११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सुदूर पहाडमा ढिके नुन प्रयोगमा कमी

अछामको बान्नीगढी जयगढ गाउँपालिका नालीकोटका मीनबहादुर सुनार ढिके नुन प्रयोग गरेरै हुर्किए। ४६ वर्षीय सुनारले बाल्यकालमा ढिके नुन प्रयोग गरेको सम्झँदै भने, ‘हामीले वर्षौंदेखि घरमा ढिके नुनकै प्रयोग गर्दै आएका थियौं, पछिल्ला वर्षमा गाउँमा सहजै आयोडिनयुक्त नुन पाइन थालेपछि ढिके नुन छुट्यो।’ उनी मात्रै होइनन्, अहिले सुदूरका पहाडी जिल्लाका आम उपभोक्ता ढिके नुन छोडेर आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका छन्।

मीनबहादुरले आयोडिनयुक्त प्याकेटको नुनको महत्वबारे जानकारी भएपछि आफू र आफ्नो परिवारले यही नुन प्रयोग गरिरहेको बताए। ‘आयोडिनमा शरीरका लागि आवश्यक पोषक तत्व हुन्छ र आयोडिनको कमीले विभिन्न रोगको संक्रमण हुन्छ भन्ने थाहा पाएपछि आयोडिनयुक्त प्याकेटको नुन प्रयोग गर्न थाल्यौं,’ मीनबहादुरले भने, ‘आफूसँगै अहिले घरपालुवा जनावरलाई समेत प्याकेटको नुन खुवाउने गरेका छौं।’

खुला भारतीय सीमाका कारण सुदूरपश्चिम प्रदेशमा गुणस्तरहीन ढिके नुन ठूलो मात्रामा भित्रिने गर्छ। स्थानीय प्रशासन तथा साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट ढिकेनुन भित्रिन नदिन कडा पाइला चालेको तथा प्रदेशका दुर्गम गाउँबस्तीसम्म पनि आयोडिनयुक्त नुन उपलब्ध गराएका कारण सेवनकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको साल्ट ट्रेडिङ कर्पोरेसनका नायब महाप्रबन्धक तथा सुदूरपश्चिम प्रदेश प्रमुख केशवप्रसाद पाण्डेले बताए।

पाण्डेका अनुसार विगतमा ग्रामीण क्षेत्रका बासिन्दामा आयोडिन नुनको महत्वबारे पर्याप्त जानकारी नभएका कारण ढिके नुनको प्रयोग अधिक हुने गरेको थियो। साल्ट ट्रेडिङ कर्पोरेसनले हरेक वर्ष फेब्रुअरीभरि प्रदेशका हरेक जिल्लामा आयोडिनयुक्त प्याकेटको नुनबारे सचेतनामूलक कार्यक्रम गर्दै आएको छ। साल्ट ट्रेडिङले आयो, शक्ति र भानु ब्रान्डको नुन बिक्री गर्दै आएको छ। भानु ब्रान्डको नुन सरकारको अनुदानमा दुर्गम जिल्लाका उपभोक्ताहरूलाई बिक्री वितरण हुँदै आएको छ भने आयो र शक्ति ब्रान्डको नुन बजारमा खुला रूपमा बिक्री हुने गरेको छ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनले घरपालुवा जनावरहरूलाई लक्षित गरेर धुलो नुनसमेत बिक्री गर्दै आएको छ। साल्ट ट्रेडिङले ढिके नुनलाई पूर्ण रूपमा विस्थापित गर्ने तयारी अघि बढाएको जनाएको छ। सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष १ लाख ९० हजार क्विन्टल नुन खपत हुने गरेको छ। साल्ट ट्रेडिङले सुदूरपश्चिम प्रदेशका लागि आवश्यक पर्ने नुन भारतबाट आयात गरेर धनगढीमा प्याकेजिङ गर्ने गरेको छ।

परम्परागत रूपमा ढिके नुनको प्रयोग गर्नु, दाल तथा तरकारीमा ढिके नुन धोएर प्रयोग गर्ने संस्कारका कारण सुदूरपश्चिम प्रदेशमा आयोडिनयुक्त नुनभन्दा ढिके नुनकै प्रयोग बढी हुन्थ्यो। तर पछिल्लो समयमा जनचेतना, सहजै रूपमा गाउँगाउँका पसलसम्म आयोडिनयुक्त नुनको उपलब्धताका कारण ढिके नुनको प्रयोगमा कमी आएको हो। दुई दशकअघिसम्म सुदूरपश्चिम प्रदेशमा आयोडिनयुक्त नुनको प्रयोग गर्ने उपभोक्ताको संख्या २ प्रतिशत मात्रै रहेको थियो भने पछिल्लो समयमा यो अुनपात बढ्दै गएर ८० प्रतिशतमा पुगेको छ।  

सरकारको अनुदानमा साल्ट ट्रेडिङ कर्पोरेसनले सुदूरपश्चिम प्रदेशका चार जिल्लामा सहुलियत मूल्यमा आयोडिनयुक्त भानु नुन बिक्री गर्दै आइरहेको छ। सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा, बझाङ र दार्चुलाका २५ वटा बिक्री केन्द्रमार्फत सहुलियत दरमा भानु नुन बिक्रीवितरण हुँदै आएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन धनगढी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा अनुदानको ३१ हजार क्विन्टल भानु नुन छुट्ट्याइएको थियो। चालू आर्थिक वर्ष २०७७/७८ मा अनुदानको भानु नुन ३८ हजार क्विन्टल पुगेको छ। सुदूरपश्चिम प्रदेशमा वार्षिक १ लाख ९० हजार क्विन्टल नुन खपत हुने गरेको छ। प्रदेश प्रमुख पाण्डेले सरकारले दुर्गम जिल्लाका जनताका लागि भानु नुनमा अनुदान दिएको बताए। उनले अहिले पनि कतिपय दुर्गम ग्रामीण बस्तीमा ढिके नुनको प्रयोग भइरहेकाले आयोडिनयुक्त नुन प्रयोगको शतप्रतिशत लक्ष्य अझै प्राप्त हुन नसकेको बताए।

प्रकाशित: १७ फाल्गुन २०७७ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App