निर्माणाधीन घरमा काम गर्दागर्दै लडेर एकजना मजदुरको मृत्यु भएको छ। घर बनाउने क्रममा माघ १० गते लडेर घाइते भई उपचाररत काभ्रेपलाञ्चोक बेथानचोक गाउपालिका ६ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कुण्डोल बस्ने वर्ष ४० का प्रेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ ठिमी कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको निर्माणाधीन पक्की घरको दोस्रो तलामा काम गर्दै अचानक लड्न गई मगर घाइते भएका थिए।
गम्भीर घाइते भएपछि मगरलाई सहकर्मी कामदारसमेतको सहयोगमा तत्कालै उपचारको लागि नजिकैको मध्यपुर अस्पताल ठिमी पुर्याएको थियो। त्यहाँं उपचार हुँदाहुदै बिहीबार राति साढे एघार बजे उपचारको क्रममा मगरको मृत्यु भएको परिसरका सूचना अधिकृत दीपक गिरीले बताए। उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।
प्रकाशित: १६ माघ २०७७ ०५:५५ शुक्रबार