coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उदयपुरमा लागुऔषध अपराध बढ्दो: १८–४० वर्ष उमेर समूहका युवाको बढी संलग्नता

उदयपुरमा पछिल्लो समय लागुपदार्थ दुव्र्यसन र कारोबारको अपराध बढ्दै गएको पाइएको छ । विगत तीन वर्षको आपराधिक ‘ग्राफ’ मा सदरमुकाम गाईघाटमा सबभन्दा बढी लागुऔषध कारोबार भएको देखिन्छ भने बाँकी बजार पनि अछुतो नरहेको प्रहरी अभिलेखले देखाएको छ ।  

जिल्ला प्रहरी कार्यालय उदयपुरको अभिलेखअनुसार चालु वर्षको साउनयता मात्र ३९ वटा लागुऔषधका मुद्दामा ७० जना पक्राउ परेर कारबाही प्रक्रिया चलिरहेको छ । सात महिनाभित्र लागुऔषधसँग सम्बन्धित मुद्दाका अभियुक्तलाई प्रहरी, अदालत र प्रशासनमार्फत कारबाही गर्दा २२ मुद्दा फस्र्योट भएका छन् भने १७ मुद्दा बाँकी रहेको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए ।  

दाहालका अनुसार लागुऔषधमा सबभन्दा बढी सिरिन्जको प्रयोग तथा बिक्रीवितरण हुने गरेको छ भने ट्याब्लेट र गाँजा पनि उत्तिकै किनबेच भइरहेको छ । त्यस्तै पछिल्लो समय खैरो हेरोइन (ब्राउन सुगर) पनि जिल्ला भित्रिने क्रम चलेको एसपी दाहालले बताए । पहिलेपहिले सामान्य खालका लागुऔषध आयात, बिक्रीवितरण र प्रयोग हुँदै आएकोमा केही समययता ब्राउन सुगरसमेत कारोबार हुन थालेको उनको भनाइ छ ।  

‘उदयपुर पनि लागुऔषध कारोबार झाँगिएको जिल्लाभित्रै पर्छ,’ दाहालले भने, ‘तर पहिलेभन्दा अहिले जटिल खालका लागुऔषधसमेत भित्रिने र बिक्रीवितरण भइरहेको पाइएको छ ।’ विगतमा फेनार्गन, लुपिजेसिक, डाइजेल्याप, एम्पुल प्रकृतिका सिरिन्ज, डाइलेक्स–डिसी, कोरेक्सजस्ता तरल तथा नाइट्रोजन र नाइट्रोभ्याट नामक ट्याब्लेट आयात र किनबेच हुने गरेको थियो, गाँजाको प्रयोग र किनबेच पनि उत्तिकै हुने गरेको थियो । तर चालु वर्षदेखि ब्राउन सुगरसमेत भित्रिन थालेको कुरा अभियुक्त पक्राउ र सामान बरामदले देखाएको छ ।

प्रहरीका अनुसार लागुऔषध प्रयोगकर्ताहरूमा अधिकतर किशोरावस्थादेखि युवाहरू बढी पाइएका छन् । अहिलेसम्म पक्राउ पर्नेमा १५ वर्षदेखि ४० वर्ष उमेर समूहका बढी पाइएको एसपी दाहाल बताउँछन् । उनका अनुसार गत साउनदेखि फागुन १० गतेसम्म पक्राउ परेका लागुऔषधसँग सम्बन्धित तीन महिलासहित ७० जनामा १८ देखि ३० वर्ष उमेर समूहका ५३ जना छन् । त्यस्तै ३१ देखि ४५ वर्षसम्मका १२ र १८ वर्षमुनिका दुईजना पक्राउ छन् । गाँजा अपराधमा ५९ वर्षका एक र ६० वर्षमाथिका एक पुरुष र एक महिला चालु वर्ष पक्राउ परेर कारबाही भोगिरहेको अवस्था छ ।  

यो वर्ष प्रहरीले ५ सय ६३ थान (एम्पुल) सिरिन्जसहित एक महिला र ३२ पुरुष पक्राउ गरेको छ । त्यस्तै १ सय २६ थान ट्याब्लेटसहित एक महिला र २२ पुरुष तथा चारजना ट्याब्लेट कारोबार अभियोगमा पक्राउ परेका छन् । एक महिलासहित १० जना पक्राउ परेका अभियुक्तबाट ५४ ग्राम ३ सय ६१ मिलिग्राम ब्राउन सुगर बरामद भएको एसपी दाहालले बताए । उनका अनुसार एकपटकमा अम्मलीले १० मिलिग्राम ब्राउन सुगर प्रयोग गर्ने गरेका छन् । एक महिला र दुई वृद्ध पुरुष पक्राउ गर्दा २ सय २१ किलो गाँजा बरामद भएको तथ्यांक पनि प्रहरी कार्यालयसँग छ ।  

उदयपुरमा मुख्य गरी लालपत्ता, मिर्चैया, फत्तेपुर र चतारा नाका भएर लागुऔषध उदयपुर भित्रिने गरेको प्रहरीले जनाएको छ । उदयपुर र सप्तरीको सिमाना लालपत्ता भएर धेरै लागुऔषध सदरमुकाम गाईघाट भित्रिने गरेको छ भने अर्को मुख्य नाका मिर्चैया भएर पश्चिमी व्यापारिक केन्द्र कटारी छिर्ने गरेको प्रहरी निष्कर्ष छ । मिर्चया–कटारी–घुर्मी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गसँग खोटाङको त्रिधार्मिकस्थल हलेसी तथा सदरमुकाम दिक्तेल हुँदै भोजपुरसम्म जोडिएको सडक भएकाले मिर्चैया नाकाबाट लागुऔषध भित्रिने गरेको हो । यता छिमेकी चौदण्डीगढी नगरपालिका ५ सँग जोडिएको सप्तरीको सीमा बजार फत्तेपुर तथा बेलका नगरसँग सुनसरी सीमा जोडिएको चतारा पनि लागुऔषध भित्रिने नाका प्रमाणित हुँदै आएका छन् ।  

प्रहरीले लागुऔषध नियन्त्रण तथा न्यूनीकरणका लागि समुदायसँग मिलेर विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको छ । खासगरी जिल्ला प्रवेश नाकाहरूमा कडाइ गर्दै चेकजाँच नियमित गरे पनि लागुऔषध भित्रिने क्रम नरोकिएको प्रहरी ठहर छ । बालबालिकादेखि युवा हुँदै वयस्क उमेरसम्मकाहरू लागुऔषध दुव्र्यसनमा अभ्यस्त भएकै कारण सामूहिक प्रयास र अभियान चलाउँदा अभियुक्त पक्राउ र सामान बरामद भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १३ फाल्गुन २०७७ ०१:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App