७ वैशाख २०८१ शुक्रबार
समाज

सडकले जोडियो नेपाल–सिक्किम

चवाभन्ज्याङमा भारतको सिक्किमबाट जोडिएको सडक। तस्बिर: नागरिक

भारतको सिक्किम नेपालसँग सडक सम्बन्धले जोडिएको छ। पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती विन्दु मानिएको पाँचथरको चिवाभन्ज्याङमा सिक्किमतर्फबाट सडकको ट्र‍याक जोडिएको हो। नेपालतर्फ सिमानामा सडक भए पनि भारततर्फ थिएन। लामो समयको पर्खाइपछि भारतबाट निर्माण गरिएको सडक चिवाभन्ज्याङमा जोडिएको छ। सडकको ट्र्याक खुलेसँगै गाडी पनि आइपुगेका छन्।

पश्चिम सिक्किमको उत्तरेबजापालको चिवाभन्ज्याङसम्म सडक जोडिएको हो। यो ट्रयाक खुलेसँगै सिक्किमको नेपालसँग सिधा सडक सम्बन्ध स्थापना भएको छ। उत्तरेबाट सोक्पाखा, जरिबुटे, भालुवाले हुदै चिवाभन्ज्याङसम्म सडक आइपुगेको हो। सोक्पाखाबाट चिवाभन्ज्याङसम्मको सडक २५ किलोमिटर लामो छ। ‘यो क्षेत्रका लागि मात्र होइन, सिंगो सिक्किमका लागि यो महत्पूर्ण हो। सिक्किमबाट चिवाभन्ज्याङसम्म गाडी पुगेको दिन हामी पनि पुग्यौं, खुशी मनायौं। यो सिक्किम सरकारको प्राथमिकताको योजना थियो। सिमानाले छुट्याए पनि मैत्रीपूर्ण सम्बन्ध छ।  

वेशभूषा, भाषा तथा संस्कृति धेरै कुरा मिल्छ,’ उत्तरेका मिलन समर्पणले टेलिफोनमा भने, ‘नेपालसँग जोडिएको सिक्किमको यो पहिलो सडक हो। मुख्यमन्त्री प्रेमसिं गोलेले उत्तरेलाई अन्तर्राष्ट्रिय बजार बनाउँछु भन्नुभएको छ। सिक्किम सरकारले प्राथमिकतामा राखेको सडक विभिन्न हिसाबले महत्पूर्ण छ।’ यसअघि सन् २०१९ को डिसेम्बरमै सडक जोडिने भनिएको थियो। वन क्षेत्र छिचोलेर सडक चिवाभन्ज्याङ आइपुगेसँगै भारतीय गाडी पनि आउन थालेका छन्। व्यापारिक र पर्यटकीय हिसाबले पनि यो सडक महत्पूर्ण रहेको बताइन्छ। चिवाभन्ज्याङमा नेपाल–भारत दुवैतर्फका सुरक्षा पोस्ट छन्।

नेपालतर्फ चर्चित मध्यपहाडी लोकमार्गको सडक पुगेको एकदशक पुग्न लाग्दा भारतको सिक्किमबाट पनि यहाँ सडक जोडिएको हो। समुद्री सतहदेखि १० हजार २ सय ९९ फिट उचाइमा रहेको चिवाभन्ज्याङलाई दुई देशको सडकले जोडेको हो। नेपालको ९९ किलोमिटर सीमा सिक्किमसँग जोडिएको छ। ‘दुई देशलाई जोड्ने सडकको महत्व धेरै छ। यसले दुवै देशको पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्ने अपेक्षा छ,’ सिक्किमकापत्रकार प्रकाश अधिकारीले भने। सडकले जोडिएपछि यो नाका सञ्चालनमा ल्याउनुपर्ने माग गर्न थालिएको छ। चिवाभन्ज्याङ भएर ओहोरदोहोर भने बाक्लै हुने गरेको छ। भारततिर सडक नहुँदा लोकमार्गको सुरुवाती विन्दुका बासिन्दा अलमलमा थिए। यो नाका भएर पैदलयात्रा गर्ने प्रशस्त भेटिन्छन्।  

व्यापार व्यवसाय समेत सञ्चाल हुँदै आएको छ। यो सडक कालोपत्रे गर्ने कुरा भएको समपर्णले बताए। नेपालसँग सडक जोडिएसँगै विभिन्न हिसाबले सिमाना क्षेत्रसम्म गाडी सञ्चालन हुने पश्चिम सिक्किमका अर्का बासिन्दा अशोक बस्नेतले बताए। नेपाल तर्फको मध्यपहाडी लोकमार्गको सडकलाई पनि कालोपत्रे गर्ने तयारी अगाडि बढाइएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत थर्पु बजारदेखि चिवाभन्ज्याङसम्म कालोपत्रे गर्न लागिएको छ। थर्पुदेखि ५१ किलोमिटर सडक तीन प्याकेजमा कालोपत्रे गर्ने तयारी भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय फिदिमले जानकारी दिएको छ।दुवैैतर्फ सडक बनेपछि चिवाभन्ज्याङमा थप चहलपहल बढ्ने भएको छ।

ताप्लेजुङको प्रसिद्ध पाथीभारा मन्दिर आउने दर्शनार्थी पनि त्यही बाटो प्रयोग गर्न सक्नेछन्। चिवाभन्ज्याङमा भारततिरबाट सडक आएपछि नेपाल तर्फका बासिन्दा पनि खुशी भएका छन्। यसले पर्यटन, व्यापार, व्यवसाय तथा आवागमनमा सहजता हुने अपेक्षा छ। ‘चिवाभन्ज्याङमा सडक आएपछि सिक्किमतर्फबाट घुम्न आउनेक्रम सुरु भएको छ। कहीले सडक जोडिएला भन्ने अपेक्षा थियो। सरकारले यो नाका सञ्चालनमा ल्याउन सके निक्कै महŒपूर्ण हुनेछ,’ याङवरक गाँउपालिका १ का अध्यक्ष मोहन ढुंगेलले भने, ‘हिँडेर यात्रा गर्नु पर्ने अवस्था थियो। दुवै देशका बासिन्दाबीच पारिवारिक सम्बन्ध छ। सरकारले पहल गर्‍यो भने यो क्षेत्रमा पर्यटन प्रबद्र्धन तथा व्यावासायिक गतिविधि बढ्ने देखिन्छ।’

प्रकाशित: १६ माघ २०७७ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App