coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँमा जिप पुग्दा खुसी

स्काभेटरको सहायताले भेरी तार्ने तयारीमा मुस्ताङ जिप । तस्बिर : नगेन्द्र/नागरिक

स्काभेटरको सहायताले भेरीको भेलबाट यात्रु बोक्ने गाडी तार्ने थाहा पाएका बराहताल गाउँपालिका–१ का ७१ पर्यीय इन्द्रबीर थापा ३ घन्टा ओरालो हिँडेर आइतबार बिहानै रानीघाट पुगे । उनको गाउँमा सडक पुगेको ३ वर्ष भयो । भेरीमा पुल नहुँदा बनेको सडकमा चारपांग्रे सवारी चल्न सकेका थिएनन् । ‘गाडी तर्‍यो भने त पैदल हिँड्न छुट्थ्यो,’ उनले भने, ‘छोरा–नातिले पनि सुख पाउँथे ।’ केही घन्टाको प्रयासपछि भे.१ज ५४१ नम्बरको मुस्ताङ जिप भेरी तर्‍यो ।  

श्रीचौरका दिनेश दर्लामीले जीवनको उर्वर समय बर्दियादेखि भारी बोकेरै बिताए । भूगोल सुर्खेतको भएपनि दूरीका हिसावले श्रीचौर बर्दियाको भूरिगाउँ नजिक छ । ३ वर्षअघि सुर्खेत खण्डबाट सडक खन्दै आँगनै डोजर पुग्यो । दर्लामीको आँगनैबाटै सडक जान्छ । सडक पुगेपनि अझैसम्म यहाँ गाडी भने पुगेको थिएन् । भेरीबाट तारिएको गाडी उनको आँगन हुँदै अघि बढ्यो । ‘मैले त पिठ्युमै भारी बोकेर आफ्नो जीवन गुजारे,’ उनले भने, ‘त्यो दुःख मेरा छोरा र नातिले नपाउने भए ।’

साविकको हरिहरपुर गाविस अहिले दुई वडामा विभाजन भएको छ । यहाँका सबै टोलमा ३ वर्षअघिनै सडक पुगेको हो । वडा कार्यालयले सडकको रेखदेखका लागि चारजना कर्मचारी पनि खटाएको छ । ‘पुल नहुँदा गाडी ल्याउन सकेका थिएनौं,’ वडाध्यक्ष तुलादेव भारतीले भने, ‘यो पटक जोखिम मोलेरै यात्रु बोक्नका लागि जिप भेरी तारेर ल्याउन सफल भयौं ।’

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि लुम्बिनी प्रदेशको बर्दिया जोड्ने सबैभन्दा छोटो मार्ग हो, तेलपानी–भुरिगाउँ सडक । यसको दूरी ५१ किलोमिटर छ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा १९ सय मिटर मात्रै सडक छिचोल्न बाँकी छ । जर्किनले भेरी तारिएको जिपबाट रानीघाटदेखि तेलपानीसम्मको १८ किलोमिटर सडकमा नियमित यातायात सञ्चालन हुनेछ ।

सुर्खेततिरबाट यातायात नहुँदा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका तेलपानीलगायतका क्षेत्रका स्थानीय दैनिक उपभोग्य वस्तुको खरिदका लागि बर्दियाको भुरिगाउँ जानुपर्ने बाध्यता छ । निकुञ्जको बाटो भएकाले भुरिगाउँ जाँदा जंगली जनावरको डर उत्तिकै हुन्थ्यो । ‘अब आँगनमै गाडी आउने भयो,’ तेलपानीका डिल्लीराम विकले भने, ‘डराई–डराई निकुञ्जको बाटो भएर बर्दिया जानुपर्ने बाध्यता हट्यो ।’ गाडी पुगेसँगै प्रदेश राजधानी वीरेन्द्रनगर आउने दूरी छोट्टिएको छ ।

वडाध्यक्ष भारतीले बाह्रै महिना सडक सञ्चालनमा आउने बताए । ‘वडा कार्यालयले आफ्नै खर्चमा सडक मर्मत कर्मचारी (कार्यकर्ता) राखेको छ,’ उनले भने, ‘वडावासीलाई सहज यातायातका लागि सडक बन्द हुन दिँदैनौं ।’ २०६९ असार २९ गते पप्पु/मल्ल जेभी निर्माण सेवाले भेरी नदीमा पुल बनाउने गरेर सडक डिभिजन कार्यालय सुर्खेतसँग सम्झौता गरेको थियो ।

प्रकाशित: ११ फाल्गुन २०७७ ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App