coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लाभग्राही सूचीबाट १३ सय हटाइए

जगमै सीमित रहेकाे सिन्धुलीकाे हरिहरपुरगढी गाँउपािलकास्थित एक भूकम्पपीडितकाे घर। तस्बिर: अनिल/नागरिक

समयमै सम्झौता गरी निजी आवास निर्माण गर्नका लागि आलटाल गर्ने भूकम्पपीडित सूचीमा रहेका लाभग्राहीलाई उक्त सूचीबाट हटाइएको छ। सिन्धुलीमा निजी आवास निर्माण गर्न अटेर गर्ने १ हजार ३ सय २१ जना भूकम्पपीडितलाई सो सूचीबाट हटाइएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी घर क्षति भएको भन्दै विवरण टिपाएर लाभग्राही सूचीमा परेका तर ती पीडितले समयमै घर निर्माण गर्न अग्रसरता नदेखाएपछि लाभग्राही सूचीबाटै हटाइएको हो। भूकम्प गएको ५ वर्ष पुरा हुँनै लाग्दासमेत तोकिएको समयभित्र निजी आवास निर्माण गर्न सम्झौता गर्न नआउने र पहिलो किस्ता नलैजाने भूकम्पपीडितलाई लाभाग्राही सूचीबाट हटाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन कार्यालय प्रमुख सूर्यप्रकाश विष्टले जानकारी दिए। उनका अनुसार २०७७ साल मंसिर मसान्तसम्म सम्झौता गर्न र पुस १५ गतेभित्र पहिलो किस्ता लैजान समयसीमा तोकिएको थियो।  

उक्त समयमा सम्झौता गरी पहिलो किस्ता नबुझ्ने लाभग्राहीलाई सूचीबाटै हटाइएको हो। सूचीबाट हटाइएकामध्ये कमलामाई नगरपालिकाका ३ सय ७५, दुधौली नगरपालिकाका ३ सय ३४, सुनकोसी गाउँपालिकाका १ सय २७, गोलन्जोर गाउँपालिकाका ९२, फिक्कल गाउँपालिकाका ४८, मरिण गाउँपालिकाका १ सय ३९, हरिहरपुरगढी गाउँपालिकाका ८३, तीनपाटन गाउँपालिकाका ६३ र घ्याङलेख गाउँपालिकाका ६० जना रहेका छन्।  

प्राधिकरणको सूचीमा सुरुमै लाभग्राहीको सूचीमा परेका लाभग्राहीले तोकिएको समयभित्र निजी आवास बनाउन अटेर गरेकाले हटाउन सिफारिस गरिएको कार्यालयले जनाएको छ। सिन्धुली जिल्लामा निजी आवास पुनर्निर्माणतर्फका लाभग्राहीको संख्या ३८ हजार ८ सय १६ रहेको छ। जसमा सुरुमा भूकम्पपीडित लाभग्राही सूचीमा ३४ हजार २ सय ५६ जनाको नाम प्रकाशित भएको र बाँकी विभिन्न समयमा गुनासो सूचीमार्फत लाभग्राहीमा थपिएका हुन्।

जिल्लामा हाल आवास बनाउन सम्झौता गरी पहिलो किस्ता लैजाने ३७ हजार २ सय ९५ जना, दोस्रो किस्ता लैजाने ३३ हजार ९ सय ८ र तेस्रो किस्ताका लागि २९ हजार ४ सय १३ जनाको सिफारिस परेको छ। जसमध्ये २७ हजार २ सय ९७ जनाले अनुदान पाइसकेका छन्। सम्झौता गरी पहिलो किस्ता लैजानेमध्ये पनि ३ हजार ३ सय ८७ जनाले घर बनाउन बाँकी रहेको कार्यालयको तथ्यांक छ।  

कार्यालय प्रमुख विष्टका अनुसार जिल्लामा प्रबलीकरणका १४ हजार ४ सय ४२ जना लाभग्राही रहेका र यीमध्ये १२ हजार ४ सय ५५ जनाले सम्झौता गरी पहिलो किस्ता रकम लिइसकेका छन्। यस्तै दोस्रो तथा अन्तिम किस्ता १६ जनाले लगेका छन्। प्रबलीकरणका लाभग्राहीले भने दुई किस्तामा ५०/५० हजार रूपैयाँ पाउने व्यवस्था भएको कार्यालयले जनाएको छ। भूकम्पको पहिलो वा दोस्रो किस्ता अनुदान बुझेर समयमै घर नबनाउने लाभग्राहीको पैसा फिर्ता हुने प्राधिकरणले जनाएको छ। पैसा फिर्ता गर्नुपर्ने प्राधिकरणले बताएसँगै जिल्लामा किस्ता बुझेर घर बनाउन बाँकी लाभग्राहीले धमाधम घर बनाउन थालेका छन्।

प्रकाशित: १३ फाल्गुन २०७७ ०४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App