coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणः छ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्युको घटनामा ६ जनाविरुद्ध ‘कर्तव्य ज्यान’मुद्दा दर्ता भएको छ। घटना भएको दुई महिनापछि प्रहरीले मुद्दा दर्ता गरेको हो।

उर्लाबारी–६ का राजेश रणपहेली, सुदीप परियार, दीपेश पौडेल, मेहरमान दर्जी, कुमार राई र रमेश गिरीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको छ। प्रहरीले मुद्दा दर्ता गरेकामध्ये मेहरमान र कुमारलाई पक्राउ गरेको छ भने अन्य बाँकी फरार रहेका छन्।  

यसैबीच घटनाबारे जानकारी दिन जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेनल गरेको थियो। पत्रकार सम्मेलनमा मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कर्तव्य ज्यान मुद्दा चलाउनुपर्ने निष्कर्षसहित अनुसन्धानको मिसिल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको बताए। तर, सरकारी वकिल कार्यालयले आवश्यक प्रमाण नपुगेको भन्दै माघ २ गते ६ जनालाई हाजिर जमानीमा छाडेको थियो।    

‘घटनाको अनुसन्धान गरेको मिसिलसहित सरकारी वकिल कार्यालयमा बुझाएका थियौं,’ एसपी खड्काले भने, ‘तर, वकिल कार्यालयबाट प्रमाण अपुग भएको भन्दै थप अनुसन्धान गर्न र पक्राउ परेकालाई हाजिर जमानी छाड्न आदेश भयो। मृतकको पोष्टमार्टम र भिसेरा परीक्षणको रिपोर्ट ढिलो आउँदा र कानुनअनुसार २५ दिनभन्दा बढी थुनामा राख्न नपाउने व्यवस्थाका कारण पक्राउ परेकालाई छाड्नु पर्‍यो।’

घटनासँग सम्बन्धित अनुसन्धानका रिपोर्ट प्राप्त भइसकेको हुँदा प्रतिवेदन र प्रहरीको रायसहित वकिल कार्यालमा प्रहरीले बुझाइसकेको बताइएको छ। हाजिर जमानीमा छाडिएका ६ जनामध्ये २ जना पक्राउ परेको र बाँकी ४ जना फरार भएको हुँदा उनीहरूको खोजी कार्य भइरहेको एसपी खड्काले बताए।  

‘कर्तव्य ज्यानमै थालेको अनुसन्धानलाई पोष्टमार्टम र भिसेरा परीक्षणको रिपोर्टले हत्या भएको देखायो,’ एसपी खड्काले भने, ‘रिपोर्टमा ‘भ्वाइलेन्ट एपेक्सिया’ भनेको छ। रिपोर्ट अनुसार श्वास फेर्न नसकेर वा निसास्सिएर मृत्यु भएको भन्ने बुझिन्छ। त्यही भएर हत्या भएको दाबीसहित मुद्दा अघि बढाइएको हो।’  

प्रहरीले घटनालाई गम्भीर लिँदै अनुसन्धान थालेको र अनुसन्धानका क्रममा कुनै कमीकमजोरी हुन नदिएको बताउँदै, एसपी खड्काले भने, ‘प्रहरीले मिसिलमा फोटो परिवर्तन गरेको भन्दै परिवारले आन्दोलन गर्नु भएको छ। तर सक्कली मिसिल वकिल कार्यालयमार्फत अदालतमा पुगिसकेकाले त्यसमा मृतककै फोटो रहेको छ। प्रहरीसँगको नक्कल प्रतिमा अर्कै फोटो च्यापिएर बसेछ। समिति गठन गरेर छानबिन गर्दा अनुसन्धानमा कुनै लापरबाही देखिएन र पीडित परिवारलाई न्याय दिने तवरबाट प्रहरी लागी परेको छ।’ बास्तोलाको गत पुस ५ गते साथीको घरमा सुतेकै ठाउँमा शंकास्पद मृत्यु भएको थियो।

प्रकाशित: १३ फाल्गुन २०७७ ०२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App