतेका थिए। उनीहरू बिहान सुतेको ठाउँमा थिएनन्। उनीहरूका दुई बुहारीले उठ्दा सासु–ससुरा नभएको बताएका छन्। कोठाबाट उनीहरूमात्रै हराएका थिएनन्, दुवै जनाका गुन्द्रिसहित ओछ्यान समेत थिएनन्। गीतादेवी सुतेको ठाउँमा रगतका छिटा समेत देखिएका प्रहरीको भनाइ छ।  

‘यो घटनाले हामी छक्क परेका छौं,’ डिआइजी सिंहले भने, ‘बेपत्ता पार्नेहरूले झा दम्पती सुतेको ओछ्यान र झुल किन लगेका होलान् ? घटनास्थलमा देखिएको रगत्तको छिटा परिक्षण गर्न पठाएका छौं।’ घटनाका विषयमा अहिलेसम्म कुनै पनि प्रमाण तथा दोषी फेला परेका छैनन्।

महोत्तरी प्रहरीका अनुसार झा दम्पती आफ्नो नयाँ बन्दै गरेको घरमा सुत्दै आएका थिए। त्यो घरमा ढोका लगाएको छ, तर झ्याल लगाइसकेको छैन। गीतादेवी त्यो झ्याल नलगाएको नयाँ घरमा सुतेकी थिइन्। मुसाफिर भने पुरानो घरमा सुत्थे। उनी सुतेको घरको अर्को कोठामा कान्छी बुहारी सुतेकी थिइन्। ससुरा सुतेको अर्को कोठामा रहेकी कान्छी बुहारीले सिरक, झुल, तन्ना, गुन्द्री सबैसाथ ससुरा बेपत्ता हुँदा पनि केही थाहा नपाएको बताइन्। जेठी बुहारी उनीहरूकै अर्को घरमा एक्लै सुतेकी थिइन्। उनीहरू भान्सामा सँगै खाना खाएर आ–आफ्नो ठाउँमा सुत्न गएका थिए।

बेपत्ता मुसाफिर झा मालपोत कार्यालयमा नायब सुब्बा पदबाट अवकास प्राप्त कर्मचारी हुन्। उनका दुई छोरा छन्। जेठा छोराको तीन वर्षअघि मृत्यु भएको छ। कान्छा छोरा भारतमा रोजगारी गर्छन्। मालपोतमा लामो समय काम गरेका कारण उनलाई गाउँघरमा जग्गाको समस्या र विवाद हुँदा बोलाइने गरिन्थ्यो। गाउँमा हुने जग्गासम्बन्धी विवाद  

उनले सुल्झाइदिन्थे। उनीसँग कसको के दुस्मनी थियो भन्ने अहिलेसम्म केही नखुलेको महोत्तरीका एसपी टिकाबहादुर केसी बताए। झाको ठूलो आर्थिक हैसियत समेन नदेखिने प्रहरीको भनाइ छ। यो घटनालाई म आफैले सुक्षम अनुसन्धान गरिरहेको छु,’ एसपी केसीले भने, ‘छिट्टै अनुसन्धान पूरा गरेर बेपत्ता दम्पतीबारे जानकारी गराउने छौं।’ मुसाफिर सुतेको ठाउँमा रहेको ६० हजार रूपैयाँ भने सोही ठाउँमै रहेको बताइएको छ।  

घरजग्गाको समस्या समधान गर्दा कतै कोहीसँग दुस्मनी भएको थियो कि भन्नेतर्फ अनुसन्धान केन्द्रित गरेको प्रहरीको भनाइ छ। घटना अनुसन्धानका लागि प्रदेश २ प्रहरी कार्यालयको प्राविधिक टोली कुकुरसहित खटिएको छ। गीतादेवीको कोठामा देखिएको रगत परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको डिआइजी सिंहले बताए।

प्रकाशित: १८ फाल्गुन २०७७ ०५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App