१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

समाज परिवर्तन गर्न किशोरावस्थामै रुपान्तरण

तालिमपछि सामाजिक रुपान्तरणप्रति ऐक्यबद्धता जनाउँदै किशोर–किशोरी । तस्बिरः महेश्वर

‘अहिलेसम्म हामीले आफैलाई चिनेका रहेनछौं, यो तालिमले किशोरावस्था भनेको के हो भन्ने राम्रारी जान्ने मौका मिल्यो’ १७ वर्षीया सुस्मा कार्कीले भनिन् । अर्का २० वर्षीय टेकेन्द्र कटुवाल भन्छन् ‘किशोरावस्था कति महत्वपूर्ण हुँदोरहेछ भन्ने कुरा त बल्ल पो थाहा पाएँ ।’ ‘किशोरावस्था बुझ्नसके सुन्दर भविष्य बनाउन सकिन्छ भन्नेबारे छ्याङ्ग भयो’ फरक क्षमताकी १८ वर्षीया पवित्रा मगरको भनाई थियो ।  

माथिका भनाई उदयपुरको रौतामाई गाउँपालिकाद्वारा आयोजित किशोर–किशोरीलक्षित १० दिने ‘रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम’मा सहभागी किशोर–किशोरीका हुन् । कार्की, कटुवाल र मगरजस्तै रौतामाईका ८ वटै वडाका १६ देखि २० वर्ष उमेर समूहका ४० किशोर–किशोरीलाई किशोरावस्थाको महत्व, उपयोग र समाजलाई दिने योगदानबारे बुझाउन तालिम आयोजना गरिएको हो ।  

किशोरावस्थालाई राम्ररी बुझेर उपयोग गर्नसके उनीहरु मात्र नभएर समाज र देशकै सुन्दर भविष्य निर्माण गर्न सकिन्छ भन्ने मनोविज्ञानका साथ रुपान्तरण प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । तालिमले किशोरावस्थाको महत्व, गर्न सकिने काम र प्राप्त हुने सफलता, भविष्यमा गर्ने दिसानिर्देशलगायत बिभिन्न कुराबारे आँखा खुलाएको सहभागीहरुले बताएका छन् । अभिभावक, साथीभाई र समाजबाट हुने उपेक्षा, दुर्व्यवहार, विभेद र हिंसाविरूद्ध लड्दै जीवनोपयोगी सीप सिकाउन वर्ल्डभिजन इन्टरनेशनलको साझेदार जाल्पा एकीकृत विकास समाज (जिड्स) उदयपुरको सहयोगमा तालिम सम्पन्न भएको हो ।  

तालिमप्राप्त किशोर–किशोरीले समुदायमा गएर १२ देखि १५ वर्ष उमेर समूहका किशोरावस्था उन्मुख बालबालिकालाई सिकेको ज्ञान बाँड्नुपर्नेछ । रौतामाईका अध्यक्ष गजेन्द्र खड्काले ८ वटै वडाको सहभागिता रहेको तालिमले ५ सयबढी बालबालिकालाई ज्ञान बाँड्ने अपेक्षा गरिएको बताए । उनका अनुसार बालबालिका किशोरावस्थामा प्रवेश गर्ने उमेर अत्यन्त सम्बेदनसिल भएकाले त्यो अवस्थाको सदुपयोग गर्दै आफू, समाज र राष्ट्रलाई योगदान पुर्‍याउँने लक्ष्यले तालिम आयोजना गरिएको हो ।

किशोरावस्थाको सदुपयोग गर्दै समाजमा विद्यमान बिकृति, बिसंगति र सामाजिक अपराधमा कमी ल्याउन सकिने उपाध्यक्ष कुमारी ज्युठकुरी बताउँछिन् । तालिम प्राप्त किशोर–किशोरीलाई सिकेको ज्ञान बाँड्न तत्कालै सबै वडाका बस्तीबस्तीसम्म खटाउने कार्यक्रम बनाएको पनि उनले जानकारी दिईन् ।  

वर्ल्डभिजनका जनसम्पर्क विशेषज्ञ प्रमिल अधिकारी र तालिम प्रमुख चन्द्रकुमारी सुब्बाले सहभागीलाई आत्मजागरण, अधिकार र कर्तव्य, लैंगिक/सामाजिक समावेशीकरण, किशोरावस्थामा राम्रो बानी, पोषण, प्राथमिक उपचारबारे प्रशिक्षण दिएको सहभागीको भनाई छ । त्यस्तै सामाजिक गतिबिधिमा नागरिक सहभागिता, प्राकृतिक स्रोत, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, खर्च र बचत, जिविकोपार्जनका विकल्प, यौन तथा प्रजनन स्वास्थ्य, लैंगिकतामा आधारित हिंसाविरुद्ध लड्ने उपाय, लघु उद्यम विकास आदि विषयमा पनि सिक्न पाएको सहभागीले बताए ।  

फागुन ५ देखि १४ गतेसम्म चलेको तालिममा किशोर–किशोरीमैत्री १५ विधामा जीवनोपयोगी सीपबारे प्रशिक्षण दिइएको जिड्सका कार्यक्रम संयोजक अजयकुमार साहले बताए । उनले तालिमप्राप्त ‘साथी सहजकर्ता’ लाई केहीदिनभित्रै गाउँपालिकाको समन्वयमा हरेक वडा र गाउँगाउँ खटाएर १२ देखि १६ वर्षका किशोरावस्था उन्मुख बालबालिकालाई किशोरावस्थाको महत्वबारे सिकेको कुरा जानकारी गराउन परिचालन गरिनेछ ।  

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले तालिम समापन गर्दै समाजलाई राम्रो बनाउन  बालबालिका र किशोरावस्थादेखि नै प्रशिक्षत गर्दै लानुपर्नेमा जोड दिए । समाज र देशको भविष्य भनेकै युवाहरुको काँधमा हुने हुनाले उनीहरुलाई बाल्यावस्था र किशोरावस्थामै प्रशिक्षित गर्न सके रुपान्तरण संभव भएको सिडिओ पाण्डेले बताए । शारिरीक र मानसिक परिवर्तनको महत्वपूर्ण घडी किशोरावस्था भएकाले उनीहरुका लागि लगानी गर्न तीनैदहका राज्य लाग्नुपर्ने सुझाव उनको थियो ।  

प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले वर्षेनी लागुऔषधको कुलतमा फस्नेको आँकडा डरलाग्दोगरी बढ्दै गएको भन्दै यस्ता दुर्व्यसन, मानसिक तनावजस्ता समस्याबाट बँचाउन किशोरावस्थामै ध्यान दिनुपर्नेमा जोड दिए । देशका हजारौं युवा दैनिक दुर्व्यसनमा फस्दै गएको बताउँदै एसपी दाहालले त्यसबाट बच्न राज्य, अभिभावक, समाज र किशोरहरु स्वयं रुपान्तरण हुन आवश्यक भएकाले यस्तो प्रशिक्षण महत्वपूर्ण हुने बताए । बिभिन्न क्षेत्र र संस्थाका वक्ताले सामाजिक रुपान्तरणमा लागुऔषध दुर्व्यसन र प्रयोग, बाल तथा महिला हिंसा, दुव्र्यवहार, बालबिबाह तथा अन्य आपराधिक गतिविधि बढ्दै गएको सुनाउँदै यस्ता घट्नाको सामना गर्न किशोर–किशोरीको महत्वपूर्ण भूमिका हुने बताए ।  

वर्ल्डभिजनका विशेषज्ञ अधिकारीले जिड्सको साझेदारीमा उदयपुरको सामाजिक रुपान्तरणमा वर्ल्डभिजनले सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । नेपालसहित विश्वका धेरै मुलुकको सामाजिक रुपान्तरणमा वर्ल्डभिजनले सहयोग गर्दै आएको स्मरण पनि अधिकारीले गराएका थिए ।

प्रकाशित: १५ फाल्गुन २०७७ ०६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App