८ वैशाख २०८१ शनिबार
समाज

बन्धक बनाएर बलात्कार

चौध वर्षीया बालिकालाई एक सातादेखि बन्धक बनाएर बलात्कार गरेको खुलेको छ। गोरखा बजारकी ती बालिकालाई मामाघर लगिदिन्छु भन्दै आरुघाट गाउँपालिका ६ का २६ वर्षीय काशिराम सुनारले फागुन ८ गते आफ्नो घर लगेको प्रहरीले जनाएको छ। उनले बालिकालाई बन्धक बनाएर बलात्कार गरेको जाहेरी प्रहरी कार्यालयमा परेको छ।

सुनारलाई प्रहरीले शनिबार पक्राउ गरी आइतबार जिल्ला अदालतबाट १० दिनको म्याद थपाई अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए। सुनारले बालिका घुम्न आएको भन्दै ढाँटेर एक सातासम्म घरैमा राखेका थिए। लामो समयसम्म बालिका सम्पर्कमा नआएपछि उनका परिवारले खोजी गर्दा सुनारको घरमा भेटेका हुन्। सुनारले ललाईफकाई एक सातादेखि बन्धक बनाएर बलात्कार गरेको बालिकाले बताएकी छन्। पीडकले बालिकालाई गोरखा सदरमुकामबाट मोटरसाइकलमा राखी घर लगेका थिए।  

यस्तै गण्डकी गाउँपालिका ४ का ८७ वर्षीय एक पुरुषले १३ वर्षकी बालिकालाई पटकपटक बलात्कार गर्दै आएको खुलेको छ। बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले सोधखोज गर्दा गोठालो गएका बेला आफू बलात्कृत भएको पीडित बालिकाले बताएकी छन्।  

केदारप्रसाद देवेकाटाले बलात्कार गरेको भन्दै बालिकाकी ठूलीआमाले जाहेरी दिएको प्रहरी प्रमुख एसपी गुरुङले बताए। शनिबार गोठालो गएका बेला देवकोटाले तेस्रोपटक बलात्कार गरेको उजुरी परेको छ। आफूलाई ललाईफकाई बलात्कार गरेको बालिकाले बताएकी छन्। गोरखा अस्पतालमा स्वास्थ्य जाँचपछि उनलाई घर पठाइएको प्रहरीले जनाएको छ। देवकोटालाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिनको म्याद थपिएको प्रहरीले जनाएको छ। ‘दुवै घटनाका आरोपीलाई पक्राउ गरी जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ’, एसपी गुरुङले भने।

प्रकाशित: १७ फाल्गुन २०७७ ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App