७ वैशाख २०८१ शुक्रबार
समाज

हिउँदमा रेनकोट !

फिदिम–फालोट सडकखण्ड अन्तर्गत नागीन भन्ने ठाँउमा उडेको धुलो। तस्बिर: गिरिराज/नागरिक

पाँचथरकाे सदरमुकाम फिदिमबाट मोटरसाइकलमा ग्रामिण क्षेत्र जाँदा विजयहाङ आङदेम्बे रेनकोट लगाउछन्। प्रश्न उठ्छ हिउँदमा पनि रेनकोट? वर्षामा पानी छेल्नमात्र हैन ग्रामिण क्षेत्रको सडकमा धुलो छेक्नकालागि उनी रेनकोट लगाउछन्। आङदेम्बे जस्तै ग्रामिण क्षेत्र मोटरसाइकलमा जानेहरु रेनकोट लगाएर यात्रा गर्छन्। गन्तव्य पुगेपछि रेनकोट फुकालेर काममा लाग्छन्। ‘यसो गर्नुको फाइदा कपडामा तथा शरीरमा धुलोको असर नपुगोस् भन्ने हो’ आङदेम्बे भन्छन्।

जिल्लाका ग्रामिण क्षेत्र जोड्ने सडक यतिबेला धुलाम्मे भएका छन्। पानी समेत नपरेका कारण गाडी कुदाउँदा बुङबुङ्ती धुलो उड्ने गरेको छ। धुलो उड्ने भएपछि गाडी कुद्न समेत समस्या पर्छ। निर्माण तथा मर्मतका काम भईरहेकाले पनि धुलो अत्याधिक रहेको छ। यहाँको फिदिम नगरपालिका र याङवरक गाँउपालिकाको केन्द्र थर्पु बाहेकका ६ स्थानीय तहको केन्द्र जाने सडकको हालत उस्तै छ। फिदिम र याङवरकका ग्रामिण क्षेत्रको सडक यात्रा गर्दा धुलोको उत्तिकै सास्ती व्यहोर्नुपर्ने बाध्यता छ।

यी सडक तीनै सडक हुन्, जहाँ वर्षायाममा हिलाम्मे हुन्छन्। ग्रामिण क्षेत्र जोड्ने थोरैबाहेकका सडकमा वर्षायाममा गाडी कुद्न सक्दैनन्। ग्रामिण क्षेत्र जोड्ने सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ। यहाँ वाडमात्र होईन टोल–टोलमा सडक पुगेका छन्। यहाँका अधिकतर गाँउमा सडक पुगेको छ। पछिल्ला दशकमा सडकको ट्र्याक खोल्ने काममा ठुलै प्रगति भएपनि गुणस्तरीय नहुँदा हिँउद–बर्खानै समस्या हुने गरेको छ।

स्थानीय सरकारले बजेटको धेरै हिस्सा सडकमा खर्चिएको छ। सडकको ट्रयाक निर्माण तथा मर्मतका लागि वर्षेनी बजेट खर्च भईरहेको छ। तर, गुणस्तरीय सडक नबन्दा सास्ती उत्तिकै छ। संघ तथा प्रदेश सरकारका सडकका ठुला योजना पनि जिल्लामा छन्। कतिपय सडक योजनाको कामले गति पाएको छैनन् । कम्तीमा वार्ड केन्द्रसम्म जोड्ने सडक ग्राबेल स्तरको हुँदा ग्रामिण क्षेत्रका बासिन्दाले सुविधा पाउने भएपनि यतातर्फ ध्यान पुग्न सकेको छैन्।

ग्रामिण क्षेत्रमा सडक पुगेपछि हिउँदभरी धुलाम्मे  तथा वर्षामा हिलाम्मे भएर सास्ती हुन्छ। प्राथमिकताको सडक छनौट गरी स्तरोन्नति गर्नतर्फ खासै ध्यान पुग्न सकेको छैन्। वर्षामा विभिन्न गाँउपाललिका सडक अवरुद्ध भएर थुनिन्छन्। ‘सडक धुलाम्मे भएका छन्। गाडी कुदाउँदा आँखै छोप्नेगरी धुलो उड्छ। बर्खामा हिलोले सास्ती दिन्छ,’ मिक्लाजुङ गाँउपालिकाका प्रमुख अमर माखिम भन्छन्,‘सडक ग्राबेल तथा कालोपत्रे गर्न पर्याप्त बजेट छैन्। बर्खामा बिग्रिएको सडक हिउँद लाग्न थाल्दा हरेक वर्ष मर्मत गर्नुपर्छ। राँके–भेडेटार सडकको कालोपत्रे गर्ने कामको ढिलाई हुँदा समस्या चाडै समाधान नहुने देखिन्छ।’

माखिमले भनेझैं धनकुटाको भेडेटारबाट पाँचथरको राँके जोड्ने १ सय किलोमीटर लामो सडकको काममा एकदमै ढिलाई भईरहेको छ। भारतीय ठेकदार कम्पनीले कामलाई गति नदिँदा कहिले कालोपत्रे भइसक्ने हो यकिन छैन्। भारतको एक्जीन बैँकको ऋण सहयोगमा निर्माणको काम अघि बढाइएको सडको ठेक्काको म्याद सकिने समय आउनलाग्दा प्रगति अत्यन्त न्यून छ। आयोजना प्रमुख अभिमान मूल्मीकाअनुसार हालसम्म १५ प्रतिशतमात्र काम भएको छ। यो सडकले पाँचथरका मिक्लाजुङ गाँउपालिकाको केन्द्र रवि, फाल्गुनन्द गाँउपालिकाको केन्द्र घुर्बिसे पञ्चमीसँगै ग्रामिण क्षेत्रहरु जोड्छ। त्यतिमात्र हैन इलाम र धनकुटाका विभिन्न स्थानीय तहको केन्द्र तथा गाँउहरु छुन्छ।

सडकको धेरै समस्या मिक्लाजुङ, तुम्बेवा, फाल्गुनन्द, फालेलुङ गाँउपालिकामा बढिरहेको छ। धुलोले तुम्मेवा, कुम्मायक गाँउपालीकामा बढी समस्या छ। वर्षामा पनि उस्तै हुन्छ। सुख्खा क्षेत्र भएको तथा निर्माणका कामले सडकमा अत्यन्त धेरै धुलो भएको कुम्मायकको यासोकका खेम निरौला बताउँछन्। जिल्लामा मेची राजमार्ग कालोपत्रे छ। पुष्पलाल (मध्यपहाडी) लोकमार्गको २० किलोमिटर सडक कालोपत्रे भएको छ। मध्यपहाडी लोकमार्गको बाँकी ५१ किलोमिटर खण्डको  हालै कालोपत्रेका लागि ठेक्का लागाइएको छ।

जिल्लामा अर्को महत्वको तमोर कोरिडोर सडक रहेको छ। यो सडकको ८० किलोमिटर पाँचथरमा पर्छ। यो सडकको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख सुरेश न्यौपानेले बताए। यो सडक ग्राबेल स्तरको बन्नेछ। फिदिम फालोट र मायालु मोड नबिडाँडाको सडक कालोपत्रेका लागि काम भईरहेको छ।

पूर्वाधार कार्यालय पाँचथरबाट कालोपत्रेका लागि ठेक्का लगाइएका सडको कामको समयमा भुक्तानी हुन नसक्दा काम प्रभावित भएका छन्। शिवादोभान–लुम्फाबुङ ११ किलोमीटर, सरखण्डे–यासोक १४ किलोमिटर र फिदिम–फालोडको पहिलो खण्ड १० किलोमिटर सडकखण्डका ठेकेदारलाई भुक्तानी दिन नसक्दा काम प्रभावित भएको छ। पूर्वाधार कार्यालयका प्रमुख ललित चौधरीकाअनुसार फिदिम–फालोटमा ६० प्रतिशत, शिवाखोला–लुम्फाबुङमा ५५ प्रतिशत, सरखण्डे– यासोकमा ४० प्रतिशत काम भएको छ। पूर्वाधार कार्यालयबाट भएका यी कामको ठेकेदारको म्याद थप्नुपर्ने अवस्था देखिन्छ।

गाँउपालिका केन्द्र र वार्ड केन्द्र जोड्ने सडक १२ महिनै सञ्चालन हुने किमिसको बनाउनुपर्ने आवश्यकता औंल्याएपनि ठोस काम भएको देखिदैन्। ग्राबेल स्तरसम्मको स्तरोेन्नतिमा भन्दा बढी ध्यान ट्रयाक खोल्ने काममा देखिन्छ। छिमेकी जिल्ला जोड्ने, पालिकालाई जोड्ने तथा भारतसँग सिमानामा जोडिएका सडकलाई प्राथमकितामा राखेर काम गर्न सकेको देखिदैन्।  

प्रकाशित: १४ फाल्गुन २०७७ ०९:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App