८ वैशाख २०८१ शनिबार
समाज

ब्राउन सुगरसहित न्यायाधीशकी श्रीमती पक्राउ

लागु औषध सहित पक्राउ परेकि तुलसा पोख्रेल ।

लागुऔषध कारोबार गरेको आशंकामा प्रहरीले दाङमा न्यायाधीशकी श्रीमतीलाई नियन्त्रणमा लिएको छ।  उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी श्रीमती तुलसालाई प्रहरीले आईतबार दिउँसो तुलसीपुरबाट ब्राउन सुगर जस्तै देखिने लागुऔषध सहित नियन्त्रणमा लिएको हो। तुलसा न्यायधीस मदनकी कान्छी श्रीमती हुन्।

तुलसालाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ रतननाथ टोल स्थित उनकै निवासबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। उनको घरमा पार्किङ गरेर राखिएको स्कुटरको ‘डिक्की’मा २ ग्राम २२ मिलिग्राम ब्राउन सुगर जस्तै देखिने बस्तु फेला परेको प्रहरीले जनाएको छ। साथै योसंगै लागुऔषध जोख्ने सानो तराजु समेत फेला परेको प्रहरीले जनाएको छ।  

तुलसालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले ब्राउन सुगर जस्तै देखिने लागु औषध सहित तुलसीपुरकी तुलसा पोख्रेल पक्राउ परेको तर उनको पारिवारिक अवस्थाबारे भने आँफूलाई थाहा नभएको बताए । 

‘तुलसीपुरमा ब्राउन सुगर जस्तो देखिने बस्तु सहित तुलसा पोख्रेल नाम गरेकि महिला पक्राउ परेको साँचो हो,’ उनले भने ‘तर ति महिलाको पारिवारिक घराना के कस्तो हो ? भन्ने बारेमा चाहिँ हामीलाई एकिन थाहा भएन ।’ उनका अनुसार तुलसाले आफ्नो स्कुटरमा लागु औषध ब्राउन सुगर राखेको प्रहरीलाई पूर्व सूचना मिलेको थियो । सोही सूचना अनुसार प्रहरी उनको घर पुगेको थियो । ‘ति महिलासँग ब्राउन सुगर रहेको भन्ने पूर्व सूचना प्रहरीलाई थियो,’ डिएसपी रिजालले भने ‘सोही सूचनाका आधारमा ति महिलाको घरमा पुगेको प्रहरी टोलीले स्कुटरमा यो बस्तु फेला पारेको हो।’ 

प्रहरी निरीक्षक शर्माका अनुसार आईतबार दिउँसो १ बजेतिर सूचना पाए लगत्तै प्रहरी तुलसाको घरमा पुगेको थियो । प्रहरीले तुलसालाई स्कुटरका बारेमा सोधेको थियो । ‘हामीले उहाँलाई बोलायौँ र स्कुटर कसको हो भनेर सोध्यौँ,’ प्रहरी निरीक्षक शर्माले भने ‘उहाँले आफ्नो रहेको स्वीकार गर्नुभयो ।’ त्यसपछि प्रहरीले स्कुटरको डिक्की खोल्न खाजेको थियो । तर स्कुटर ‘लक’ रहेका कारण तुलसा आँफैलाई खोल्न लगाएको शर्माले बताए । स्कुटरको डिक्की खानतलासी गर्दा २ ग्राम २२ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको उनले बताए ।

‘सुरुमा स्कुटर लक थियो, अनि उहाँलाई चाबी लिएर आउन भन्यौँ र स्कुटर खोल्न लगायौँ,’ प्रहरी निरिक्षक शर्माले भने ‘डिक्की खानतलासी गर्दा ब्राउन सुगर फेला पार्यौँ ।’ तुलसाको स्कुटरमा फेला परेको वस्तु ब्राउन सुगर जस्तै देखिएको र यसको ल्याब परिक्षण पछि मात्रै उक्त बस्तु के हो ? भन्ने बारेमा थाहा हुने उनले बताए ।  

लागु औषध सहित प्रहरी नियन्त्रणमा रहेकी तुलसासंग प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिले उनि संगको अनुसन्धानका बारेमा केहि भन्न नमिल्ने भन्दै प्रहरी निरिक्षक शर्माले भने ‘हामी अनुसन्धानमै छौँ, अनुसन्धान पुरा भएपछि मात्रै बिस्तृत बिबरण आउला ।’  

दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले पनि लागु औषध सहित एक महिला पक्राउ परेको तर उनको पारिवारिक ‘स्टाटस’ का बारेमा भने थाहा नभएको बताए । ‘तुलसा पोख्रेल नाम गरेकि महिला ब्राउन सुगर जस्तो देखिने लागु औषध सहित पक्राउ परेकी हुन्,’ उनले भने ‘तर उनको पारिवारिक घराना के कस्तो भन्ने बारेमा भने अहिले थाहा भैसकेको छैन ।’ 

 

यो पनि पढ्नुहोस्

ब्राउन सुगर सहित ४ युवा पक्राउ

 

प्रकाशित: १६ फाल्गुन २०७७ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App