coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जलवायु परिवर्तन नियन्त्रणमा नेपालः कोप–२६ का अध्यक्षद्वारा सराहाना

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क सम्मेलन (युएनएफसिसी)–२६ का अध्यक्ष आलोक शर्माले जलवायु परिवर्तनलाई सम्बोधन गर्न नेपालले गरेका प्रयाशका सराहाना गरेकाछन्। गत साता नेपालको भ्रमणमा रहेका शर्माले राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न मन्त्री, स्थानीय समुदाय तथा नागरिक समाजका अगुवालाई भेटेको नेपालस्थित बेलायती राजदूतावासले सोमबार जनाएको छ।

कोप–२६ को बैठक यसै वर्षको नोभेम्बरमा बेलायतको ग्लासगोमा आयोजना  हुँदैछ। कोप–२६ को अध्यक्षको हैसियतमा नेपालमा पहिलोपटक भ्रमण गरेका शर्माले जलवायु परिवर्तनले हिमालयन क्षेत्रमा पारेको प्रभावबारे जानकारी लिएका थिए। दूतावासद्वारा जारी गरिएका विज्ञप्तिका अनुसार शर्माले नेपालले सन् २०५० सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्न गरेको प्रतिबद्धता र कोप–२६ अगावै जलवायु परिवर्तन न्यूनीकरणका लागि गरेको विभिन्न निर्णय गरेकोमा नेपालको प्रशंसा गरेका छन्। यसैगरी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क सम्मेलनको २६औं संस्करणअन्तर्गत जलवायु परिवर्तनका विषयमा महिलाको आवाजलाई सशक्त पार्ने उद्देश्य लिइएको परिप्रेक्ष्यमा शर्माले नेपालमा महिलाहरू जलवायु परिवर्तन न्युनीकरणका दिशामा सशक्त देखिएको पनि बताए।  

‘जलवायु परिवर्तन न्यूनीकरणका लागि हुने कार्यमा महिला र युवाहरूको सशक्त भूमिका हुनुपर्छ भन्नेमा नेपालमा आम बुझाइ रहेको देखियो,’ शर्मालाई उद्धृत गर्दे राजदूतावासको विज्ञप्तीमा भनिएको छ। यसैगरी शर्माले जलवायु परिर्वतनको विषयमा महिलाको आवाजलाई अझ सशक्त पार्न बेलायत तयार रहेको पनि बताएका छन्। शर्माले जलवायु परिवर्तनको क्षेत्रमा नेपालमा काम गरेका महिला नेतृत्व र युवासँग पनि भेटघाट गरेका थिए।  

अन्य विकास साझेदारसँग मिलेर निजी क्षेत्रको सहकार्यमा नेपालको हरितक्षेत्र पुनर्उत्थान गर्नका लागि बेलायतले नेपालमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ। बेलायत तथा अन्य विकास साझेदारले नेपालका लागि कुल ७ अर्ब ४० करोड अमेरिकी डलर बराबरको पुनर्उत्थान प्याकेजको घोषणा गरिसकेका छन्। यो प्याकेजअन्तर्गत नेपालले क्रृण तथा अनुदान सहयोग प्राप्त गर्नेछ।  

शर्माले भ्रमणको क्रममा नेपालीहरू जलवायु परिवर्तनका प्रभाव थेग्न सक्षम रहेका तर विश्वका सबैभन्दा कम कार्बन उत्सर्जन गर्ने देश हुँदाहुँदै पनि नेपाल जलवायु परिवर्तनका कारण अत्यधिक प्रभावित रहेको पनि बताएका थिए।

‘विश्वव्यापी रूपमा जलवायु परिवर्तनविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई सहयोगको आवश्यक छ। नेपालमा कार्यान्वयन भइरहेको ब्रिटिस गोर्खा परियोजनाले मिलेर काम गर्दा कसरी जीवनस्तर सुधार्न सकिन्छ भन्ने प्रमाणित गरेका छन्,’ शर्माले भ्रमणको अवसरमा भने। अति कम विकसित राष्ट्रको समूहका लागि नेपालले आवाज उठाउँदै आएको छ र यो समूहका अध्यक्ष रहेको भुटानले हिन्दकुश हिमालय क्षेत्रको समस्यालाई कोप–२६ मा उठाउन नेपाललाई अनुरोध गरिसकेको छ। हिमालयले यो क्षेत्रका १ अर्ब ६० करोड जनसख्यालाई ताजा पानी उपलव्ध गराउँदछ भने नेपालका हिमालयले ४० करोड जनसंख्यालाई पानी आपूर्ति गर्दछ। 

हिमालय क्षेत्रमा विश्वव्यापी सरदर भन्दा बढी मात्रामा वार्षिक तापमानमा वृद्धि भएको छ भने हिमतालहरू पनि आकार पनि घट्दो क्रममा छ। यसैबीच, नेपालका लागि बेलायती राजदूत निकोला पोलिट्ले कोप–२६का अध्यक्षले नेपाल भ्रमणमार्फत यो क्षेत्रमा जलवायु परिवर्तनले पारेका प्रभाव अध्ययन गर्न मौका पाएको बताएकी छन्। उनले भ्रमणले कोप–२६ अध्यक्ष शर्मालाई यो क्षेत्रको सन्देश विश्वलाई दिन सहयोग पुरयाउने पनि विश्वास व्यक्त गरेकी छन्। शर्माले गत बुधबार र बिहीबार नेपाल भ्रमण गरेका थिए।

प्रकाशित: ११ फाल्गुन २०७७ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App