१६ चैत्र २०८० शुक्रबार
समाज

ट्रयाक खोल्न चाहिने विष्फोटक पदार्थ खरिदका लागि गृह मन्त्रालयले दियो स्वीकृति

गृह मन्त्रालयले उत्तर–दक्षिण(मूलघाट–दोभान–ओलाङचुङगोला)सडक योजना तथा तमोर करिडोर निर्माणका क्रममा चट्टान फुटाइ ट्रयाक खोल्न विष्फोटक पदार्थको खरिद स्वीकृति प्रदान गरेको छ। ६ वटा सर्त उल्लेख गर्दै गृह मन्त्रालयको लागूऔषध नियन्त्रण शाखाले विष्फोटक पर्दाथ उपलब्ध गराउन तथा सोको सुरक्षा व्यवस्थाका लागि रक्षा मन्त्रालयलाई अनुरोध गरेको हो। गृहले २ हजार ५ सय किलोग्राम जिलेटिन(इमल्सन),१४ हजार गोटा डेटोनेटर र २४ हजार मिटर फ्युज वायर उपलब्ध गराउन र सोको सुरक्षा व्यवस्थाका लागि रक्षा मन्त्रालयलाई अनुरोध गरेको गृह मन्त्रालयका शाखा अधिकृत किरणचन्द्र सुबेदीले जानकारी दिए।  

मन्त्रालयले ताप्लेजुङस्थित भीमकाली गुल्म तोक्मेडाँडा व्यारेकको बंकर घरमा उक्त आयोजनाको विष्फोटक पदार्थहरु मौज्दात भएको हुँदा सोहि बंकर घरमा उल्लेखित विष्फोटक पदार्थ भण्डारण गर्न सकिने गरी अनुमति समेत दिएको छ। मन्त्रालयले उक्त गुल्मबाट सडक निर्माण स्थलसम्मको दूरी ५१ किलोमिटर रहेको र निर्माण स्थलमा गाडीद्वारा आवतजावत गर्न १४ घण्टा लाग्ने हुँदा विष्फोटक पदार्थ ढुवानी, प्रयोगको अनुगमन तथा सोको सुरक्षा व्यवस्थाका लागि उक्त स्थानमा गइ ब्लाष्टिङ पश्चात फिर्ता हुन नसकिने भएकोले हप्तामा ३ दिनसम्म एमआरपीको रुपमा सुरक्षा फौज खटाउन समेत अनुमति प्रदान गरेको छ। विष्फोटक पदार्थको ढुवानी, भण्डारण, सुरक्षा र प्रयोगको अनुगमन सम्बन्धमा सम्बन्धित सडक आयोजना तथा नेपाली सेना बीच द्धिपक्षीय सम्झौता गरी कार्यान्वयन गर्ने÷गराउने व्यवस्थाका मिलाउने मन्त्रालयले भनेको छ।  

विष्फोटक पदार्थ प्रयोग गर्दा गाउँ, इलाका, मानव वस्ती, पशुपंक्षि, वन्यजन्तु, वातावरण विकास, निर्माण पूर्वाधार, पानीपधेंरो, सन्धीसर्पन लगायत सार्वजनिक महत्वका बस्तुहरुलाई कुनै किसिमको प्रतिकुल असर र प्रभाव नपर्ने गरी स्थानीय प्रशासन, सुरक्षा निकाय र प्राविधिक कर्मचारीको रोहवरमा इजाजतप्राप्त व्यक्तिहरुबाट मात्र प्रयोग गर्ने व्यवस्था गर्न भनेको छ। विष्फोटक पदार्थ खपतको विवरण र थप विष्फोटक पदार्थ माग गर्दा पूर्व स्वीकृतिबाट प्राप्त खर्च तथा मौज्दातको विवरण प्रमाणित गरी स्थानीय प्रशासन कार्यालय र गृह मन्त्रालयमा पेश गर्न समेत गृह मन्त्रालयले भनेको छ।  

जिल्ला प्रशासन कार्यालयले मिति १६ मंसिर २०७७ मा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ पुस २०७७ मा गृह मन्त्रालयमार्फत रक्षा मन्त्रालयमा विष्फोटक पदार्थ खरिद स्वीकृतिका लागि अनुरोध पत्र लेखेका थिए।

प्रकाशित: १३ फाल्गुन २०७७ ०४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App