६ वैशाख २०८१ बिहीबार
समाज

उपकुलपतिले दुव्र्यवहार गरेको भन्दै दुई जना निर्देशकसहित पाँच क्याम्पस प्रमुखले दिए सामुहिक राजीनामा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय । नगेन्द्र उपाध्याय/नागरिक

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले दुव्र्यवहार र गालीगलौज गरेको भन्दै विश्वविद्यालयका दुई जना निर्देशक र पाँच जना क्याम्पस प्रमुखले सामुहिक राजीनामा दिएका छन् । बुधबार उपकुलपति डा. सिंहले आफ्नै कार्यकक्षमा राखेको बैठकमा निर्देशक र क्याम्पस प्रमुखहरुलाई दुव्र्यवहार गरेका थिए । इन्जिनियरिङ संकायका विद्यार्थीहरुको जारी आन्दोलनको विषयलाई दिएर संकायका प्रमुख सोनालाल यादवलाई उपकुलपति सिंहले जातीयता र क्षेत्रीयताको कुरा गर्दै दुव्र्यवहार गरेको स्रोतले बतायो ।  

‘क्याम्पस प्रमुखमाथि गरिएको दुव्र्यवहारले हामी सबैलाई मानमर्दन भएको महशुस भयो,’ सामुहिक राजिनामामा भनिएको छ, ‘यस्तो मानमर्दन भइरहँदा आ–आफ्नो जिम्मेवारी निरन्तर पूरा गर्न नसकिने महशुस गरी सामुहिक राजिनामा पेश गर्दछौं ।’

इन्जिनियरिङ क्याम्पस प्रमुख सोनालाल यादव, विज्ञान संकायका कृष्णप्रसाद चपाई, शिक्षा विज्ञान संकायका जसवीर रोका, मानवीकी संकायका प्रमुख तेजविक्रम बस्नेत, व्यवस्थापन संकायका प्रमुख दीपकसिंह रावत, स्कुल अफ म्यानेज्मेन्ट (मुसुम) का निर्देशक डा. सुशीलकुमार शाही र स्कुल अफ लका निर्देशक डा. अर्जुनबहादुर अयडीले राजिनामा दिएका हुन् । उनीहरुको राजीनामा शुक्रबारसम्म स्वीकृत भएको छैन् ।

इन्जिनियरिङ संकायका विद्यार्थीहरुले लगाएको ताला क्याम्पस प्रमुखले नफोडेको भन्दै बैठकमा उपकुलपतिले आक्रोस पोखेका थिए । ‘सुरुमा क्याम्पस प्रमुखको काम, कर्तव्य र अधिकारका विषयमा पढेर सुनाउनु भयो,’ बैठकमा सहभागी एक क्याम्पस प्रमुखले भने, ‘त्यसपछि विद्यार्थीहरुसँग ताला खोल्ने विषयमा किन वार्ता गरेको ? आफै ताला किन नफोडेको ? भन्दै गाली गर्न थाल्नु भयो ।’ बैठकमा उपकुलपति सिंहले विद्यार्थीको जारी आन्दोलनलाई दमन गरेर दवाउनुको सट्टा वार्ता र संवाद गरेको भन्दै पटक–पटक आक्रोस पोखेका थिए ।

उपकुलपति डा. सिंहले विश्वविद्यालयमा हाइड्रो इन्जिनियरिङको पठन–पाठन किन गरेको भन्दै क्याम्पस प्रमुख यादवसँग आक्रोस पोखेका थिए । उनले आफू कर्णालीको भूमिपुत्र भएको बताउँदै जातीयता र क्षेत्रीयताको कुरा उठाएर यादवलाई गालीगलौज गरेका थिए । ‘प्राज्ञिक व्यक्तिले जातीयता र क्षेत्रीयताको कुरा उठाउँदै सामुहिक गालीगलौज गरेपछि केहीबेर दोहोरो भनाभन भयो,’ सहभागी एक क्याम्पस प्रमुखले भने, ‘उपकुलपतिको अपमान सहेर बस्नुभन्दा सामुहिक राजीनामा दिने निर्णयमा पुग्यौं ।’ उपकुलपतिले राजीनामा दिन वा छ महिनाभित्र जेल जान तयार हुन धम्की पनि दिएको बैठकमा सहभागीहरुले बताएका छन् । ‘उहाँले विद्यार्थीलाई गुण्डा, क्याम्पस प्रमुखलाई जड्याहासमेत भन्नुभयो’, ति सहभागीले भने, ‘यस्तो दुव्र्यवहार र अपमान कहिल्यै भोग्नु परेको थिएन् ।

’ उपकुलपतिले आफ्नो गल्ती नसच्याउँदासम्म राजीनामा फिर्ता नलिने बताएका छन् । विश्वविद्यालयका निर्देशक र क्याम्पस प्रमुखहरुले दिएको राजीनामा विषयमा कुरा गर्न खोज्दा उपकुलपति सिंह सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित: ९ माघ २०७७ १२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App