coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सवा आठ करोडमा निर्मित बसपार्क अलपत्र

टीकापुर नगरपालिका–१ मा निर्मित बसपार्क हस्तान्तरण भएको छ महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेन। सुदूरपश्चिमकै व्यवस्थित मानिएको बसपार्क सञ्चालनमा टीकापुर नगरपालिकाले ढिलासुस्ती गरेका कारण सवारी साधन सडकमै पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ।  

टीकापुरबाट दिनहुँ करिव दुई सयको संख्यामा बस सञ्चालनमा छन। यहाँबाट १५/१५ मिनेटको फरकमा धनगढीसम्म बससेवा सञ्चालनमा छ। यसका साथै नेपालगञ्ज, बुटवल, सुर्खेत लगायतका ठाउँमा समेत दिवासेवाका बस छुट्ने गरेका छन। सुदूरपश्चिमका पहाडी जिल्ला र काठमाडौंसम्मका लागि दिनहुँ दर्जन बढी रात्री बस समेत सञ्चालन हुँदै आएका छन। यी सबै दिवा तथा रात्रीकालिन सेवाका बसहरु सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ।  

जमरा पुलदेखी बसपार्कसम्म निर्माणाधिन छ लेन सडकमै बस पार्किङ गर्नु परेका कारण दुर्घटनाको जोखिम रहेको सुदूरपश्चिम बस व्यवसायी समितिका कर्मचारी प्रेम शाहले बताए। ‘एकातिर सडक निर्माणको काम र अर्कोतिर सडकमै बस पार्किङले दुर्घटनाको निकै जोखिम छ’ उनले भने–‘समयमै बसपार्क सञ्चालन गरिनुपर्छ।’

टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले एक महिना भित्रै बसपार्क सञ्चालनमा ल्याईने बताए। उनले बसपार्क घेराबार र शौचालय निर्माणको काम भैरहेकाले बसपार्क सञ्चालनमा ढिलाई भएको बताए। ‘हामी टेण्डर प्रकृयामा छौं’ उनले भने–‘अबको एक महिनामा बसपार्क सञ्चालनमा ल्याउँछौं।’

यो बसपार्क शहरी विकास तथा भवन निर्माण विभाग संघीय कार्यान्वयन एकाइ धनगढीको ८ करोड २८ लाखको लागतमा निर्माण भएको हो। बसपार्क निर्माण कम्पनी राजेन्द्र रोयल जेभीले २०७७ भदौ ३ गते टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको थियो।  

लामो समयसम्म बसपार्क सञ्चालनमा आउन नसक्दा भौतिक संरचना भत्किन थालेको छ। स्थानीयले सञ्चालनमा नआउँदै बसपार्क भत्किन थालेको प्रति चिन्ता व्यक्त गरेका छन्।

 

 

प्रकाशित: १७ फाल्गुन २०७७ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App