coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सुमधुर बन्दै नागरिक–सैनिक सम्बन्ध

जुम्ला चन्दननाथ नगरपालिका–२ मा रहेको कर्णाली माध्यमिक विद्यालय अनामनगरमा सेनाले दुइकोठे भवन बनाइदियो। भवनसँगै बास्केट बल कोर्ट, नमुना शौचालय र पुस्तकालयसहितको संरचना बन्यो। दुइकोठे भवन निर्माण हुँदा विद्यार्थीले निर्धक्कसाथ पढ्न पाएका छन्। व्यवस्थित शौचालय प्रयोग गर्न पाएका छन। विद्यार्थीहरू विद्यालय प्रांगणमै बास्केटबल खेल्छन्। पुस्तकालयमा सहजै पुस्तक अध्ययन गर्न पाउँछन्। यहाँका विद्यार्थी सेनादेखि डराउँदैनन्। बरु, भरोसा मान्छन्।

स्थानीय पदमबहादुर भण्डारीले भने, ‘पहिले सेना बाहिर निस्कनेबित्तिकै डराउने, लुक्ने अवस्था थियो। अहिले सेना आउनेबित्तिकै आशाभरोसा लाग्ने अवस्था आइपुग्यो। जनताको नजरमा सेना हाम्रो साथी हो। सेनाबाट असल सेवा मिलेको छ।’ विद्यालयमा भवन निर्माण गर्दा नियमित सेना आउने गरेको उनले बताए। ‘अहिले नागरिक–सैनिक सम्बन्ध सुमधुर बन्दैछ। सेनाप्रतिकोे विश्वास जागेको छ। सेना भाइछोरा हो भन्ने मान्यता स्थापित भइसकेको छ।’

यहाँका संरचना निर्माणमा नन्दबक्स गण र नम्बर २४ बाहिनी अड्डाको जनशक्ति परिचालन हुने गरेको छ। तीन वर्ष पहिले दुई लाख रूपैयाँमै तातोपानी गाउँपालिका–४ मा रहेको गणेश आधारभूत विद्यालयमा सेनाले भवन बनाइदिएको थियो। निकै जीर्ण भवन भएपछि खुला आकाशमुनि बसेर अध्ययन गरिरहेका विद्यार्थीको भावना बुझेर भवन निर्माण गरिदियो। अहिले निर्धक्कतापूर्वक विद्यार्थी पढिरहेका छन्। सेनाको न्यून लागतमा करोडौंका नमुना संरचना निर्माण गर्नुले सेना–नागरिक सम्बन्ध सुमधुर बनिरहेको संकेत गर्छ। जुम्लामा हालसम्म झन्डै ३० लाख रूपैयाँ बराबरको संरचना सेनाले बनाइसकेको छ। विद्यार्थीले सेनाले बनाइदिएको संरचनामा ढुक्कसँग बस्न पाएको बताएका छन्।

चन्दननाथ नगरपालिकामा २५ लाख रूपैयाँ, गुठिचौरको दशौदी माविमा २ लाख ५० हजार रूपैयाँ र तातोपानीको गणेश आधारभूत विद्यालयमा २ लाख ५० हजार रूपैयाँको संरचना बनाइदिएको हो। दुई विद्यालय भवन, दुई शौचालय, एक बास्केट कोर्ण, सेप्टि ट्यांकी, पुस्तकालय निर्माण गरेका छन्। नन्द बक्स गणका गणपति दिवाकर रायमाझी नागरिक–सैनिक सम्बन्धका कारण गाउँको विकासमा लाग्न सकेको बताउँछन्। उनले भने, ‘सैनिकले निर्माणको जिम्मेवारी लियो। समुदायले आ–आफ्नो क्षेत्रदेखि सहयोग गर्न थाले। फलस्वरूप संरचना निर्माण भएर सञ्चालनमा आउन सक्यो। यो एक राम्रो पक्ष हो।’

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत सेनाले निर्माण गरेको संरचनाको खर्चलाई हेर्दा त्यसबाट सबैले पाठ सिक्नुपर्ने बताउँछन्। उनका अनुसार करोडौं लगानी भएका योजना अलपत्र छन्। कम लागतमा सेनाले बनाएर संरचना निकै गुणस्तरीय र टिकाउ देखिन्छन्। उनले भने, ‘अब नेपाली सेनाको कामबाट सबैले पाठ सिक्ने बेला आइसक्यो। सेनासँग विकास क्रियाकलापमा हातेमालो गरेर अघि बढ्नुपर्ने देखियो।’

जुम्लामा नेपाली सेनाले गाउँलेले सहयोग मागेको खण्डमा पुग्ने गरेको छ। विपद् आउँदा अपनाउनुपर्ने सतर्कतादेखि जनताको सुरक्षाका लागि साथ दिने गरेको छ। नागरिक समाज अध्यक्ष महत भन्छन्, ‘कुनै बेला थियो मानिसहरू सेना देखे गोली ठोक्न आएको हो भन्ने सम्झन्थे, अहिले सेना पुग्यो भने कही सहयोग गर्न आएको ठान्छन्।’ जुम्लास्थित २४ नम्बर बाहिनी अड्डाका बाहिनीपति यमबहादुर सापकोटा जनतामा सेना मेरो साथी भन्ने आभास दिन सफल भएको बताउँछन्। ‘युद्धकालमा खसेका विस्फोटक पदार्थ डिस्पोज गर्ने, विपद्का बेला आइपर्ने समस्यासँग जुध्नेदेखि शिक्षा, स्वास्थ्य र विकासका सवालमा नागरिकसँग पटकपटक साक्षात्कार भइरहेको छ। यो भनेको नागरिकसँग सेनाको सम्बन्ध सुमधुर बन्दै गइरहेको संकेत हो,’ उनले भने।

उनका अनुसार सेना जनताको सेवक हो। आपत्विपत् परेका बेला साथी हो। ‘युद्धका कारण फेरिएको सैनिक–नागरिक सम्बन्धलाई सुधार्दै लगेका छौं,’ उनले भने। बाहिनीपति सापकोटाको टोली यहाँका सबै स्थानीयसम्म पुगेको बताए। सेनाले जनता र स्थानीय सरकारसँग छलफल, समन्वय र सम्बन्धबारे वकालत गरिरहेको उनको भनाइ छ।

हरेक वर्ष दुर्गममा स्वास्थ्य सेवा दिँदै आएको सेनाले गाउँगाउँमा पुगेर विपत् अभ्याससमेत गर्ने गरेको छ। सेना के हो ? कसरी काम गर्छ ? सेनाको जिम्मेवारी के हो ? यस्ता विषयमा स्थानीयस्तरसम्म जानकारी दिने काम भइरहेको बाहिनीपति सापकोटा बताउँछन्।

पहिलो प्राथमिकता राष्ट्यिताको रक्षा र दोस्रो प्राथमिकता पूर्वाधार विकास र नागरिक सैनिक सम्बन्ध स्थापना गर्नु नै भएको नेपाली सेनाले जनाएको छ। कोभिड–१९ को संकटपूर्ण अवस्थामा पनि सेना जनतासँगै रह्यो। विद्यालयमा खेलकुद सामग्री प्रदान पनि गरिरहेको छ। बाहिनीपति सापकोटा भन्छन्, ‘नागरिकलाई सेनाको जिम्मेवारी बताउन चाहन्छाैं। नागरिकले सेनाप्रति भरोसा राखोस्। आपत्विपत्का बेलामा सेनाले नागरिकको सुरक्षा दिन सकोस्। हामी समन्वयकारी अवस्था निर्माण गर्न चाहन्छौं।’

जुम्लामा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र विपद्मा नागरिकसँग एकाकार गर्ने गरी गतिविधि भइरहेको बाहिनीपति सापकोटाले बताए। जुम्ला नेपाली सेनाको नन्द बक्स गण र २४ नम्बर बाहिनी अड्डा छ। आगामी दिनमा नागरिकसँगको सम्बन्ध सुमधुर बनाउन जनमुखी कार्यक्रम गर्दै जाने सेनाले जनाएको छ।

प्रकाशित: १५ फाल्गुन २०७७ ०१:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App