६ वैशाख २०८१ बिहीबार
समाज

पहिलो दिन उपत्यकामा आधाभन्दा कम पत्रकारले मात्र खोप लगाए

सोमबारदेखि सुरु भएको कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियानको पहिलो दिन २ सय २६ पत्रकारले मात्र खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। कार्यालयका अनुसार उपत्यकामा चारवटै खोप केन्द्रमा गरी २ हजार जनालाई खोप लगाउने लक्ष्य थियो। कूटतीतिक नियोगका कोही पनि खोप लगाउन नआएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए। नियोगलाई खबर नपुगेकोले नआएको हुनसक्ने खड्गाले बताए।

दोस्रो चरणको अभियानमा अग्रपंक्तिमा काम गर्ने पत्रकार, युएन एजेन्सी, सबै देशका राजदूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिइने कोभिड १९ विरुद्धको खोप दिँदैछ।  

विदेशी कूटनीतिक नियोग तथा कर्मचारीलाई जानकारी दिने जिम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई दिएकोमा खबर नपाएको हुनसक्ने खड्काको अनुमान छ। ‘सबैलाई खबर दिने जिम्मा परराष्ट्र मन्त्रालयको थियो, सूचना पुगेको नपुगेको यकिन छैन,’ उनले भने।  

स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार विदेशी राजदूतावास तथा कूटनीतिक नियोगलाई कार्यभार अनुसारको पत्राचार हुने प्रक्रिया बाँकी रहेकोले खोपको पहिलो दिन लगाउन नसकेको बताए। ‘हामीले अन्य माध्यमबाट जानकारी दियौं, कार्यभार अनुसारको जानकारी प्रक्रिया अपुग भएर पहिलो दिन नलगाइएको हो, भोलिदेखि लगाउनुहुन्छ,’ प्रवक्ता अधिकारीले सोमबार साँझ नागरिकसित भने।  

परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्र कूटनीतिक नियोगलाई खोप दिने निर्णयसम्बन्धी जानकारी दिइएको जनाएको छ। ‘हामी कहाँबाट सबै प्रक्रिया पूरा भएर आज माात्र पत्र गइरहेको छ, थप कुरा मलाई थाहा छैन,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सोमबार साँझ नागरिकसित भनिन्।  

पत्रकारले पनि ५० प्रतिशतभन्दा कमले मात्र खोप लिए। लक्षित संख्याअनुसार पत्रकारले खोप नलिनुको पछि खोप लिने प्रक्रियाको परिचयपत्रमा कडाइ भएको हुनसक्ने जनस्वास्थ्य प्रमुख अधिकारीले बताए। योसहित कतिपय खोप लगाउन डराएको कारणले हुन सक्ने बताए। ‘मुख्य कुरा सूचना विभागको प्रेस पासको मात्र मान्यता दिँदा भनेजति आउन नसकेको हुनसक्छ,’ उनले भने। सबै पत्रकारलाई समेट्नेगरी मापदण्ड फराकिलो बनाउने बारेमा छलफल भइरहेको उनले जानकारी दिए।  

दोस्रो चरणमा सरकारले थप ३ लाख जनालाई खोप दिने लक्ष्य लिएको छ। पहिलो र दोस्रो चरणसहित करिब ५ लाख जनालाई खोप दिने सरकारको लक्ष्य रहेको कोभिडविरुद्धको खोप संयोजक डा. श्यामराज उप्रेतीले बताए। पहिलो चरणमा सरकारले १ लाख ८७ हजार अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीले खोप लिइसकेका छन्। पहिलो दिन उपत्यकाभित्रका खोप केन्द्रबाट मात्र खोप दिइएको र उपत्यका बाहिरको हकमा अर्को निर्णयले खोेपको प्राथमिकता तोक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

राजधानीमा ४ वटा खोप केन्द्रहरू सिभिल अस्पताल, टिचिङ अस्पताल महाराजगन्ज, गंगालाल हृदय केन्द्र र पाटन अस्पतालबाट खोप दिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। पत्रकारको लागि राजधानीको सिभिल अस्पताल, संयुक्त राष्ट्रसंघीय कर्मचारीहरूको लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन, राजदूतावास र कूटनीतिक नियोगका कर्मचारीका लागि त्रिवि शिक्षण अस्पताल र गंगालाल हृदय केन्द्रलाई केन्द्र तोकिएको छ। उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको जिल्ला जनस्वास्थ्य कार्यालयमा खोप केन्द्र तोकिएको छ।

प्रकाशित: २७ माघ २०७७ ०१:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App