८ वैशाख २०८१ शनिबार
समाज

कोटेश्वर–जडीबुटी जामः वैकल्पिकमा मनोहरा करिडोर तयार

पहुँच

मुलुककै राजधानी भए पनि काठमाडौंमा सवारीसाधन घन्टौं जाममा पर्नु अनौठो विषय रहेन । सरकारले जामलाई व्यवस्थित गर्न अनेकौं उपाय नरचेको पनि होइन । राजधानीका सडक विगतका तुलनामा केही फराकिला पनि बनेकै हुन् । नियमकानुन पनि कडा पारिएका छन् । तर जाम घट्नुको साटो बढिरहेको छ । राजधानीमा सवारीको जाम धेरै हुनुमा सबैभन्दा ठूलो कारण चोकचोकको व्यवस्थापन नहुनु नै हो । विकसित मुलुकहरूले चोकचोकमा ओभरहेड ब्रिज बनाएर सवारीसाधनलाई जाम हुन दिँदैनन् । कतै बाइपासको व्यवस्था हुन्छ भने कतै अन्डरपास बनाइएको हुन्छ । तर नेपालमा अहिलेसम्म एउटा पनि ओभरहेड ब्रिज छैन । राजधानीको कलंकीमा एउटा मात्र अन्डरपास बनाइएको छ ।

कलंकीपछि राजधानीको जाम बढी हुने क्षेत्र कोटेश्वरलाई कसरी व्यवस्थापन गर्ने भन्ने सोचमा सरकार रहेको देखिन्छ । दुई वर्षदेखिका वार्षिक बजेटमा कोटेश्वर चोकको सवारीसाधन व्यवस्थित गर्ने कार्यक्रम राखिएका छन् । यही कारण विदेशी केही संस्थाले यसबारे काम सुरु गरेका छन् । सरकारले यसअघि नै जडीबुटी–कोटेश्वरको जाम कम गर्ने उद्देश्यले वैकल्पिक मनोहरा करिडोरको निर्माण सुरु गरेको थियो । अहिले निर्माण कार्य सकिएको छ । अब लोकन्थली–नरेफाँट जोड्ने बेलिब्रिजदेखि बालकुमारी पुलसम्मको वैकल्पिक सडक बनेसँगे कोटेश्वर–जडीबुटी खण्डमा सवारी चाप कम भएको छ ।

मनहरा, वाग्मती पुल, धोबीखोलाको पुल र विष्णुमती करिडोर सञ्चालनमा ल्याउन सके मात्रै उपत्यकाको १० प्रतिशत ट्राफिक जाम कम गर्न सकिने जानकार बताउँछन् ।

नरेफाँटदेखि–बालकुमारी पुलतर्फ र ललितपुरबाट भक्तपुरतर्फ जाने सवारीसाधनले अब कोटेश्वर र जडीबुटीको जामको सामना नगईकनै आफ्नो गन्तव्यमा जान सक्ने भएका छन् ।

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपाली मनहरा करिडोर निर्माणसम्पन्न भएसँगै कोटेश्वर–जडीबुटी सडकखण्डको चाप केही हदसम्म कमी हुने बताउँछन् । ‘यो दुई लेनको वैकल्पिक सडक बनेसँगै अब कोटेश्वर जडीबुटीको जाम केही घट्नेछ,’ उनले भने, ‘नरेफाँटदेखि बालकुमारी जाने सवारीसाधनले अब जडीबुटी– कोटेश्वरको जामबिनै यात्रा गर्न सक्नेछन् ।’ यो सडकखण्डको ठेक्का २०७२ असार ३१ मा एसएमएनएस जयबाबा–एलसिएसपिएएल जेभीले १९ करोड १६ लाख रुपैयाँमा पाएको थियो ।

प्रमुख नेपालीले वैकल्पिक सडक तयार भएसँगै सवारीचालकले केही हदसम्म राहत पाएको बताए । यो सडक निर्माण सुरु भएको झन्डै आधा दशकपछि निर्माण सम्पन्न भएको हो । यो सडकखण्डको लम्बाइ करिब १२ सय मिटर रहेको छ । सो सडकखण्डको ठेक्का शंकरमाली/लामा/जयले पाएको थियो । ठेकेदार कम्पनीको ढिलासुस्तीको कारणले यो वैकल्पिक सडकखण्ड तोकिएको समयभन्दा धेरै पछि मात्रै निर्माण सम्पन्न भएको हो ।

सरकारले पछिल्लो समय वाग्मती करिडोर, हनुमन्ते करिडोर, नक्खु, विष्णुमती, मनोहरालगायत नदीको करिडोर निर्माण गरेर उपत्यकाको मुख्य सडकको चाप कम गराउँदै आइराखेको छ । डिभिजन सडक कार्यालयले पेप्सीकोलाबाट आएका सवारीसाधनलाई जडीबुटीको कार्यालयतर्फ मोडेर मनहरा पुलमुनिबाट सीधै बालकुमारीतर्फ पुलमुनिबाट अन्डरपास गरेर सवारीसाधन पास गराउने योजना अघि सारेको छ । डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नेपालीले ५ करोड लागतमा पुलमुनिबाट अन्डरपास निर्माण गर्न लागिएको बताए । ‘मनहरापुल अन्डरपास खोल्नेबित्तिकै धेरै हदसम्म जाम कम हुनेछ,’ उनले भने, ‘यो अन्डरपास एक वर्षभित्रै खोल्नेछौं ।’ त्यसैगरी भक्तपुरतर्फबाट आई पेप्सीकोलातिर जानेलाई पनि पुलमुनिबाट पठाउन सकिन्छ ।

ट्राफिक इन्जिनियर आशिष गजुरेल उपत्यकाका पुललाई मात्र प्रयोग गरेर पनि धेरै हदसम्म ट्राफिक जाम हटाउन सकिने बताउँछन् । उनी पुल मुनिबाट सवारीसाधन गुडाएर अल्पकालीन भए पनि जाम कम गर्नुपर्नेमा जोड दिन्छन् । मनहरा, वाग्मती पुल, धोबीखोलाको पुल र विष्णुमती करिडोर सञ्चालनमा ल्याउन सके मात्रै उपत्यकाको १० प्रतिशत ट्राफिक जाम कम गर्न सकिने जानकारहरू बताउँछन् । ‘करिडोर सञ्चालनमा ल्याउन सके मात्रै धेरै हदसम्म जाम कम गर्न सकिन्थ्यो,’ गजुरेलले भने, ‘सरोकारवालाले तत्कालै करिडोर खोलेर स्थायी रूपमा सञ्चालनमा ल्याउनुपर्नेछ ।’

अरनिको राजमार्गमा जाने अधिकांश सवारीसाधन कोटेश्वर हुँदै छुट्ने गर्छन् । कोटेश्वर चोक अहिले मिनी बसपार्कजस्तै छ । जनकपुर, ओखलढुंगा, सिन्धुलीलगायत पूर्वी जिल्लामा जाने साना सवारीसाधन सडकमा नै रोकेर यात्रु चढाउने गरिन्छ । अर्काेतर्फ कोटेश्वर चोकमा नै बस स्टप रहेको छ । जहाँ लामो दूरीका सवारीसाधन दिनभरजस्तै पार्क गरेर राखिएका हुन्छन् । भक्तपुर, पेप्सीखोलालगायत स्थानमा चल्ने सवारीसाधन सडकमा नै रोकेर यात्रु चढाउने र झार्ने भएकाले पनि चोकमा अत्यधिक जाम भएको हो । ट्राफिक इन्जिनियर गजुरेलका अनुसार कोटेश्वर चोकमा अन्डरपास तथा फ्लाइओभरको विकल्प नभएको बताउँछन् । ‘कोटेश्वर चोकको दीर्घकालीन जामको अन्त्य गर्न अन्डरपास वा फ्लाइओभरको विकल्प छैन,’ उनले भने, ‘अहिले कोटेश्वर चोकमा तीनैतर्फ घुमेको आकाशे पुलको आवश्यकता भइसक्यो ।’

सुरु भयो कोटेश्वर–जडीबुटी तीन लेन सडक विस्तार

सडक डिभिजन कार्यालय काठमाडौंले कोटेश्वर–जडीबुटीमा तीन लेनको सडक विस्तार कार्य सुरु गरेको छ । डिभिजन कार्यालयले यो खण्डको सडक विस्तारका लागि गत पुसमा ठेक्का सम्झौता गरिसकेको छ । डिभिजन प्रमुख नेपालीले यो खण्डको सडक विस्तारका लागि राइटअफ वे क्लियर गर्नेदेखि पर्खाल लगाउने काम भइरहेको बताए । ‘अहिलेसम्म कोटेश्वर जडीबुटी खण्डको ट्र्याक लगभग खाली भइसक्यो,’ उनले भने, ‘अब ठेकेदार कम्पनीले छिट्टै काम थाल्नेछ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पर्खाल सारेसँगै साबिकको विमानस्थलको जग्गामा ट्र्याक खोल्ने काम भइरहेको छ । कोटेश्वर–जडीबुटी तीन लेनको सडक विस्तार गर्ने कामको ठेक्का टुन्डी÷सुसन जेभीले पाएको छ । सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीबीच २०७७ पुस २१ गते सम्झौता भएको थियो ।

कम्पनीले ७ करोड ८१ लाख लागतमा यो सडक निर्माण गर्ने ठेक्का पाएको हो । आगामी असारभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको हो । डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नेपालीले कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दुई लेन र बायाँ एक लेन सडक थप गर्न लागिएको बताए । ‘जापान सरकारको सहयोगमा यो खण्डको सडक चार लेनको निर्माण गरिएको थियो,’ उनले भने, ‘अहिले फेरि तीन लेन थप गर्न लागिएको हो ।’

प्रकाशित: २१ माघ २०७७ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App