coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वीरगन्जमा भोजपुरी प्रतिष्ठान स्थापना

वीरगन्जमा भोजपुरी प्रतिष्ठानको भवनको शिलान्याश गर्दै मुख्यमन्त्री लालबाबु राउत ।तस्बिरः रितेश/नागरिक

वीरगन्ज महानगरपालिकाको ‘भोजपुरी प्रतिष्ठान ऐन २०७६’ अनुसार भोजपुरी प्रतिष्ठान स्थापना भएको छ। गत माघ महिनामा भोजपुरीका वरिष्ठ साहित्यकार एवं लोक संस्कृतिका विज्ञ उमाशंकर द्विवेदीको अध्यक्षतामा प्रतिष्ठानको कार्यकारणी सभा गठन भएको थियो। उक्त प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस समेत मनाएको छ।

प्रतिष्ठानले यस अवसरमा आइतबार बहुभाषिक कवि सम्मेलन एवं भवनको शिलान्यास कार्यक्रम आयोजना गरेको थियो। करिब ४ करोड लागत अनुमान गरिएको प्रतिष्ठानको भवनको शिलान्यास प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गरेका छन्। यस अवसरमा बोल्दै मुख्यमन्त्री राउतले मातृभाषा जस्तो आनन्द अन्य भाषा बोल्दा नआउने बताउँदै ‘मातृभाषा आमाको दुध र अन्य भाषा डेरीको दुध जस्तै रहेको’ टिप्पणी गरे।

शब्दको भण्डार र भावको प्रचुरता भोजपुरी भाषामा जस्तो अन्य भाषामा नभएको उनको दाबी थियो। भोजपुरी भाषाको आफ्नै व्याकरण, साहित्य कला र संस्कृति रहेको बताए। राज्यको उपेक्षाका कारण भोजपुरी, मैथिली, अवधी जस्ता भाषा ओझेलमा परेको उनको भनाइ छ। प्रदेश २ मा बोलिने भाषा, संस्कृति, कला र साहित्यको संरक्षणका लागि प्रदेश स्तरमा पनि स्थायी संरचना बनाउने मुख्यमन्त्री राउतको भनाइ छ।

नेपालीय भोजपुरीका भीष्म पितामह मानिने पण्डित दीपनारायण मिश्रको वीरगन्जमा सालिक बनाउने मुख्यमन्त्री राउतले जनाए। कार्यक्रमका प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले आफ्नो भाषामा बोल्दा कतिपयले हिनताबोध गर्ने गरेको कारण भाषा पछाडि परेको बताए। आफूले बोली भाषामा साहित्यिक सिर्जना गर्ने साहित्यकारहरू विश्वमञ्चमा परिचित भएको उदहारण दिँदै हिनताबोधबाट मुक्त हुन सबैलाई आग्रह गरे।

जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले शासन सत्तामा रहेकाहरूले आफ्नो भाषा प्रयोग गर्नका लागि भोजपुरीलाई दवाको आरोप लगाए। कार्यक्रममा नेता प्रदीप यादवले आफ्नो भाषामा संवाद गर्न जोड दिए। नेपाली कांग्रेस पर्साका जिल्ला सभापति अजय कुमार द्विवेदीले भोजपुरी प्रतिष्ठानको गठन एउटा ऐतिहासिक उपलब्धि भएको बताए। उनले कुनै भाषालाई समृद्ध बनाउन त्यसै भाषालाई बोल्ने मानिसको योगदान आवश्यक पर्ने बताए।

प्रतिष्ठानको संरक्षक समेत रहेका महानगरपालिकाका मेयर विजय कुमार सरावगीले प्रतिष्ठानले तीनवटा पुरस्कारको स्थापना गर्ने बताए। प्रत्येक २ वर्षमा प्रदान गरिने १ लाख रूपैयाँ राशीको ‘पण्डित दीपनारायाण मिश्र अन्तर्राष्ट्रिय भोजपुरी पुरस्कार’, ५० हजार राशीको ‘राष्ट्रिय भोजपुरी पुरस्कार’ र ५१ हजार राशीको एकदेखि ३ जनासम्मलाई दिने ‘लोकरंग नाट्य, संगीत तथा कला पुरस्कार’ को आइतबारको कार्यक्रममा घोषणा गरिएको छ। कार्यक्रमको अध्यक्षतासमेत गरेका नगरप्रमुख सरावगीले भोजपुरी भाषाको विकासका लागि यो प्रतिष्ठानले काम गर्ने बताए।

प्रकाशित: १० फाल्गुन २०७७ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App