८ वैशाख २०८१ शनिबार
समाज

सिन्धुपाल्चोकमा २२ स्वास्थ्य संस्था पुनर्निर्माण हुँदै

भूकम्पले भत्काएका स्वास्थ्य संस्था पुनर्निर्माण गर्न बिहीबार एकसाथ निर्माणसम्बन्धी सम्झौता भएको छ। जिल्लामा भूकम्पपछि पुनर्निर्माणको अगुवाइ गरिरहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) र सम्बद्ध निर्माण व्यवसायीबीच पुनर्निर्माण सम्झौता भएको हो। इकाइले चार प्याकेजमा ती स्वास्थ्य संस्था पुनर्निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो।

भूकम्पको पाँच वर्ष बित्न लाग्दा जिल्लामा एउटै स्वास्थ्य संस्था पुनर्निर्माण सम्पन्न भएको छैन। यो सम्झौतासँगै स्वास्थ्य संस्था पुनर्निर्माण अभियान नै जसरी अघि बढ्ने भएको छ। कुल ४३ करोड ७ लाख ३८ हजार ८ सय ८८ रूपैयाँ लागतमा ती स्वास्थ्य संस्था भवन बन्न लागेका हुन्। आगामी एक वर्ष पाँच महिनामा पुनर्निर्माण सक्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको इकाइ प्रमुख इन्जिनियर सन्तोष निरौलाले जानकारी दिए।

उनका अनुसार सम्झौता भएकामध्ये १३ वटा भारत सरकारको अनुदान र ७ वटा स्वास्थ्य संस्था नेपाल सरकारको बजेटबाट पुनर्निर्माण हुन लागेका छन्। ‘दुई प्याकेजका स्वास्थ्य संस्थाका भवन समय अगावै निर्माण सम्पन्न गरे व्यवसायीलाई बोनस दिने व्यवस्था छ,’ निरौलाले भने। स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार आधुनिक शैलीमा बन्ने भवन डेढ तले हुने उनले बताए। भवनको पहिलो तलामा रहने ६ कक्षबाट स्वास्थ्य सेवा प्रवाह गरिने छ, भने माथिल्लो तला आवास रहने छ।  

गुन्सा, सिपापोखरे, इचोक र भोटसिपा स्वास्थ्य चौकी रहेको पहिलो प्याकेज मालिका कन्ट्रक्सनले बनाउने छ। मालिकाले चार करोड ७५ लाख ७९ हजार रूपैयाँमा ठेक्का सकारेको हो। ६ करोड ८० लाख ६५ हजार रूपैयाँमा सम्झौता भएको दोस्रो प्याकेजका सिलढुंगा, कालिका, तौथली, गोल्चे र गुम्बा स्वास्थ्य चौकी टक्सार निर्माण सेवाले पुनर्निर्माण गर्ने छ।

त्यस्तै भारत सरकारको सहयोग रहेको तेस्रो प्याकेजका मेलम्ची, थकनी, सिन्धुकोट, ज्यामिरे, भोतामाङ, बाँसखर्क र पीपलडाँडा स्वास्थ्य संस्था बनाउन १४ करोड ११ लाख ७४ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको छ। यी संस्था बनाउने जिम्मा हाविटेन र न्यु ड्रागनले संयुक्त पाएका छन्। भारतकै सहयोगको चौथो प्याकेजका हगाम, फूल्पिङकोट, लिस्ति, ठोकर्पा (स्वास्थ्य/आयुर्वेद) र ठूलोधादिङ स्वास्थ्य चौकी १२ करोड ४३ लाख ६५ हजार रूपैयाँको लागतमा बन्ने छन्। यो प्याकेजको ठेक्का हिमदुङ र थोकर निर्माणले संयुक्त पाएका छन्।

सम्झौतामा हस्ताक्षर कार्यक्रममा दोस्रो प्याकेज पुनर्निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष छत्रबहादुर तामाङले समय र गुणस्तरमा सम्झौता नगरि पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए। वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले स्वास्थ्य संस्थामा भूकम्पले ठूलो क्षति पुर्‍याउँदा हाल सेवा प्रवाहमा समस्या थपिएको बताए। ‘धेरै स्वास्थ्य संस्था अस्थायी संरचनाबाट चलेका छन्। ल्याब, सुत्केरी सेवा जस्ता जटिल सेवा दिन सकिरहेका छैनौँ,’ उनले भने, ‘भवन पुनर्निर्माण भएपछि त्यस्ता सेवा प्रवाहमा सहजता ल्याउँछ।’

२०७२ वैशाख १२ को भूकम्पले तत्कालीन जिल्ला अस्पतालसहित ४० भन्दा बढी स्वास्थ्य संस्थामा क्षति गरेको थियो। इकाइ (भवन) का अनुसार साउदी फण्डको सहयोगमा महांकाल, तालामाराङ, भोटेनाम्लाङ, चोकटी र सुनखानी स्वास्थ्य चौकी निर्माण भइरहेका छन्। त्यस्तै नेपाल सरकारकै बजेटमा बाँसवारी, बरुवा र सानोसिरुवारी चौकी एक वर्षदेखि निर्माणाधीन छन्। सरकारकै बजेटमा बन्न लागेका मार्मिङ, घोर्थली, बतासे, र बलेफी–५ स्वास्थ्य केन्द्र भवन पुनर्निर्माणको लागि टेण्डरपछि मूल्यांकन प्रक्रिया अघि बढाइएको छ।

भारतकै सहयोग रहेको अत्तरपुर र नेपाल सरकारकै स्रोतबाट बन्ने पाँग्रेटार स्वास्थ्य चौकी बोलपत्र आह्वान प्रक्रियामा रहेको इकाइले जनाएको छ। कार्यालयका अनुसार गाती र बाह्रबिसे स्वास्थ्य केन्द्र बनाउन जग्गा व्यवस्थापनको काम भइरहेको छ। ‘ढिलै भए पनि क्षतिग्रस्त सबै स्वासथ्य संस्था एकसाथ पुनर्निर्माण गर्ने कामको सुरुवात भएको छ,’ इकाइ प्रमुख निरौलाले भने।

प्रकाशित: ७ फाल्गुन २०७७ ०४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App