८ वैशाख २०८१ शनिबार
समाज

रुपातालमा बाँध बाँध्न ११ कम्पनीको चासो

९५५ रोपनीको मुआब्जा प्रक्रिया, आधाको वितरण

कास्कीको तेस्रो ठूलो ताल रुपा । बाँधविहीन ताललाई संरक्षण गर्न पञ्चवर्षिय योजना अनुसार बाँध बाँध्न टेण्डर आह्वान गरिसकिएको छ । तस्बिर नागरिक

रुपातालमा बाँध बाँध्न विभिन्न ११ वटा कम्पनीले टेण्डर हालेका छन् । कम्पनीहरु आन्तरिक मूल्यांकन प्रक्रियामै छन् । मूल्यांकन प्रक्रिया सकिएपछि प्राविधिक अध्ययन शुरु गरिने रुपाताल एकिकृत संरक्षण तथा विकास परियोजनाले जनाएको छ । परियोजनाले बाँध बनाउन चासो दिएका ११ वटा कम्पनीको नाम भने खुलाएको छैन ।  

‘अहिले मूल्यांकन प्रक्रियामा छ । कन्ट्याक्टरले नै डिजाईन गर्नेछन् । डिजाईनलाई प्राविधिक अध्ययन गरेपछि मात्रै थप प्रक्रिया अघि बढ्छ,’ परियोजनाका प्रमुख तुलसी भट्टराईले भने ‘बाँधको डिजाईन भने भईसकेको छैन् ।’ कास्कीको तेस्रो ठूलो ताल रुपा मात्रै बाँधविहीन छ । बाँध बनाउन पञ्चवर्षिय योजना अन्तर्गत नै प्रक्रिया शुरु गरिएको थियो । बाँधको लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरी मुआब्जा वितरण समेत गरिदैंछ । मुअब्जा वितरण पूर्ण रुपमा टुंगिएको भने छैन् ।  

परियोजना प्रमुख भट्टराईले बाँध बाँध्ने ठाँउतिरको जग्गाको मुआब्जा वितरण गरिएको सुनाए । बाँध ६ सय २० मिटर लम्बाईको बनाईनेछ । बाँध अर्धन (माटो)को हुनेछ । ६ मिटर उचाईको माथिल्लो फिनिसिङ अवस्थाको भने ७ मिटर चौडाईको हुनुपर्ने परियोजनाले जनाएको छ । ‘६ मिटरको उचाईको र ७ मिटर चौडाईको बाँध बनाईनेछ,’ परियोजना प्रमुख भट्टराईले भने, ‘बाँधको एक छेउमा ढोका(गेट) राखिने छ ।’ उनका अनुसार ढोका तर्फ सिमेन्ट प्रयोग गरेर बनाईने छ । उनका अनुसार बाँध निर्माण गर्न ४० देखि ५० करोड रुपैयाँ खर्च हुनेछ ।  

बेगनास तालान झैं ओभर फ्लोको पुर्वाधार पनि बनाईने छ । तर सिंचाईको लागि अर्को ढोका भने राखिदैंन् । बेगनास तालबाट भने सिंचाईको लागि नहर मार्फत पानी निकास गरिएको छ । परियोजनाले तालमा सिधै खोलाको पानी नमिसिने गरी केही ठाँउमा सिल्टेसन पोखरी निर्माण गरिसकेको छ । दुईवटा पोखरी निर्माण भईसकेको छ । तालको किनारमै एउटा निर्माणकै चरणमा छ । ‘दुईवटा पोखरी तयार भईसकेको छ । बाँकी एउटा पोखरी निर्माणको चरणमा छ,’ रुपताल संरक्षण एककिृत विकास परियोजनाका सदस्य लेखनाथ ढकालले भने ।  

बाँध बाँध्नै लागि परियोजनाले अहिलेसम्म ९ सय ५५ रोपनी क्षेत्रफलको मुाअब्जा वितरणको लागि सूचना निकालिसकेको छ । जसमध्ये आधाआधीको मात्रै मुअब्जा वितरण गरिएको परियोजना प्रमुख भट्टराईले सुनाए । मुअब्जाकै लागि परियोजनाले ६४ करोड रुपैयाँ स्थानीयलाई मुआब्जावापत रकम बुझाईसकेको छ । सरकारी दररेट अनुसार खोलाबेसी खोलाले छोएको जग्गाको प्रतिरोपनी ८ लाख ६२ हजार रुपैयाँ मुआब्जा रकम दिनेगरी मूल्यांकन गरिएको छ । खोला भन्दा तल्लो भागको क्षेत्रलाई १२ लाख ५० हजार रुपैयाँ तय गरिएको छ । बाँधस्थल बनाउने जग्गाको मूल्यांकन भने १२ लाख ९२ हजार प्रतिरोपनी तय गरिएको छ ।

‘गुरुयोजना अन्तर्गत १४७२ रोपनी अधिग्रहण गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘अब बाँकी क्षेत्रफलको सूचना निकाल्न बाँकी छ । सूचना निकालिसकेको जग्गाको कागजपत्र हेरेर मुआब्जा दिईरहेका छौं ।’ उनका अनुसार व्यक्तिको नाम र थरसँगै फिल्ड र नक्सामा जग्गा फरक पर्दा मुआब्जा वितरणमा समस्या देखिएको छ  पञ्चवर्षिय योजना अन्तर्गत सरकारले बाँध निर्माणको लागि ४ अर्ब ५१ करोड रुपैयाँको लागत अनुमान गरिएको छ ।  बाँध हालेपछि रुपातालको सतह १७४ हेक्टर पुग्ने अनुमान छ । अहिले पानीको सतह भने १०४ हेक्टर मात्रै छ । नापी विभागको २०३२ सालको तथ्यांक अनुसार रुपातालको क्षेत्रफल १३५ हेक्टर थियो । 

प्रकाशित: ११ माघ २०७७ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App