८ वैशाख २०८१ शनिबार
समाज

गाडी छुट्नु दुर्भाग्य !

२०६७ साल असोज १० गते विहान सदरमुकाम फिदिममा सनसनीपूर्ण खवर फैलियो। फिदिमको मेनरोडमा पर्ने ट्राफिक प्रहरी कार्यालय नजिकै रहेको तुम्रोक होटल एण्ड लजकोे कोठामा एक युवतीलाई गोली प्रहार गरी हत्या भएको घटना त्यो बेलाको सनसनीपूर्ण खवर थियो। कोठामा गोलीको खोका पनि भेटियो तर हत्यामा संलग्न व्याक्ति भागेको पाइएको थियो। उनी भेटिएनन् पनि।  

धेरैले यो घटना बिर्सिसकेका थिए। घटना भएको होटल कच्ची घर थियो। अहिले त्यो ठाँउमा ठूलो पक्की घर बनेको छ। फिदिमको स्वरुप पनि बद्लियो, यो घटनाको चासो र चर्चा पनि हराउँदै गयो। अहिले यो घटनाले फेरि चासो पाएको छ। दश वर्षपछि हत्यामा संलग्न भएको व्याक्तिलाई प्रहरीले पक्राउ गरेपछि घटनाको सम्झना गराइदिएको छ।  

साविक शिवा गाविस–१ की २४ वर्षीय (घटना भएको समयमा) सुष्मा तुम्रोकको गोली प्रहार गरी हत्या भएको थियो। हत्यामा संलग्न भएको आरोप लागेका ताप्लेजुङको साविक चागे गाविस–१ का पवन भनिने कुमुकहाङ आङ्बुहाङ लिम्बुलाई प्रहरीले बिहीबार (माघ ८ गते) काठमाडौँबाट पक्राउ गरेको थियो। घटना हुँदा आङ्बुहाङ १६ वर्षका थिए। अहिले प्रहरीले बयान लिने काम गरीरहेको छ। ‘हामीले विभिन्न हिसाबबाट यो घटनाको अनुसन्धान गरीरहेका थियौँ। निक्कै लामो प्रयासपछि काठमाडौँमा प्रकाउ गरी ल्याएका छौँ’ पाँचथरका प्रहरी प्रमुख डिएसपी दानबहादुर थापाले भने ‘दश वर्षपछि संलग्नलाई पक्राउ गर्न सफल भएका छौँ। अनुसन्धानका क्रममा काठमाडौँमा रहेको भन्ने सूचना पाएपछि पक्राउ गर्न सफल भईएको हो।’

तीन दिनदेखि दुई जना उक्त होटलमा बसेका थिए। आङ्बुहाङले प्रहरीलाई दिएको बयानका अनुसार उनी असोज १० गते विहान ताप्लेजुङ घरतर्फ जान चाहान्थे, गाडी छुट्यो। ‘गाडी छुटेपछि कोठामा आएर तुम्रोकलाई आफूसँग बन्दुक भएको देखाए। बन्दुक यसरी पड्काईन्छ भनेर देखाउँदै गर्दा च्याम्बरमा गोल लोड भएको रहेछ। पड्किएर उनलाई लाग्यो’ उनले प्रहरीसँग भनेका छन्।  

उनको बयानका आधारमा गाडी छुट्नुनै उनलाई र हत्या भएकी युवतीका दुर्भाग्यपूर्ण भएको देखिएको छ। हत्यामा संलग्न भएको भनिएका व्यक्ति पक्राउ गरेपछि तुम्रोक परिवारले जिल्ला प्रहरी कार्यालयमा आएर प्रहरीलाई धन्यवाद समेत दिएका छन्।

गोली लागेर हत्या भएपछि आङ्बुहाङले तीन दिन हिँडेर घर रहेको ताप्लेजुङको चागे पुगेको बताएका छन्। घरनजिकको जंगलमा केही दिन लुकेर तेह्रथमुको बसन्तपुर, धरान हूँदै काठमाडौँ पुगेको बताएका छन्। केटा र केटीको झापामा भएको कृषि सम्बन्धी तालिममा चिनजान भएको खुल्न आएको डिएसपी थापाले बताए।  

ब्रिटीस आर्मी भिड्नका लागि धरान बसेर तालीम लिएर घर फर्किएका आङ्बोहाङ र तुम्रोकको भेट फिदिममा भएको थियो। फिदिमको केही ठाँउ घुमेको समेत खुल्न आएको छ। तर युवतीसँग भेट्नु पूर्वनै युवकको विहे भईसकेको खुल्न आएको छ। घटना सम्बन्धी विभिन्न पाटोका बारे अनुसन्धानको काम भईरहेको डिएसपी थापाले जानकारी दिए।  

आङ्बोहाङको यात्रा काठमाडौँसम्ममा मात्र रोकिँदैन। उनले केही वर्ष पछाडी ताप्लेजुङ आएर नागरिकता बनाएको पनि पाइएको छ। पवन भनेर चिनिएका उनको खास नाम कुमुकहाङ भएको खुल्न आएको थियो। उनले कुमुकहाङको नाममा नागरिकता बनाएको पाइएको छ। आङ्बुहाङ वैदेशिक रोजगारीका लागि चार वर्ष मलेसिया बसेको पनि पाइएको थापाले बताए। मलेसियाबाट फर्किएर काठमाडौँमा मोटरसाईकल ग्यारेजमा काम पछि आफ्नै गिफ्ट पसल खोलेर बसेका उनलाई प्रहरीको टोलीले पक्राउ गरेको थियो। अनुसन्धान सकिएपछि अदालत लगिने जानकारी दिइएको छ।

सजाय कार्यान्वयन गराउँदै प्रहरी

अदालतबाट फैसला भएपनि सजाय भुक्तान नगरेर फरार रहेकाहरुको खोजीमा प्रहरी जुटेको छ। प्राथमिकतमा राखेर फरारको सूचिमा रहेकालाई खोजी गर्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी इक्स्पेक्टर डमर विश्वकर्माका अनुसार चालु आर्थिक वर्षमा २७ जनालाई पक्राउ गरी अदालतलाई जिम्मा लगाइएको छ। उनका अनुसार जिल्लामा फरारको सूचि १ सय ६३ जनाको रहेको छ। 

प्रकाशित: १५ माघ २०७७ ०५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App