बेनी नगरपालिका–४ डाँडाखेतकी ७४ वर्षीया पुतली किसानलाई दुई अपरिचित युवकले नक्कली सुन देखाएर ठगी गरेका छन् । सदरमुकाम बेनीबजारको विद्युत् कार्यालयको तल्लो गल्लीमा नक्कली सुन देखाएर साटिदिने भनी वृद्धा किसानले कानमा लगाएको दुईवटा रिङ लिएर ती युवकहरू फरार भए । करिब आधा तोलाका रिङ दिएर पहेंलो धातुलाई सक्कली सुन ठानेर मक्ख परेर घर पुगेकी ती वृद्धा सुन नक्कली भएको जानकारी पाएपछि छाँगाबाट खसेजस्तै भइन् । पीडितले आइतबार दिउँसो १२ बजे आफू ठगिएको भन्दै प्रहरीमा उजुरी गरेपछि मात्रै घटना सार्वजनिक भएको थियो ।
पछिल्लो समय नक्कली सुनको ढिक्का देखाई दिउँसै सक्कली सुन लुट्ने घटना बढ्दै गएको छ । भिडभाड र एकान्तमा बसेर वृद्धवृद्धालाई सुनको जस्तो देखिने ब्रासलेट, सुनको जस्तो देखिने सिक्री र उक्त गहनाका बिलहरू देखाएर शरीरमा भएको सुन वा नगदले साट्ने गिरोह बेनीमा सक्रिय भएको अनुमान प्रहरीले गरेको छ । ‘नक्कली सुन देखाई लुटपाट गर्ने तथा ठगी गर्ने गिरोहबाट सचेत हुनुहोला । शरीरमा लगाएको सुन साट्न खोजे तुरुन्तै जानकारी दिनुहोला,’ प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले भने । उनले घटनालगत्तै सार्वजनिक नभई नक्कली भएको थाहा पाएपछि मात्रै प्रहरीले जानकारी पाउने गरेको बताए । ‘सार्वजनिक ठाउँमा सुनको कारोबार गर्ने सक्कली हुनै सक्दैन । सचेत भएर प्रतिवाद गर्नुहोस्,’ प्रहरी नायब उपरीक्षक राईले भने ।
त्यस्ता शंकास्पद व्यक्ति भेटिए प्रहरीलाई खबर गर्न वा नजिकै यात्रा गरिरहेका सर्वसाधारणलाई समेत सहयोग माग्न सकिने राईको भनाइ छ । उनले वृद्धाको सुन लुटपाटमा संलग्नको हुलियाका आधारमा खोजीकार्य सुरु भएको बताए । ठगी भएको भन्ने सूचना हुनासाथ तत्काल प्रहरी पुग्न सक्ने स्थानमै पछिल्लो समय लुटपाट भइरहेको छ । विभिन्न जिल्लामा घट्ने एकै किसिमको घटना बेनीमा समेत घट्न थालेकाले गिरोह म्याग्दीमा प्रवेश गरेको हुन सक्ने आशंका प्रहरीको छ ।
सामान्यतया सुनको कारोबार गर्ने वित्तीय संस्था र सुनचाँदी व्यवसायीले कुन सुन सक्कली र कुन नक्कली भन्ने छुट्याउन सक्ने भए पनि सर्वसाधारण प्रलोभनमा नक्कली धातुलाई समेत सुन भन्दै ठगिने गरेका छन् । यसअघि पनि ग्रामीण क्षेत्रबाट आएका वृद्धवृद्धालाई यसरी नै लुटपाट गरिएको घटना सार्वजनिक भएपछि प्रहरीले सार्वजनिक सूचना नै जारी गरेको थियो ।
यस्ता घटना करिब आधादर्जन भन्दा बढी घटिसकेको अनुमान गरिएको छ । नक्कली सुनले सक्कली साट्ने, नक्कली सुनले नगद साट्नेजस्ता गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले भिडभाड र घटना घटेको क्षेत्रमा प्रहरीलाई परिचालनसमेत गरेको छ ।
प्रकाशित: १४ फाल्गुन २०७७ ०४:१८ शुक्रबार