स्रोत नखुलेको २५ लाख ३५ हजार रकमसहित दुई जना भारतीयलाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया ७ का चंद्र शेखर प्रसाद र संजय कुमार रहेको बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले बताएका छन्।
बुधबार कलैया–मटिअर्वा सडक खण्ड अन्तर्गत पर्ने कलैया उपमहानगरपालिका–८ बरेवा टोलबाट प्रहरीले सवारीसाधन चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको शाहीले बताए।
भारतबाट कलैया तर्फ आउँदै गरेको बिआर ०५ के ०७९८ नम्बरको मोटरसाईकललाई चेकजाँद गर्ने क्रममा उनीहरुले राखेको उक्त रकम बरामत गरिएको शाहीको भनाई छ।
पक्राउ परेका चंद्र शेखर प्रसाद र संजय कुमारले शरीर तथा मोटरसाइकलको डिक्की समेतमा लुकाई राखेको .हजार दरको १७७२ थान १७ लाख ७२ हजार र पाँच सय दरको १५ सय २६ थान सात लाख ६३ हजार गरी नेपाली रूपैया २५ लाख ३५ हजार बरामत गरिएको उनले बताए।
मोटरसाईकल सहित रकम बरामत गरिए पछि त्यसको बारेमा सोधपुछ गर्दा निजहरूले स्रोत नखुलाउन नसकेको र रकम ओसारपसार गर्ने कार्यमा फरिया रहेको खुल्न आए पछि थप कारावहीको लागि सम्पत्ति शुद्धिकारण विभागमा पठाउने तयारी गरेको उनले बताए।
प्रकाशित: १३ फाल्गुन २०७७ १३:४३ बिहीबार