८ वैशाख २०८१ शनिबार
समाज

संघद्वारा मालपोतलाई दुई थान कम्प्युटर हस्तान्तरण

मालपोत कार्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण गर्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतलगायत । नगेन्द्र उपाध्याय/नागरिक

मालपोत कार्यालयको प्रभावकारी सेवा प्रवाहका लागि सुर्खेत उद्योग वाणिज्य संघले दुई थान कम्प्युटर सहयोग गरेको छ । प्रविधि र जनशक्तिका कारण सेवा प्रवाह ढिलो हुँदा दैनिकजसो सेवाग्राहीहरु आन्दोलित हुन थालेपछि सेवा प्रवाहलाई प्रभावकारी बनाउन निजी क्षेत्रकातर्फबाट कम्प्युटर सहयोग गरिएको अध्यक्ष धनबहादुर रावतले जानकारी दिए ।

मालपोत कार्यालयका प्रमुख हिक्मतबहादुर शाहीले प्रविधि र जनशक्ति कम हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको बताए । ‘अहिलेको प्रविधि र जनशक्तिले दैनिक ४० देखि ५० जनासम्म सेवाग्राहीलाई सेवा दिन सक्छौं,’ उनले भने, ‘सुर्खेत उद्योग वाणिज्य संघले उपलब्ध गराएको कम्प्युटरले सेवा प्रवाहमा केही सहज हुने अनुमान गरेका छौं ।’

संघका महासचिव लक्ष्मण कँडेलले मालपोत कार्यालयमा जग्गा फुकुवा र रोक्का गर्न महिनौ लाग्न थालेपछि व्यवसायीहरु मर्कामा परेको बताए । ‘परम्परागत ढर्राले सेवाग्राहीहरुको भिडभाड हुने मालपोत कार्यालय चल्न सक्दैन्,’ उनले भने, ‘यसलाई प्रविधि र जनशक्ति सम्पन्न बनाइनुपर्छ ।’ उनले सामाजिक उत्तरदायित्व अन्र्तगत निजी क्षेत्रले उपलब्ध गराएको कम्प्युटरमार्फत सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मालपोत कार्यालयमा अत्याधिक भिडभाड हुनुका साथै दैनिक आन्दोलन हुन थालेपछि प्रशासन कार्यालयबाट टोकट प्रर्णाली लागू गरिएको बताए । ‘फागुन ११ गतेसम्मका लागि टोकट जारी गरेका छौं,’ उनले भने, ‘यसले पनि मालपोत कार्यालयको अवस्था दर्साउँछ ।’ उनले विचौलिया र जग्गा दलालका कारण मालपोत कार्यालय अस्तव्यस्त पाइएकाले त्यसलाई रोक्न टोकन प्रर्णाली लागू गरिएको बताए ।

प्रजिअ रेग्मीले मालपोत कार्यालयको सेवा प्रभावकारी बनाउनका लागि स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य भइरहेको बताए । ‘सुर्खेतका नौवटै पालिकाहरुले एक–एक जना कर्मचारीहरु पठाउँदै हुनुहुन्छ, प्रविधिमैत्री कार्यालयका लागि प्रदेश सरकारसँग अनुरोध गरेका छौं,’ प्रजिअ रेग्मीले भने, ‘केही दिनभित्रै अहिलेको भन्दा दोब्बर सेवा प्रवाह गर्ने गरेर काम सुरु हुन्छ ।’

प्रकाशित: १५ माघ २०७७ १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App