८ वैशाख २०८१ शनिबार
समाज

भत्काइयो कमलपोखरीको कंक्रिट संरचना

बृहत् नागरिक आन्दोलनका अभियन्ताले शुक्रबार भत्काइदिएको कमलपोखरीस्थित निर्माणाधीन कंक्रिट संरचना। काठमाडौं महानगरपालिकाले ऐतिहासिक पोखरीको बीचमा कंक्रिटको कमल फूल बनाउने योजनासहित संरचना बनाएपछि त्यसको विरोध गर्दै अभियन्ताले भत्काइदिएका हुन्। कमल फूल फुलाउ

बृहत् नागरिक आन्दोलनका अभियन्ताहरूले राजधानीको कमलपोखरीको बीच भागमा निर्माण भइरहेको कंक्रिट संरचना भत्काइदिएका छन्। शुक्रबार सडक विस्तारका नाममा स्थानीयको उठिबास लगाएको भन्दै बृहत् नागरिक समाज, बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायत संस्थाहरूले माइतीघर मण्डलमा आयोजना गरेको विरोध प्रदर्शनपछि कमलपोखरीसम्म मार्चपास गरेका थिए।

कमलपोखरीलाई सुन्दर बनाउन काठमाडौं महानगरपालिकाले पोखरीको बीचमा कंक्रिटको कमल फूल रोप्ने योजनासहित ढलान संरचना बनाएपछि माटोको टीका लगाएका अभियन्ताहरूले भत्काएर विरोध जनाएका थिए। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। ‘यो सरकार कति नालायक अनि भ्रष्ट छ भनेर आफैंले उदांगो गर्‍यो,’ अभियन्ता तथा लेखक नारायण वाग्लेले भने, ‘हामीले कालो माटो दलेर बालुवाटार मार्चपास गरेका थियौं। पानीको फोहोरा र लाठी खाँदै संघर्ष अगाडि बढाएका थियौं। सरकारसँग कथित विकासको सोच छ। जसलाई माटो चाहिन्न, सिमेन्ट चाहिन्छ। उनीहरूलाई पोखरी चाहिन्न, ढलान चाहिन्छ।’

उनले काठमाडौं माटोको भूमि भएको तर्क गरेका थिए। ‘काठमाडौं माटोको भूमि हो,’ उनले भने, ‘हाम्रो संविधानले माटो र मातृभाषाको सुरक्षा गर भन्छ। त्यसैले हामीले प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदामाथिको भद्दा मजाकलाई गोलबद्ध भएर सम्बोधन गरेका छौं। यही क्रमले निरन्तरता पाइरहेको खण्डमा नागरिक थप बृहत् रूपमा आन्दोलित भएर संघर्ष भूमिमा उत्रिनेछन्।’ कमलपोखरीमा काठमाडौं महानगरपालिकाले रातारात डोजर चलाएपछि पुरातŒव विभागले निर्माण गतिविधि रोक्न आदेश दिएको थियो। अभियन्ता गणपतिलाल श्रेष्ठले कमल फूल फुलाउने ठाउँमा कंक्रिट फूल निर्माण गर्नु गलत भएको तर्क गरेका थिए।  

‘मेयर, हामी तपाईंलाई मन पराउँछौं,’ सभामा बोल्दै अभियन्ता सुसन वैद्यले भने, ‘हामीले महानगरलाई कमलपोखरीको विषयमा पटकपटक ध्यानाकर्षण गराइरहेका थियौं। सांकेतिक रूपमा विरोध गर्दा कंक्रिटका केही पनि संरचना बनेको छैन भनिएको थियो। तर महानगरका ठेकेदारले छापामार शैलीमा कंक्रिटको फूल बनाउने संरचना बनाए। यसको विरोधमा हामी उपस्थित भएका हौं। महानगरले यही रवैया दोहोर्‍याएर काठमाडौंका सम्पदा मास्ने क्रम जारी राख्यो भने हामी दोस्रो चरणको आन्दोलन सुरु गर्छौं। त्यो अहिले जस्तो शान्तिपूर्ण नहुन पनि सक्छ।’ उनीहरूले विरोधस्वरूप आइतबार काठमाडौं महानगरपालिका अगाडि धर्ना दिने भएका छन्।  

काठमाडौं महानगरपालिकाले सुरू गरेको कमलपोखरी सौन्दर्यकरण आयोजनाअन्तर्गत पोखरीका बीचमा कंक्रिटको कमल फुलाउने र त्यसबाट पानीको फोहोरा फाल्ने गरी पुनर्निर्माणको काम भइरहेको थियो। ३५ रोपनी क्षेत्रफलमा फैलिएको पोखरी क्षेत्रमा महानगरले कंक्रिटको संरचना बनाइरहेको थियो। खुला व्यायाम क्षेत्र, ब्याडमिन्टन कोर्ट, बास्केटबल कोर्ट र बालबालिका खेल्ने ठाउँलगायत संरचनासहितको कमलपोखरी पार्क बनाउने महानगरको योजना थियो।  

पोखरी सौन्दर्यकरणको जिम्मा जयधनञ्जय र कँडेल जेभीले पाएको थियो। महानगरले अनुमान गरेको लागतभन्दा कममा काम गर्ने गरी ठेक्का सम्झौता भएको थियो। महानगरले ९ करोड ४६ लाख ९९ हजार रूपैयाँ लाग्ने अनुमान गरे पनि ६ करोड ३६ लाख ५८ हजार रूपैयाँमा ठेक्का पारेको थियो। गत असार १५ गतेसम्म सम्पन्न गर्ने समय तोकिए पनि महानगरले चैतसम्म म्याद थप गरेको थियो।

शुक्रबार काठमाडौंको बालाजु बाइपासमा सडक विस्तारविरुद्ध पीडित र अभियन्ताहरूलाई गिरफ्तार गरेको भन्दै बृहत् नागरिक आन्दोलनले माइतीघर मण्डलामा प्रदर्शन गरेको थियो। सरकारले फागुन १२ मा उनीहरू गिरफ्तार गरेर अर्को अलोकतान्त्रिक र जनविरोधी काम गरेको बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, विभिन्न खलःपुचः/मोर्चा अभियानको ठहर थियो।

अभियन्ताहरूले वर्षोंदेखि संघर्षको सिलसिलामा सरकारी भवन बनाउन बारिएको जस्ताको बार भत्काएको निहुँमा स्थानीय जग्गाधनी तथा पीडित मीन शाही, महेश्वर मानन्धर, सञ्जय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ, रूक्षित श्रेष्ठसँगै अभियन्ता सुमन सायमी र विरोचन श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बालाजुले गिरफ्तार गर्दै जथाभावी मुद्दा चलाउन लागेको उनीहरूको भनाइ थियो।

प्रकाशित: १५ फाल्गुन २०७७ ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App