coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मधेसको लाइफलाइन निर्माणले फेरि पलायो समृद्धिको आशा

पहुँच

राणाकालदेखिकै मधेसको मन जित्ने नारा हो, हुलाकी राजमार्ग निर्माण। यही नारालाई संसदीय र स्थानीय तह निर्वाचनका उम्मेदवारले मजाले भजाए। यो राजमार्गसँग जोडिएको मधेसी जनताको आर्थिक समृद्धिको चुनावी नारा पनि खुबै बिक्यो।

हुलाकी राजमार्गको नाराले मधेसी जनमत आफ्नो पक्षमा पार्न सफल उम्मेदवार सांसद, मेयर, अध्यक्ष बने। उनीहरूको जीवनशैली फेरियो तर मधेसी जनताको जीवनशैली फेरिएन। हुलाकी राजमार्गसँग जीवन जोडिएका दूरदराजका जनताको जीवनशैली भने उस्तै रह्यो, भरोसा र आक्रोश मिश्रित।

पूर्व–पश्चिम हुलाकी सडक ९ सय ७५ किमि र उत्तर–दक्षिण जोडिने सहायक सडकसहित १ हजार ७ सय ९२ किमि सडक स्तरोन्नतिका लागि ४७ अर्ब २४ करोड रूपैयाँ बजेट विनियोजन गरेर सुरुवात भयो। तर सडक निर्माणको काम भनेजस्तो गतिमा हुन सकेन। जसकारण देहातका जनता सुक्खामा धुलाम्य र बर्खामा हिलाम्य यात्रा गर्न विवश बनिरहे।

हुलाकी राजमार्गअन्तर्गत कमलादेखि बलान नदीसम्मको किलोमिटर सडक १ अर्ब २० करोड रूपैयाँमा बनाउन ठेक्का लागे पनि तोकिएको महिने सीमा पूरा भइसकेको छ। तर काम सम्पन्न हुन सकेको छैन।  

कमलादेखि बलान नदीसम्म सिरहाको ३० किलोमिटर हुलाकी राजमार्ग निर्माणका लागि स्वछन्द रोशन महादेव खिम्ती जेभीले ठेक्का लिएको लामो समय भएको छ। ११ मिटर चौडा यो हुलाकी राजमार्ग निर्माणका लागि उक्त कम्पनीले २४ डिसेम्बर २०१७ मा सम्झौता गरेको थियो। १ अर्ब २० करोड २० लाख रूपैयाँमा करिब ३० किमि हुलाकी राजमार्ग निर्माणका लागि तोकिएको ३६ महिने समय पूरा भएको पनि धेरै भइसकेको छ। तर काम सम्पन्न हुन सकेको छैन। सरकारले २०७८ असार मसान्तसम्म काम पूरा गर्नेगरी समय थप गरेर सम्झौता गरेको हुलाकी सडक योजनाका इन्जिनियर जयनाथ यादवले बताए।

अहिलेसम्म यो सडकको बेस निर्माणको काम लगभग ९० प्रतिशत सकिएको छ। सिरहाको ३० किलोमिटरमध्ये २० किलोमिटर कालोपत्रे वैशाखसम्म सम्पन्न गरिसक्ने गरी काम भइरहेको इन्जिनियर यादवले बताए। लकडाउन र चिसोका कारण अलिक ढिला भएको अवश्य हो। तर असारसम्म सिरहाको हुलाकी सडकको ३० किलोमिटर कालोपत्रे सम्पन्न भइसक्नेछ, पुलहरू पनि बनिसक्नेछन्। कमला र बलान नदीको पुल निर्माण असारअगावै सम्पन्न भइसक्ने इन्जिनियर यादवको दाबी छ। ‘सडक कालोपत्रे र पुल निर्माण सम्पन्न गरी असारसम्म ठेकेदार कम्पनीले हामीलाई जिम्मा लगाउनैपर्छ,’ उनले भने, ‘असारसम्म जसरी पनि सडक ढुक्कै खुल्छ।’

यादवका अनुसार हुलाकी सडकलाई हुलाकी राजमार्गको स्वरूपमा देख्ने यस भेगका जनताको सपना चाँडै पूरा हुँदै छ। ‘अब हुलाकी सडक पिच हुने सपना साकार होला जस्तो छ,’ बरियारपट्टीका ८० वर्षीय बिल्टु यादवले भने।ु यादवको हुलाकी सडक पिच भएको देख्ने सपना ७ दशकदेखिको हो।

२०७६ चैत ६ मा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले हुलाकी राजमार्गको बरियारपट्टी खण्डमा शिलान्यास गर्दै अब यो राजमार्ग बनाएरै छाड्ने वाचा गरेका थिए। खासमा यो राजमार्ग राणाकालदेखि पटकपटक शिलान्यास हुँदै सेलाउँदै गरेको बताइन्छ। राणाशासक जंगबहादुरले हुलाकी मार्ग निर्माणको थालनी गरेका थिए भने जुद्धशमशेर, पदम शमशेर हुँदै विभिन्न कालखण्डमा पटकपटक शिलान्यास पनि भएको बताइन्छ। शिलान्यास हुने, निर्माणको थालनी हुने तर बीचमै निर्माण रोकिने विगतको इतिहासले यस भेगका जनता अन्योलमा पर्नु स्वाभाविक नै छ। ‘तराई–मधेसको विकासको मेरुदण्ड मानिने बहुचर्चित हुलाकी राजमार्गको शिलान्यास हुँदा दूरदराजका जनतामा उत्साह जगाउँथ्यो,’ बरियारपट्टीका ८० वर्षीय लक्ष्मी यादवले भने, ‘यो राजमार्ग निर्माणले सिरहाका जनताको मात्र नभई मधेसकै जनताको आर्थिक समृद्धि हुने आशा पलाएको छ।’

‘बुवाहरूले राणाकालमै हुलाकी सडक शिलान्यास भएर बन्न सुरु भएको सुनाउँथे,’ स्थानीय गंगाप्रासाद यादव भन्छन्, ‘हामीले सुरुमा देखेको हुलाकी सडक अहिलेको भन्दा धेरै चौडा थियो। पहिला सडकछेउछाउ बस्ती थिएन, अहिले बस्तीले सडक ढाकेको छ। हामीले थाहा पाउन्जेल सडकको ठाउँठाउँमा खाल्डो भइसकेको थियो।’ उनका अनुसार पारि धान बोकेर जाने एउटै साधन बयलगाडा थियो। सडकमा परेका खाल्डाले हिँडाउनै कठिन हुन्थ्यो। ‘यहाँबाट भारतीय बजार दरभंगा, मधुवनीलगायत सहर धान बिक्री गर्न लैजान्थ्यौं,’ स्थानीय बिल्टु यादवले विगत सम्झिए, ‘उताबाट नुन, तेल, लत्ताकपडा लिएर आउँथ्यौं।’

चल्तीको यो सडक विस्तारै बिरानो बन्दै गयो। योभन्दा माथि १८ किमि उत्तरबाट राजमार्ग बन्न थालेपछि यो सडकमा चहलपहल घट्न थाल्यो, बिस्तारै जीर्ण बन्न थाल्यो। राजमार्ग चल्तीमा आएपछि यो सडक ओझेलमा प¥यो। पछि बयलगाडा हिँडाउनसमेत असहज भयो। पूर्व–पश्चिम राजमार्ग बनेपछि यो सडकको दुर्दशा सुरु भएको हुलाकी सडकआसपासका स्थानीय बताउँछन्। राजमार्ग बनेपछि यो सडक राज्यको नजरमा पछि प¥यो,’ औरही गाउँपालिकाका वीरेन्द्र शर्मा भन्छन्, ‘सडकसँगै जोडिएको यो क्षेत्र नै पछि पर्‍यो।’ ओरालो लाग्दै गएको यस क्षेत्रलाई उकास्न राज्यले त्यसपछि कहिल्यै वास्ता नगरेको उनको गुनासो छ।

यो सडक जीर्ण हुँदै चहलपहल घट्न थालेपछि बस्ती र बजार पनि उत्तर (पूर्व–पश्चिम राजमार्ग) छेउ विस्तार हुन थाल्यो। दक्षिण (हुलाकी छेउ)का बासिन्दा उत्तर सरेपछि व्यापार–व्यवसायसमेत उत्तरतिरै तानिँदै गयो। बिस्तारै राजमार्गछेउछाउ गुलजार हुँदै गयो र हुलाकीछेउका बजार गाउँ उराठलाग्दा बने। तर भारतीय सीमासँग नजिक रहेकाले यस क्षेत्रको रौनक फेरि फर्किनेमा यस भेगका स्थानीय आशावादी छन्। ‘हुलाकी राजमार्ग निर्माणले पूर्णता पायो भने फेरि यो क्षेत्र गुलजार हुन्छ,’ स्थानीय राजेन्द्र यादवले भने, ‘सीमासँग जोडिएको यो क्षेत्रमा समृद्धिको सुरुवात हुन्छ।’ यस क्षेत्रमा उत्पादित अन्न विभिन्न बजारसम्म सहजै पुर्‍याउन सकिन्छ।

हुलाकी सडकको सुरुवात

पूर्व–पश्चिम राजमार्ग नबन्दै (राणाकालीन समयदेखि) चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिँड्ने छोटो बाटो भएकाले यसलाई हुलाकी मार्ग नाम दिइएको हो। तराई–मधेसका जिल्ला जोड्ने यो पहुँचमार्ग पूर्व–पश्चिम नौ सय ७५ किमि फैलिएको छ। यो सडकसँगै पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८ सय १७ किमिका ३२ वटा सहायक राजमार्ग छन्, जसले गर्दा हुलाकी राजमार्गको लम्बाइ १ हजार ७ सय ९२ किमि पुगेको छ।

हुलाकी राजमार्ग मधेसको द्रुत सम्पर्क मार्ग हो। जसले मधेसी जनताको आर्थिक, सांस्कृतिक पक्षलाई मात्र बलियो बनाउँदैन, समग्र मधेसलाई समृद्धिको बाटोमा लैजाने बताउँछन् सिरहाका बुद्धिजीवी किशोरी यादव। ‘भारतीय सीमासँग नजिक रहेकाले पूर्णता पायो भने यो क्षेत्र गुलजार हुनेछ।’ नेपालको कुल क्षेत्रफलको १७ प्रतिशत भू–भाग ओगटेको तराई–मधेसलाई अन्नको भण्डार पनि मानिन्छ। जहाँको उत्पादनले मुलुकलाई पाल्न सक्छ भनिन्छ। तर मधेसको मेरुदण्ड हुलाकी राजमार्ग निर्माणमा राज्यको बेवास्ताले मधेसलाई मात्र नभई देशलाई नै घाटा भइरहेको यस क्षेत्रका बुद्धिजीवी बताउँछन्। तराई–मधेसमा ५५ प्रतिशत खेतीयोग्य भूमि छ। ६० प्रतिशतभन्दा बढी उद्योग, कलकारखाना, वनजंगल र विभिन्न सांस्कृतिक धरोहर यसै क्षेत्रमा छन्। स्रोत, साधन र सुगमता प्रचुर भए पनि यो क्षेत्रका बासिन्दा (मधेसी) मानव विकास सूचकांकमा पछाडि (गरिब) छन्।

पूर्व–पश्चिम राजमार्गसँग हुलाकी राजमार्ग र यी राजमार्गसँग देहातलाई जोड्ने सहायक मार्ग निर्माण गर्नसके मधेसमा अकल्पनीय आर्थिक वृद्धि, समुन्नति र विकासले ग्रामीणजनको जीवनमा अभूतपूर्व परिवर्तन सम्भव रहेको प्रदेश २ का सांसद जगतप्रसाद यादव बताउँछन्।

प्रकाशित: ५ फाल्गुन २०७७ ०४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App