coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउन सचेतना

सुरक्षित वैदेशिक रोजगारीका लागि नीलकण्ठ नगरपालिकामा समुदायस्तरमा छलफल गरिँदै ।

सहि सीप र सूचना नलिई वैदेशिक रोजगारीमा गएका कारण धेरै नेपालीहरु अलपत्र परेका छन्। दैनिक हजारौँ मानिसहरु विभिन्न देशहरुमा रोजगारीका लागि देश छोडिरहेका हुन्छन्। गाउँ खाली नै हुने गरी युवाहरु वैदेशिक रोजगारीमा गईरहेको अवस्था छ। एकातिर गाउँमा सामाजिक, साँस्कृतिक गतिविधि र कोही बिरामी परे भने नजिकैको शहरसम्म सजिलैसम्म पुर्‍याउन समेत युवाको अभाव देखिएको छ। अर्कोतिर वैदेशिक रोजगारका क्रममा नेपाली युवाहरु आफू सुरक्षित, सम्मानित र व्यवस्थित बन्न सकेको छैन।

वैदेशिक रोजगारीमा जाने तथा फर्केका मानिसहरुलाई लक्षित गर्दै धादिङको नीलकण्ठ नगरपालिकाले समुदाय स्तरमा जनचेतना फैलाउँदै आइरहेको छ। वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउनको लागि धादिङको नीलकण्ठ नगरपालिकाले समुदाय स्तरमा जनचेतना फैलाउदै आएको सुरक्षित आप्रवासन सामी परियोजना कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिए। ‘धादिङबाट वैदेशिक रोजगारीमा गएकाहरु मध्ये केही अलपत्र परेको, हराएको, सीप नसिक्दा समस्या भएको जस्ता समस्याहरु छन्’, दुवाडीले भने, ‘अब वैदेशिक रोजगारीमा जानेहरुलाई समस्या नहोस् भनेर समूदायस्तरमा सचेतना फैलाउने काम गरिरहेका छौँ।’  

सहि सूचना र सीप नसिकि विदेश जाँदा विभिन्न समस्याहरु नागरिकहरुले झेल्दै आएको भन्दै समस्यामा कोही नपरुन् भन्ने उद्देश्यले गाउँगाउँमा गएर जनचेतना फैलाइएको दुवाडीले बताए। ‘स्वदेशमै रोजगारी गरौँ, यदि विदेश जानु नै पर्ने भए सहि सूचना र सिप सिकेर जाउ’ भन्ने नाराका साथ जिल्लाको नीलकण्ठ नगरपालिका, धुनीबेसी नगरपालिका, थाक्रे गाउँपालिका र गंगाजमुना गाउँपालिकाका स्थानीयहरुलाई जनचेतना गरिँदै आइरहेको छ।  

सचेतना अन्र्तगत धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ सिम्लेमा सामुदायिक अभिमुखीकरण अन्तरगत पहिलो चरणको समूह छलफल गरिएको छ। वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउनको लागि समूह स्तरमै गएर जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा ७० जना भन्दा बढीको सहभागिता रहेको थियो।  

वैदेशिक रोजगारमा देखिएको समस्या न्यूनिकरण गर्नको लागि नीलकण्ठ नगरपालिकाले नगरभित्र सचेतनाको कार्यक्रम सन्चालन गरेको हो। वैदेशिक रोजगारको कारणले उत्पन्न हुने समस्या कम गर्नको लागि नीलकण्ठ नगरपालिकाले आप्रवासी स्रोत केन्द्र सन्चालन, वित्तिय साक्षरता, मनोसामाजिक समस्या न्युनीकरण, न्याय र पैरवीमा काम गर्दै आईरहेको छ। कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडी, आप्रवासी श्रोत केन्द्रका परामर्शकर्ता विनोद ढकाल र मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले सहजिकरण गरेका थिए।

कार्यक्रममा कागजपत्रको महत्व, सीपको महत्व, ईजाजत प्राप्त म्यानपावर कम्पनीबाट मात्र जानुको फाइदा, रकम वा पासपोर्ट बुझाउँदा भरपाई गर्दाको फाईदाको विषयमा कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी गराएका थिए। परामर्शकर्ता विनोद ढकालले आप्रवासी श्रोत केन्द्रबाट प्रवाह हुने सेवा, नेपालको विमानस्थलबाट जाँदाको फाईदा, सीप सिकेर जाँदा हुने फाईदाको विषयमा जानकारी गराएका थिए।  

मनोविमर्शकर्ता रामकुमार थापाले वैदेशिक रोजगारको कारण उत्पन्न हुने मनोसामाजिक समस्या, लक्षण, वित्तिय साक्षरता कक्षाको फाईदा, पारिवारिक विखण्डन रोक्ने उपाय, घरेलु हिंसाबाट उत्पन्न हुने समस्याको विषयमा जानकारी गराएका थिए। नगरपालिकाले वैदेशिक रोजगारको लागि जानेलाई निःशुल्क सीप, न्याय, समस्याको परेको व्यक्तिको उद्वार र आप्रवासी श्रोत केन्द्र सन्चालन गरिरहेको छ।

प्रकाशित: १६ फाल्गुन २०७७ ०६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App