coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१६ संस्थापक सदस्य सम्मानित

नेपाल पत्रकार महासंघ रौतहट शाखाको ११औं साधारणसभा रौतहट सदरमुकाम गौरस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा सम्पन्न भएको छ। साधारण सभामा नेपाल पत्रकार संघ रौतहट शाखाको स्थापना हुँदा बखतका सम्पूर्ण सदस्यलाई सम्मानित गरिएको छ।  रौतहट शाखाको स्थापना २०५७ मा हुँदा नेपाल पत्रकार महासंघ रौतहट शाखामा १६ जना सदस्य रहेको महासंघको केन्द्रीय कार्यालयमा अभिलेख रहेको र सोही अभिलेखअनुसार सबैलाई शाखा स्थापनाको २०औं वर्षमा सम्मानित गरिएको हो। 

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले शाखाका पूर्वअध्यक्ष शैलेन्द्र गुप्ता, शैलेन्द्र झा, प्रेमचन्द्र झा, शिव पुरी, रमेश सिंह, प्रभातकुमार झालगायतलाई सम्मान गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विष्टले पत्रकारिताको क्षेत्रमा धेरै काम भएको भए पनि अझै पनि धेरै काम गर्न बाँकी रहेको धारणा राखे । उनले नेपाल पत्रकार महासंघलाई सबै सञ्चारकर्मीको साझा बनाउन सबैले सबैतिरबाट सकारात्मक दृष्टिकोण राख्नुपर्ने बताएका छन्।  

कार्यक्रममा महासंघका सचिव शीतल महतो, केन्द्रीय सदस्य गोविन्द चौलागाईं, प्रदेश २ अध्यक्ष दीपेन्द्र चौहानलगायतले पत्रकारिताका समस्याबारे प्रकाश पारेका थिए । पत्रकारहरूले आफू समस्यामा रहेर अन्य क्षेत्रको विश्वास आर्जन गरेको पेसाकर्मीको रुपमा आफूलाई सम्मानित गरेको वक्ताहरूको भनाइ थियो।

कार्यक्रम रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले रौतहटको पत्रकारितालाई आफूले सहयोगीको रुपमा पाएको बताउँदै मिडियाले जनताको चाहना र सरकारको नीतिबीच पुलको काम गरिरहेको बताए। विभिन्न स्थानीय तहका प्रमुख तथा सञ्चारकर्मीसमेतले आफ्नो मन्तव्य राखेको कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका संस्थापक सदस्यसमेत रहेका रविन्द्रप्रसाद मण्डललाई दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुण साहले स्वास्थ्योपचारका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने वचनबद्धता प्रकट गरेका छन्।

प्रकाशित: १० माघ २०७७ ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App