coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुम्लामा सुमधुर बन्दै नागरिक–सैनिक सम्बन्ध

नेपाली सेना जुम्ला। तस्बिरः नागरिक

जुम्ला चन्दननाथ नगरपालिका २ मा रहेको कर्णाली माध्यमिक विद्यालय अनामनगरमा सेनाले दुइकोठे भन बनाइदियो। भवनसँगै बास्केटबल कोर्ट, नमुना शौचालय र पुस्तकालयसहितको संरचना बन्यो। दुइकोठे भवन निर्माण हुँदा विद्यार्थीले निर्धक्कका साथ पढ्न पाएका छन्। व्यवस्थित शौचालयमा शौच गर्न पाएका छन्। विद्यालयको आगनमै बास्केटबल खेल्छन्। पुस्तकालयमा सहजै रुपमा पुस्तक अध्ययन गर्न पाउँछन्। यहाँका विद्यार्थी सेनादेखि डराउदैनन्, बरु भरोसा मान्छन।

स्थानीय पदमबहादुर भण्डारीले भने,‘पहिले सेना बाहिर निस्कने बित्तिकै डराउने, लुक्ने अवस्था थियो। अहिले सेना आउने बित्तिकै आश भरोसा लाग्ने अवस्था आइपुग्यो। जनताको नजरमा सेना हाम्रो साथी हो।’

विद्यालयमा भवन निर्माण गर्दा नियमित सेना आउथ्यो। उनले भने,‘अहिले नागरिक सैनिक सम्बन्ध सुमधुर बन्दैछ। सेनाप्रतिकोे विश्वास जागेको छ। सेना भाइछोरा हो भन्ने मान्यता स्थापित भइसकेको छ।’  

यहाँका संरचना निर्माणमा नन्दबक्स गण र नम्बर २४ बाहिनी अड्डाको जनशक्ति परिचालन हुने गरेको छ। तीन वर्ष पहिले दुई लाख रुपैयाँमै तातोपानी गाउँपालिका–४ मा रहेको गणेश आधारभूत विद्यालयमा सेनाले भवन बनाइदिएको थियो। निकै जीर्ण भवन भएपछि खुला आकाशमुनी बसेर अध्ययन गरिरहेका विद्यार्थीको भावना बुझेर भवन निर्माण गरिदियो। अहिले निर्धक्क पुर्वक विद्यार्थी पढिरहेका छन्।

सेनाको न्यून लागतमा करोडाैंका नमुना संरचना निर्माण गर्नुले सेना नागरिक सम्बन्ध सुमधुर बनिरहेको संकेत गर्छ। जुम्लामा हालसम्म झण्डै ३० लाख रुपैयाँ बराबरको संरचना सेनाले बनाइसकेको छ। विद्यार्थीले सेनाले बनाइदिएको संरचनामा ढुक्कसँग बस्न पाएको बताएका छन्।

चन्दननाथ नगरपालिकामा २५ लाख रुपैयाँ, गुठिचौरको दशौदी माविमा २ लाख ५० हजार रुपैयाँ र तातोपानीको गणेश आधारभूत विधालयमा २ लाख ५० हजार रुपैयाँको संरचना बनाइदिएको हो। दुई विधालय भवन, दुई शौचालय, एक बास्केट कोर्ण, सेप्टि ट्यांकी, पुस्तकालय निर्माण गरेका छन्।

नन्दबक्स गणका गणपति दिवाकर रायमाझी नागरिक सैनिक सम्बन्धका कारण गाउँको विकासमा लाग्न सकेको बताउँछन्। ‘सैनिकले निर्माणको जिम्मेवारी लियो। समुदायले आ-आफ्नो क्षेत्रदेखि सहयोग गर्न थाले,’ उनले भने, ‘फलस्वरुप संरचना निर्माण भएर सञ्चालनमा आउन सक्यो। यो एक राम्रो पक्ष हो।’

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत सेनाले निर्माण गरेको संरचनाको खर्चलाई हेर्दा सेनाबाट सबैले पाठ सिक्नुपर्ने बताउँछन। ‘करोडौँ लगानी भएका योजना अलपत्र छन्। कम लागतमा सेनाले बनाएर संरचना निकै गुणस्तरीय र टिकाउ देखिन्छन्,‘उनले भने,‘अब नेपाली सेनाको कामबा सबैले पाठ सिक्ने बेला आइसक्यो। सेनासँग विकास क्रियाकलापमा हातेमालो गरेर अघि बढ्नुपर्ने देखियो।’  

जुम्लामा नेपाली सेनाले गाउँलेले सहयोग मागेको खण्डमा पुग्ने गरेको छ। विपद आउँदा अपनाउनुपर्ने सतर्कतादेखि जनताको सुरक्षाका लागि सेनाले साथ दिने गरेको छ। नागरिक समाज अध्यक्ष महत भन्छन,‘कुनै समयमा सेना भनेपछि गोली ठोक्न आएको हो भन्ने सम्झन्थे, अहिले सेना पुग्यो भने केही सहयोग गर्न आयो भन्ने सम्झन्छन्।’  

जुम्लास्थित नम्बर २४ बाहिनी अड्डाका बाहिनीपति यमबहादुर सापकोटा जनतामा सेना मेरो साथी भन्ने आभाष दिन सफल भएको बताउँछन्। ‘युद्धकालमा खसेका विस्फोटक पदार्थ डिस्पोज गर्ने, विपदका बेला आइपर्ने समस्यासँग जुध्नेदेखि शिक्षा, स्वास्थ्य र विकासका सवालमा नागरिकसँग पटक–पटक साक्षात्कार भइरहेको छ,’ उनले भने, ‘यो भनेको नागरिकसँग सेनाको सम्बन्ध सुमधुर बन्दै गइरहेको संकेत हो। सेना जनताको सेवक हो। आपत विपत परेको बेलाको साथी हो,’ उनले थपे, ‘युद्धका कारण फेरिएको सैनिक नागरिक सम्बन्ध बनाउदै गएका छौँ।’  

बाहिनीपति सापकोटाको टोली यहाँका सबै स्थानीयसम्म पुगेको छ। जनता र स्थानीय सरकारसँग छलफल, समन्वय र सम्बन्धका बारेमा वकालत गरिरहेको छ।  

हरेक वर्ष दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा दिँदै आएको सेनाले गाउँगाउँमा पुगेर विपत अभ्यास समेत गर्ने गरेको छ। सेना के हो? कसरी काम गर्छ? सेनाको जिम्मेवारी के हो? भन्ने विषयमा स्थानीयस्तरसम्म जानकारी दिने काम भइरहेको बाहिनीपति सापकोटा बताउँछन्।

पहिलो प्राथमिकता राष्ट्रियताको रक्षा र दोस्रो प्राथमिकता पूर्वाधार विकास र नागरिक सैनिक सम्बन्ध स्थापना गर्नु भएको नेपाली सेनाको भनाई छ।

कोभिड–१९ को संकटपूर्ण अवस्थामा पनि सेना जनतासँगै रह्यो। विद्यालयमा खेलकुद सामाग्री प्रदान पनि गरिरहेको छ। बाहिनीपति सापकोटा भन्छन,‘नागरिकलाई सेनाको जिम्मेवारी बताउन चाहान्छौँ। नागरिकले सेना प्रति भरोसा राखोस्। आपत विपतका बेलामा सेनाले नागरिकको सुरक्षा दिन सकोस्। यो समन्वयकारी अवस्था निर्माण गर्न चाहान्छौँ। ’

जुम्लामा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र विपद्मा नागरिकसँग एकाकार गर्नेगरी गतिविधि भइरहेको बाहिनीपति सापकोटाले बताए। जुम्ला नेपाली सेनाको नन्दबक्स गण र नम्बर २४ बाहिनी अड्डा छ। आगामी दिनमा नागरिकसँगको सम्बन्ध सुमधुर बनाउन जनमुखी कार्यक्रम गर्दै जाने सेनाले जनाएको छ। 

प्रकाशित: १४ फाल्गुन २०७७ ०८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App