६ कार्तिक २०७८ शनिबार
समाज

चौरासी वर्ष काटेकी उर्जाशील आमाको कथा

केही समयअघि मैले सामाजिक सञ्जालमा त्रियासी वर्षीया एउटी 'तन्नेरी' आमाको बारेमा जान्ने मौका पाएँ। तुरुन्त ती आमासँग भेट्ने निधो गरेँ। फोन गरेर भेट्ने समय मागेँ। 

कोरोनाको कारण झन्डै पाँच दिनपछि मात्र भेट्ने समयको निधो भयो। समय पाउनासाथ म र मेरो सहकर्मी आमालाई भेट्न हिँड्यौं। उनले दिएको लोकेसन अनुसार कालिकास्थान हुँदै मैतीदेवी मन्दिरतिर लाग्यौं। जाँदै गर्दा एउटा सानो गल्लीभित्र पस्यौं। त्यहींनिर एउटा घरको भित्तामा ‘भोटुः इन्दिरा समाज कल्याण संस्था’ निलो रंगको बोर्ड थियो। ति आमाले हामीलाई त्यही घरभित्र पस्न भनेकी थिइन्। घरभित्र पस्दा घरमा आरामले बस्नुपर्ने उमेरमा ती वृद्धा आमा सात/आठ जना महिलालाई भोटो सिउन सिकाउँदै थिइन्। 

झट्ट हेर्दा उमेरले डाँडो काटिसकेको भए पनि आमामा सोह्र बर्से ठिटीजस्तै फुर्ती देखिन्थ्यो। उमेर चौरासी वर्ष काटिसकेको भए पनि वृद्धामा प्रशस्तै जोसजाँगर देखिन्थ्यो। 

झट्ट हेर्दा उमेरले डाँडो काटिसकेको भए पनि आमामा सोह्र बर्से ठिटीजस्तै फुर्ती देखिन्थ्यो। उमेर चौरासी वर्ष काटिसकेको भए पनि वृद्धामा प्रशस्तै जोसजाँगर देखिन्थ्यो। यो उमेरमा उत्तिकै पनि खटिँदै आएकी आमाले बयालीस वर्षअघि यो ‘भोटुः इन्दिरा समाज कल्याण संस्था’ नामक संस्था खोलेकी हुन्। आफ्नै इन्दिरा सापकोटा नाम दिएर उनले यो संस्थालाई मासिक २ लाख बढी आम्दानी गर्ने व्यापार बनाएकी छन्। त्यति मात्र होइन, उनले यो संस्थामा १७ जना दिदीबहिनीलाई रोजगार पनि दिलाएकी छन्। 

विसं. १९९४ मा काठमाडौंकै महाबौद्धमा जन्मिएकी हुन् इन्दिरा। उन्नाइस वर्षमा चार सन्तानकी आमा बनेकी उनको १३ वर्षको हुँदा बिहे भयो। २०३२ सालमा तृतीय श्रेणीको अधिकृत रहेका श्रीमानको कमाइ पाँच सय रुपैयाँ थियो। सो कमाइले नौं जनाको परिवार पालिन्थ्यो। छोराछोरीलाई उच्च शिक्षा पढाउन परेको आर्थिक संकटले इन्दिरालाई आम्दानीको स्रोतबारे सोच्न बाध्य बनायो।

कोठामा त्यसै बस्दा आफैले जानेको सीपले झक्झकायो इन्दिरालाई। तीन महिने कोर्स गरेकी उनले कपडा सिलाउने योजना बनाइन्। उनी बसिरहेकै स्थानबाट जुरुक्क उठेर बजार गइन्। त्यसताका १२ रुपैयाँको बाहिरी र ६ रुपैयाँको भित्री कपडा किनेर ल्याएकी उनले एक जोर कपडा तयार पारिन्। त्यो एकजोर कपडा बजारमा बेच्न जाँदा छत्तीस रुपैयाँ आम्दानी भयो। अठार रुपैयाँ खर्चेर छत्तीस रुपैयाँ आम्दानी भएको देखेर इन्दिरा दंग परिन्। त्यसबेलाको समयमा त्यो छत्तीस रुपैयाँ धेरै भएको देखेपछि आफ्नो सीपलाई राम्रो आम्दानीको स्रोत बनाउने इन्दिराले योजना बनाइन्। 

उनले ‘भोटुः इन्दिरा समाज कल्याण संस्था’ लाई बयालीस वर्षदेखि निरन्तर चलाउँदै आएकी छन्। अहिले उनले आफैँजस्तै पीडा झेलेका महिलाहरूका लागि स्वरोजगार दिन सफल छन्।

'मैले काम गरेर पैसा कमाएँ भनेर समाजले मलाई हेला गर्यो र परिवारले पनि राम्रो रूपमा लिएन।’ 

यसरी उद्यमशीलतामा सक्रिय उनले नेपालका सयौँमहिलालाई उद्यममा लाग्न हौस्याएकी छन्। नवजात शिशु र सुत्केरी आमाका लागि परम्परागत नेपाली लुगा बनाउने र अरूलाई सीप पनि सिकाउने गर्छिन् उनी।

सिलाइबाट पनि राम्रो नाफा कमाउन सकिने रहेछ भनेर उनले आफ्ना गहना बेचेर पचास हजार जम्मा गरिन्। त्यही पैसाले ‘भोटुः इन्दिरा समाज कल्याण संस्था’ दर्ता गरी सञ्चालनमा ल्याइन् र सुरु भयो उनको उद्यमी जीवन। इन्दिराले सञ्चालन गरेको भोटु इन्दिरा समाज कल्याण संस्थाबाट आड ब्रान्डका कपडा निर्माण हुन्छ। कति चेलीहरू सीप सिकेर स्वरोजगार भएका छन् भने कति उनको संस्थामै काम गर्छन्। दिनहुँ आउने कपडाको अर्डर पूरा गर्न भ्याईनभ्याई हुन्छ उनलाई।

समाजको अपहेलना

इन्दिराको जीवनमा आर्थिक संकट जति कम हुँदै गयो त्यति समाजबाट अपहेलित पनि बन्दै गइन्। अहिले त महिलाहरूलाई रोजगार गर्दा नकारात्मक रूपमा हेरिन्छ भने त्योबेला इन्दिराले झन् धेरै अपहेलना खेप्नुपरेको थियो। उनी आफैंलाई ऊबेला काम गरेकै कारण घरपरिवार र समाजबाट हेय दृष्टिले हेरेको सम्झँदै भन्छिन्, 'मैले काम गरेर पैसा कमाएँ भनेर समाजले मलाई हेला गर्यो र परिवारले पनि राम्रो रूपमा लिएन।’ उनले भनिन्, त्यतिबेला महिलाले काम गरेको राम्रो मान्दैन थिए। हेर बाहिर गएर काम गरेकी भन्दै कुरा काट्नेहरू धेरै भेटिए।’

सानैदेखि अलि विद्रोही स्वभावकी उनले समाजमा जति कुरा काटे पनि आफ्नो काम कहिल्यै छाडिनन्। त्यसको परिणाम हो, ‘भोटुः इन्दिरा समाज कल्याण संस्था’। उनी सधैं अन्याय र अत्याचारविरुद्ध उभिरहिन्। उनी हरेक दिन प्रसूति गृहमा कपडा बेच्न जान्थिन्। त्यहाँका कर्मचारी, डाक्टर, नर्सहरूले बिरामीलाई गरेको व्यवहार उनले देखेकी थिइन्। उनी बिरामीमाथिको अपमान देख्न नसकेर आवाज उठाउँदा उक्त ठाउँ नै छाड्नु परेको अनुभव उनले सुनाइन्।

कपडामा बनाइने डिजाइन पनि आफै दिने इन्दिरा दिनहुँ भोटुमा काम गरेर उनी आड तयारी पोसाक केन्द्र पसल जान्छिन्। कपडा लिन असन इन्द्रचोकका गल्लीगल्ली आफैँ जाने गर्छिन्। अरूले राम्रो कपडा छान्न जान्दैनन् कि भन्ने लाग्छ उनलाई। त्यही भएर आफै दौडिने गरेको उनले बताइन्। यीबाहेक विभिन्न संघसंस्थाहरूले कार्यक्रमहरूमा बोलाउँछन् त्यहाँ पनि पुग्छिन् उनी।

मेरो सीप राष्ट्रका लागि भन्दै इन्दिरा काम गर्दै छन्।

परिवारको छुटेको साथ

सन्तान हुँदाहुँदा पनि चौरासी वर्षकी उनी एक्लै बस्छिन्। सम्पन्न परिवारमा जन्मेकी उनी आफ्नै कमाइले बाँचेकी छन्। उनले आजसम्म एक पैसाका लागि कसैसँग हात थाप्नुपरेको छैन। बरु आफूले नै दिने गरेकी छन्। 

२०४२ सालमा श्रीमान् गुमाएकी इन्दिराले तीन भाइ छोरा र एक छोरीको विवाह आफैँ गरिदिएकी हुन्। दुःख गरेर छोराछोरीको विवाह त गरिदिइन् तर त्यस दिनदेखि आजसम्म छोराछोरीको माया र साथ उनले पाउन भने सकिनन्। उनी नितान्त एक्लै भएर बाँच्नुपरेको छ। 

उनी मधुमेह रोगी  हुन्। तैपनि एकदमै फुर्तिली छिन्।  उनी बिहान आफैँ खाना पकाएर खान्छिन्। दिनभरि काम गर्छिन् र साँझ थाकेर घर पुग्छिन्। फेरि आफ्ना लागि रोटी पकाउँछिन् र खान्छिन्। 

उनले सन्तानबाट अपहेलना र पीडाबाहेक केही पाइनन्। उनी पीडा सम्झँदै भन्छिन्, ‘सबै छोराछोरी आआफ्नै संसारमा रमाए। मैले छोरोछोरीबाट कहिल्यै माया पाइनँ। तैपनि म भगवानसँग प्रार्थना गर्छु मैले कहिले पनि कसैको पैसा खान नपरोस् र बिरामी परेको कसैले थाहा नपाओस्।’

उनी भावुक हुँदै भन्छिन्, 'बुढेसकालमा कुनचाहिँ आमाबुबालाई आफ्ना सन्तानसँग बस्न मन लाग्दैन र! मेरा सन्तानले आमा नभने पनि मलाई अहिलेको समाजले भगवान् मान्छन्। आदरसत्कार तथा मानसम्मान गर्छन्।’ 

अहिले उनलाई एक मात्र चिन्ता छ, आफूले खोलेको संस्था र सीपलाई कसले व्यवस्थापन गर्देला। आफ्नो शेषपछि आफूले विश्वास गरेको मान्छेलाई यो संस्था जिम्मा लगाउन चाहना भए पनि कानुनले नदिएकोमा भने उनको ठूलो चिन्ता छ।

अंश दिने कानुन खारेज गर

उनले ज्येष्ठ नागरिक समाजमा पनि काम गरेकी छन्। जता जाँदा पनि उनी सार्वजनिक यातायात चढ्छिन्। ज्येष्ठ नागरिकले पाएको अधिकारहरूको उपयोग गर्छिन् र अरूलाई पनि आफ्नो अधिकारको उपयोग गर्न सिकाउँछिन्।

नेपालमा आफ्ना सन्तानलाई सम्पत्ति दिने कानुन छ। सम्पत्ति पाइसकेपछि आमाबुबालाई गर्ने व्यवहार दुव्र्यवहारमा परिणत भएको उनी बताउँछिन्। ज्येष्ठ नागरिकले आफ्नो ज्यान हुँदासम्म छोराछोरीलाई सम्पति नदिन सुझाउँछिन् उनी। उनी भन्छिन्, ‘सन्तानलाई हामीले आफ्नो सम्पत्ति त दियौं। तर, त्यहीं सन्तानले हामीलाई एकछाक भात खुवाउन पनि हात कमाउँछन्। आफू बाँचुन्जेलसम्म कसैलाई पनि सम्पत्ति दिन हुँदोरहेनछ, नत्र सन्तानले नर्कको बाटो देखाउँछन्।’ 

उनी काठमाडौँ क्षेत्र नं. १ बाट गत प्रतिनिधिसभा निर्वाचनमा लड्ने ज्येष्ठ नागरिक पनि हुन्। ‘देशभक्त पर्यावरणीय सामाजिक मोर्चा’का लागि उनी मैदानमा उत्रेकी थिइन्।

नेपालको राजनीति देखेर इन्दिरालाई कत्ति पनि चित्त बुझेको छैन। अहिले नेपालको राजनीतिक अवस्था ज्यादै नराम्रो भएको उनले सुनाइन्। ‘पहिलेका नेता देशको चिन्ता गर्थे ।जनताको काम गर्थे तर अहिलेका नेता आफ्नै पेटको चिन्ता गर्छन्।  आफ्नै लागि मरिहत्ते गर्दै छन्। त्यसैले मलाई अहिलेका कोही नेता पनि मन पर्दैन।’

मेरो सीप राष्ट्रका लागि भन्दै इन्दिरा काम गर्दै छन्।

‘हामी बनाउँ, हामी बनौं र देशलाई समृद्धितिर लैजाउँ’ भन्ने मूलमन्त्र जप्दै इन्दिराले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेकी छन्। उनले आफ्नो संस्थामा आजसम्म विदेशी कपडाको प्रयोग नगरेको पनि दाबी गर्छिन्। सकेसम्म आफ्नै नेपाली कपडाहरूलाई बजारमा ल्याउनुपर्छ भन्छिन् उनी।

साना नानीबाबु पढ्ने स्कुलको व्यवस्थापनमा इन्दिरा

इन्दिराले लुगा सिलाउने मात्र होइन, उनले नानीबाबु पढ्ने स्कुलको व्यवस्थापनमा समेत सक्रिय सक्रिय हुँदै आएकी छन्।

साना नानीबाबुहरू शिक्षाबाट वञ्चित भएको देखेर इन्दिराले २०५९ सालदेखि गोकणेश्वर वडा नं. ३ मा रहेको ‘ग्राम सुधार आधारभूत विद्यालय’ उकास्न अगाडि बढिन्। राजधानीबाट नजिकै रहे पनि शिक्षाको अवस्था भने एकदमै दयनीय देख्दा निकै दुःखी छिन् इन्दिरा।

२०५८ सालतिर इन्दिरा कुल देवताको पूजा गर्न गोकर्णेश्वर गएकी थिइन्। आफ्नो संस्थालाई अलि व्यवस्थित र ठूलो बनाउन ठाउँ खोज्दै गरेकी उनलाई त्यहीका एक स्थानीयले स्कुल भएको ठाउँ देखाए। स्कुल चल्न नसकेर बन्द गर्ने सूचना टाँसेको रहेछ। इन्दिरालाई त्यो कुराले घच्घचायो। जग्गाजमिन राम्रो भएको ठाउँमा स्कुल  किन नचलाउने भन्ने सोच उनमा आयो। एकदमै सामन्ती सोच राख्ने परिवारका बालबच्चाहरू पढ्ने उक्त विद्यालयलाई राम्रो बनाउनेतर्फ लागिन्। उनी भन्छिन्, ‘त्यहाँका अभिभावकहरू दिनभरि काम गरेर ल्याएको पैसा राति रक्सी खाएर सक्दा रहेछन्। अनि उनीहरू आफ्ना छोराछोरीको पढाइ खर्च दिन नसक्ने भएर नपढाएका रहेछन्।’

निःशुल्क पढाउन पाए बच्चा पढ्न पठाउने गाउँलेको कुरा सुनेपछि ३ कक्षासम्म पढाइदिने जिम्मा लिँदै स्कुल पुन सञ्चालन गरिन् उनले। विभिन्न सरकारी तथा अन्य क्षेत्रसँग सरसहयोग मागिन्। जिल्ला शिक्षामा गएर हारगुहार गरी शिक्षकको माग पनि गरिन्।

२०६३ सालमा भारतीय राजदूतावासले उक्त स्कुलको भवन बनाउन सहयोग गरेको थियो। इन्दिराले स्कुलको व्यवस्थापन सम्हालेर चन्दा उठाइन् र नानीबाबुहरूलाई पढाउन सफल भइन्। अहिले स्कुलमा अढाई सय जति विद्यार्थी भएको उनले बताइन्। आफ्नो सकेसम्म स्कुललाई गुणस्तरीय बनाउन लागिपरेकी छन् इन्दिरा। 

उनले सरकारले सार्वजनिक शिक्षाको नाममा पैसा उठाउने र खाने भाँडो मात्र बनाएको आरोप लगाइन्। उनले भनिन्, सार्वजनिक शिक्षाको नाममा पैसा उठाउने सरकारले स्कुललाई आवश्यकताअनुसारको शिक्षक दिएको छैन। सरकारले विषयगत शिक्षक नदिँदा पढाइ खस्किदै गएको छ। 

अबको योजना

कामको सुरुआत गर्दा इन्दिराले आफ्नो गरगहना बेचेर ५० हजार रुपैयाँ जुटाएको र त्यति लगानी गरेपछि आजसम्म आफ्नो व्यक्तिगत लगानी गर्न परेको छैन। संस्था र स्कुल दुवैलाई चलाएकी उनको अबको योजना संस्थालाई निरन्तरता दिनु हो। उनलाई थुप्रै संघसंस्थाले सम्मान पनि गरेको छ। अब यो संस्थालाई आफ्नै भवनमा देख्ने उनको अन्तिम इच्छा भएको उनले बताइन्। 

इन्दिराको भोगाइमा जिन्दगी

जिन्दगी भनेको केही होइन रहेनछ। यो त दुःख र पीडाको भाँडो मात्र रहेछ। जति उमेर बढ्दै जान्छ, उति पीडा बढ्दै जान्छ। उनी भन्छिन्, ‘उमेर बढ्दै गएपछि सन्तानले हेला गर्ने र हीनताबोध बढ्दै जाने रहेछ।’ उनी थप्छिन्, ‘म पो आफै कमाएर खाने भएँ। कति ज्येष्ठ नागरिक काम गर्न सक्नु हुन्न। उहाँहरूलाई जीवन धान्न नै निकै गाह्रो हुन्छ। सन्तान भनेका त यस्तै रहेछन्, सम्पत्ति भए मात्र माया गर्ने। 

एक्लो ज्यान पाल्दै आएकी इन्दिरालाई अहिले आफ्नो जग्गाका लागि पनि लड्नुपरेको छ।’ आफ्नो जग्गामा पनि घर बनाउन नपाएको उनले गुनासो गरिन्। काम सानो होस् या ठूलो काम गर्न भने छोड्नु हुँदैन भन्छिन्, इन्दिरा।

प्रकाशित: ३० माघ २०७७ १४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App