coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बेगनास र रुपासहित लेखनाथका सबै तालको मापदण्ड र सीमांकन अध्ययन गरिँदै

पोखराको लेखनाथमा रहेको बेगनास ताल । फाइल तस्बिरः नागरिक

लेखनाथका तालहरुको पनि सीमांकन तथा मापदण्डबारे अध्ययन गरिने भएको छ । तालको सीमांकन र मापदण्ड निश्चित नहुँदा अन्योल भएको भन्दै लेखनाथ क्षेत्रका सबै तालको पछिल्लो अवस्थाबारे अध्ययन गर्न थालिएको हो ।  

गण्डकी ताल विकास प्राधिकरणका कार्यकारी प्रमुख डा. अनुप गुरुङका अनुसार हाल फेवातालको सीमांकन गरेजस्तै लेखनाथ क्षेत्र तालको पनि वास्तविक अवस्था अध्ययन गर्न थालिएको हो । ‘फेवातालको सीमांकन र नक्सांकन गरेजस्तै लेखनाथका तालहरुको पनि अध्ययन गर्न थालिएको हो,’ गुरुङले भने, ‘लेखनाथका सबै तालको मापदण्ड तय गरिनेछ । तालको वास्तविक क्षेत्रफल कति भन्ने पनि यकिन हुनेछ । बाँध सहितको तालको क्षेत्रफल पनि पहिचान हुेनछ । त्यस्तै मापदण्डको अवस्था पनि पहिल्याइनेछ ।’

गुरुङका अनुसार अहिले बेगनास तालको १०० मिटर भित्र कुनैपनि संरचना बनाउन नपाउने मापदण्ड छ । अरु तालमा भने ५० मिटर मापदण्ड तोकिएको छ । ‘मापदण्ड पनि पुरनवलोकन गर्नुपर्ने हुनसक्छ । तालको जग्गा कुन रुपमा अतिक्रमण भएको छ भनेर पनि पहिल्याउन आवश्यक छ,’ उनले भने, ‘तालको वास्तविक आकार के हो, ताललाई कसरी बचाउने भन्ने बारेमा हामीले अध्ययन गर्दैछौ ।’ त्यस्तै तालको संरक्षणको लागि आवश्यक जग्गा अधिग्रहण गर्नुपर्ने अवस्था बारेमा पनि थाहा हुने उनले बताए ।  

‘फेवातालमा जस्तो समस्या त होईन, तर, लेखनाथ क्षेत्रका तालको अवस्था भने अध्ययन गर्न जरुरी थियो, कतिपय अवस्थामा मापदण्डले स्थानीयलाई मर्कामा पनि पारेको छ,’ गुरुङले भने । पोखरा महानगरपालिकाले लेखनाथका सबै तालहरुको सिमाकन, नक्सांकन तथा मापदण्ड सम्बन्धि अध्ययन गरि सिफारिस गर्न दुईमहिना अघि डा. सोमनाथ सापकोटाको संयोजकत्वमा समिति गठन गरेको थियो ।  

संयोजक सापकोटाले लेखनाथ क्षेत्रका तालको वास्तविक अवस्था पहिल्याउनका लागि काम भईरहेको बताए । ‘अहिलेसम्म तालको अवस्था नै कस्तो भन्ने छैन । अब यो समितिले तालको हालको क्षेत्रफल, बाँधसहितको क्षेत्रफल, मापदण्ड लगायतको बारेमा अध्ययन गर्नेछौ,’ सापकोटाले भने, ‘ताल संरक्षणका लागि काम हुँदैछ ।’  फेवाताल पछि सबै भन्दा धेरै पयर्टक पुग्ने गन्तव्यको रुपमा बेगनासताल रहेको छ । त्यस्तै पूर्वी कास्कीको आकर्षक गन्तव्यको रुपमा रुपाताल रहेको छ ।  

लेखनाथ क्षेत्रमा बेगनास, रुपा सहित दिपांग, खास्टे, न्युरेनी, गँुदे र मैदी ताल छन् । लेखनाथ क्षेत्रका यि तालको संरक्षणका लागि पहल नभएको गुनासो आएको भन्दै महानगरपालिकाले सीमांकन र मापदण्ड तय तथा नयाँ मापदण्ड शिफारिसको काम गर्न थालेको हो ।  

बेगनासतालको अवस्था बारे अध्ययन गरेका नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतमले लेखनाथ क्षेत्रका तालको अवस्था नाजुक रहेको बताए । तालको मापदण्ड तय गर्ने, मापदण्ड शिफारिस गर्ने लगायतका काम गर्ने जिम्मा आफुहरुले पाएको उनले बताए । ‘लेखनाथ क्षेत्रका तालको अवस्था भद्रगोल छ । अबको अध्ययनले तालको वास्तविक रुप देखिनेछ,’ गौतमले भने ।  

समितिका सदस्य सचिव अशोककुमार सुनारले समग्र रुपमा लेखनाथ क्षेत्रका तालको पहिलाको मापदण्डको अध्ययन गर्नेछ । त्यस्तै अतिक्रमणको अवस्था पनि पहिल्याउनेछ । ‘पहिलेका अध्ययनलाई पनि हामीले आधार मान्ने हो, लेखनाथ क्षेत्रका तालको वास्तविक अवस्था पहिल्याउने काम यो समितिले गर्नेछ,’ सुनारले भने, ‘अध्ययन गरेपछि देखिएका समस्या समाधानका उपायबारे पनि महानगरलाई शिफारिस गरिनेछ ।’ बेगनासतालको केही क्षेत्रमा दलदल रहेको हुनाले सो क्षेत्रमा हाल धान खेति हुँदै आएकोले पनि अबको अध्ययनले तालको वास्तविक अनुहार देखाउने उनले बताए । पोखरा आएका पर्यटक फेवापछि बेगनास घुम्नका लागि लेखनाथ क्षेत्रमा जाने गर्छन । बेगनासताल  पोखरा आउने पर्यटकको फेवातालपछिको गतिलो गन्तव्य पनि हो । 

प्रकाशित: १६ फाल्गुन २०७७ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App