६ वैशाख २०८१ बिहीबार
समाज

चुल्होबाट निस्केको झिल्कोले बस्ती सखाप

जुम्लाको तिला गाउँपालिका ७ पोखरी गाउँको गोठी बस्ती आगोले जलेर नष्ट भएको छ ।  चुल्होबाट निस्केको सानो झिल्कोले बस्ती सखाप भएको हो । गाउँका ३२ घर जलेका छन् । आगोले मानवीय क्षेति नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।  

  स्थानीय बरब रोकायाको घरमा खाना पकाउने क्रममा सल्किएको आगोले बस्ती नै सखाप पारेको हो । गाउँमा प्रायप्त पानीको पहुँच नभएकोले आगो समयमै नियन्त्रणमा लिन सकिएको थिएन । आगलागीबाट ३२ घर जलेका छन् । तीन करोड रुपैयाँ बराबरको क्षति पुगेको छ ।  

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी माधवप्रसाद काफ्लेका अनुसार आगलागीबाट १७ गाई,२३ गोरु र ३० बाख्रा जलेका छन् ।  

घरमा खाना पकाउने हिमाली चुल्होको पाइपबाट आगोको झिल्को निस्केर घरको छानामा सल्किएको थियो । ढिलो खबर प्राप्त भएकोले समयमै आगो नियन्त्रणका लागि सुरक्षाकर्मीको टोली ढिलो पुगेको थियो । डिएसपी काफ्लेले भने,‘आगलागीबाट तीन करोड रुपैयाँ बराबरको क्षति भएको देखिन्छ । ’    

 आगलागी भएको गाउँ खलंगादेखि ३५ किलोमिटर टाढा रहेको छ । स्थानीय गोठीबासी,सदरमुकाम खलंगादेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो निभाएको थियो ।

गोठीगाउँका बासिन्दा हिउँदमा चिसो छल्न बेसी झर्ने र गाउँमा केही कुरुवा मात्रै बस्ने भएकाले मानवीय क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ  । ‘गाउँमा पैदल हिँडेर जानुपर्छ, जनशक्ति कम भएकाले आगो नियन्त्रणमा लिन सकिएन,’ स्थानीय कृष्णा रोकायाले भनिन्,, ‘क्षतिको विवरण संकलन भइरहेको छ । मंगलबार साँझदेखि आगलागी भएकोमा बुधबार बिहान सबै मिलेर आगो नियन्त्रणमा लिन सफल भएका छौँ ।’

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक नविन थापा मगरको नेतृत्वमा २१ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक लक्ष्मीप्रसाद शर्माको नेतृत्वमा  ११ जना र नेपाली सेनाको क्याप्टेन युवराज कार्कीको नेतृत्वमा २५ जनाको टोली  आगो नियन्त्रणमा खटिएको थियो ।  

प्रकाशित: १४ माघ २०७७ १४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App