७ वैशाख २०८१ शुक्रबार
समाज

नागरिककर्मी टपेन्द्र कार्की खोजी पत्रकारिता पुरस्कारबाट पुरस्कृत

इञ्जाद्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) बाट सम्मानित हुँदै नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की।<br>

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) बाट नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की पुरस्कृत भएका छन्। नागरिक दैनिकमा नेपाल प्रहरीको लत्ता कपडा खरिदमा भएको अनियमिता र ठगी सम्बन्धी समाचारलाई इञ्जाले खोजि पत्रकारिता पुरस्कार कार्कीलाई प्रदान गरेको हो। इञ्जाले लोकान्तर डटकममा कार्यरत सुशील पन्त पुरस्कृत गरेको छ।

एक लाख रुपैयाँ राशिको पुरस्कार सभामुख अग्निप्रसाद सापकोटाले सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कार्की र पन्तलाई संयुक्त रूपमा प्रदान गरेका हुन्।

सोलुखूम्बूको लिखुपिके वडा नं ४ मा जन्मेका पत्रकार कार्की राजनीति, सुरक्षा, अपराध, सुशासन सम्बन्धी रिपोटिङ गर्दै आएका छन्। इञ्जाको तेस्रो स्थापना दिवस तथा पुरस्कार वितरण एवं सम्मान समारोहमा सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधि सभा विघटनदेखि पुनःस्थापनासम्मको अवधिमा नेपालको पत्रकारिता जगत अग्रमोर्चामा खडा भएको बताए।

‘पुस ५ देखि फागुन ११ गतेसम्म ६६ दिन भएको एउटा महान् बहसमा नेपाली पत्रकारिता जगत अग्रमोर्चामा खडा भयो,’ सापकोटाले भने, ‘मैले त्यो बहसलाई समुद्र मन्थनको रूपमा नै लिएको छु।’

लोकतन्त्रका सबै आयामलाई समेटेको नेपालको संविधान दुनियाँकै मौलिक संविधान भएको दाबी गर्दै उनले थपे, ’हाम्रो परम्परागत संसदीय व्यवस्था पनि होइन, मौलिक नेपालीपन झल्किएको संविधान हो।’

संविधानलाई परिमार्जन, संशोधन र विकास गर्न सकिने तर त्यसको लागि संविधानको कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो। सभामुखको शपथ ग्रहण गरेदेखि नै संघीय संसदलाई जीवन्त तथा जनमुखी बनाउन सूत्र वाक्य नै बनाएर लागिपरेको उनले बताए। नेपालको पत्रकारिता जगत गर्व गर्न लायकको रहेको तथा आगामी दिनमा समेत नेपाली पत्रकारिताको भविष्य उज्ज्वल रहनुका साथै चुनौतीभन्दा पनि अवसर नै बढिरहेको उनले बताए।

सो अवसरमा साहित्यकार राजेन्द्र पराजुलीलाई उत्कृष्ट साहित्यिक पुरस्कार तथा इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार बझाङका पत्रकार वसन्तप्रकाश सिंह, रुपन्देहीकी पत्रकार नीरा गौतम र दोलखाकी पत्रकार मन्दिरा थापालाई प्रदान गरियो।

कार्यक्रममा लामो समयदेखि पत्रकारिता अध्यापन गराउँदै आएका लाल देउसा राईलाई इञ्जा दीर्घ सेवा पुरस्कार प्रदान गरियो। लामो समय पत्रकारिता गरेका प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकी र प्रेस युनियनकी उपाध्यक्ष बाला अधिकारीलाई पनि सम्मान गरिएको थियो।  

कार्यक्रममा इञ्जा एसिया च्याप्टरका अध्यक्ष टंक पन्तले विभिन्न क्षेत्रमा दिइएका पुरस्कारले पत्रकारहरूको प्रोत्साहन हुने विश्वास व्यक्त गरे।  

प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष बुढाथोकी, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित लगायतले इञ्जा पुरस्कारले पत्रकारहरूलाई प्रोत्साहन गरेको बताएका थिए।

प्रकाशित: १७ फाल्गुन २०७७ १५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App