coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

५६ प्रतिशत माटोमा कमजोर उर्वरा शक्ति

उदयपुरगढी गाउँपालिकामा तीनदिने ‘माटो परीक्षण शिविर’ सम्पन्न भएको छ। कृषि उत्पादनमा सुधार ल्याउँदै आयआर्जन बढाउनने उद्देश्यले आयोजित शिविरमा गाउँपालिकाका ८ वटै वडाका किसानको माटो परीक्षण गराएका थिए। सेभ द चिल्ड्रेनको साझेदार संस्था बाल विकास समाज (सिडिएस) उदयपुरको सहयोगमा गाउँपालिका कृषि विकास शाखाले फागुन १० देखि १२ गतेसम्म उक्त शिविर सञ्चालन गरेको हो। शिविरमा किसानले ल्याएको आ–आफ्नो खेतबारीको माटो परीक्षण गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए। माटो परीक्षणले कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको उनको भनाइ छ।  

शिविरमा प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रायलयअन्तर्गत माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का, सुनसरीका माटो तथा मल विज्ञ राजेन्द्रप्रसाद यादव नेतृत्वको प्राविधिक टोली खटेको थियो। टोलीले ३ दिनसम्म शिविरमा ल्याइएका सबैखाले माटोको परीक्षण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीले बताए। उनका अनुसार टोलीले शिविरको अन्त्यमा परीक्षण नतिजा सार्वजनिक गरेको छ। जसमा नमुना परीक्षण गरिएका १ सय ३५ किसानको माटोमा ४६ प्रतिशत अम्लीयपन, ५१ प्रतिशत टथस्थ र माटो नबिग्रएको देखिएको छ।

त्यस्तै ५६ प्रतिशत माटोमा कमजोर उर्वरा शक्ति रहेको पाइएको र ३८ प्रतिशत मध्यम उर्वरा शक्ति पाइएको विज्ञ यादवले बताए। परीक्षण प्रतिवेदन गाउँपालिकालाई बुझाउँदै उनले सामान्य उपचार विधिबाटै समस्या समाधान गरेर कृषि उत्पादन बढाउन कृषि विकास शाखालाई सुझाव समेत दिए। माटोको अवस्था र त्यसको उपचार विधिबारे उपस्थित किसानलाई प्रारम्भिक जानकारी गराइएको थियो। आगामी दिनमा गाउँपालिकाको कृषि शाखाले नियमित परामर्श र सेवा दिनसक्ने यादवले बताए। आगामी दिनमा माटोमा कुनै कमजोरी देखिए कृषि विकास शाखामार्फत नै उपचारको व्यवस्था मिलाइने प्रमुख प्रकाशकीय अधिकृत सुवेदीले बताए।

गाउँपालिका उपाध्यक्ष सानुकुमारी राउतले किसानको बाँँच्ने मुख्य आधार कृषि भएको भन्दै उत्पादन क्षमता बढाउन शिविरले सहयोग पुग्ने बताईन्। उनले शिविरबाट बढीभन्दा बढी लाभ लिन कृषकलाई अनुरोध गर्दै खेतबारीको उपचार बेलैमा गरेर कृषि उत्पादन बढाउन पनि सुझाईन्।

समापन कार्यक्रममा सिडिएसका बोर्ड सदस्य दिनानाथ दाहालले माटो मानव जीवनसँग जोडिएको हुनाले यसलाई आमासरह ठानेर बेलाबेलामा रेखदेख र उपचार गर्नुपर्ने बताए। उर्वरा शक्ति बढाएर कृषि उत्पादनमा वृद्धि ल्याउन सके किसानको आर्थिक उन्नति हुने भएकाले शिविर सञ्चालन गरिएको उनको भनाइ थियो।

प्रकाशित: १४ फाल्गुन २०७७ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App