coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वडा विभाजनको मुद्दा पेचिलो, नगरसभा अनिश्चित

नगर कार्यपालिका भवन । तस्बिर : योगेश रावल

टीकापुर नगरपालिकाको आठौं नगरसभा स्थगित भएको डेढ सातासम्म पनि पुनः सुचारु हुन सकेको छैन। पुस २६ गते सुरु भएको नगरसभा वडा विभाजनको प्रस्तावमा सहमति जुट्न नसकेपछि दोस्रो दिन नै स्थगित भएको थियो।  

नगरसभा पुनः सुचारु गर्ने प्रयास भैरहेपनि सार्थकता पाउन सकेको छैन। वडा विभाजनको मुद्दा नागरिकस्तरमा समेत पुगेको छ। वडा नं. २ का बासिन्दाले प्रस्तावको विरोधमा आन्दोलित हुने चेतावनी दिन थालेका छन्। वडा विभाजनको मुद्दा पेचिलो बन्दै गएपछि नगरसभा अनिश्चित बनेको छ।  

वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्यको संयोजकत्वमा गठित वडा विभाजन कार्यदलमै सहमति जुट्न नसकेको प्रस्ताव कार्यपालिका बैठक हुँदै नगरसभामा पेश गरिएको थियो। कार्यदलका सदस्य रहेका कार्यपालिका सदस्य रमेश विकले कार्यदलको बैठकमै प्रस्तावमा असहमति जनाएका थिए। ‘प्राविधिकको सुझाव समेत बेवास्ता गरेपछि मैले असहमति जनाएको हुँ’ उनले भने–‘यसमा कहिँ कतै राजनीतिक स्वार्थ जोडिएको छ।’

वडा विभाजन सम्बन्धी बनेको कार्यविधिले कुनै एक बस्तीलाई टुक्र्याउन नहुने व्यवस्था गरेको भएपनि कार्यदलले ब्लक नं. १४ लाई विभाजन गर्न खोजेपछि विवाद सुरु भएको हो। ‘टीकापुरको सबैभन्दा पूरानो बस्तीलाई टुक्र्याउने कुरा चित्त बुझेन’ उनले भने–‘वर्षौदेखि मिलेर बसेको बस्तीलाई टुक्र्याउन नहुने कुरा कार्यविधिमा स्पष्ट छ।’

कार्यपालिका बैठकमा समेत अधिकांश कार्यपालिका सदस्यहरुले प्रस्ताव प्रति असहमति जनाए। कार्यपालिका सदस्यहरुको असहमतिलाई बेवास्ता गर्दै सो प्रस्ताव नगरसभामा पेश गरिएको थियो।  

प्रस्ताव उपर गम्भीर छलफल नभएको विपक्षमा उभिएका वडाध्यक्षहरुको भनाइ छ। वडा नं. ७ का वडाध्यक्ष रामलाल डगौरा थारुले सबै जातजाति र समुदायको प्रतिनिधित्व हुने गरी छलफल नभएको बताए। ‘गम्भीर रुपमा छलफल हुन सकेन’ उनले भने–‘सबै जातजाति र समुदायको कुरा समेटिनुपर्छ।’

वडा नं. ६ का वडाध्यक्ष बलिराम चौधरीले आफूखुसी वडा विभाजनको प्रस्ताव पेश गरेको बताए। उनले वडा विभाजनका सबै मापदण्ड अपनाईनुपर्नेमा जोड दिए।  

कार्यदल संयोजक आचार्यले भने प्रयाप्त मात्रामा छलफल भएको दावी गरे। उनले कार्यदल गठन नै सबै जातजाति र समुदायको प्रतिनिधित्व हुने गरी भएको बताए। कार्यदलमा वडा नं. २ का वडाध्यक्ष प्रकाश बुढाथोकी, कार्यपालिका सदस्यहरु सीता चौधरी, रमेश विक, डम्मर राजी, एकजना नापी कार्यालयका कर्मचारी र सदस्य सचिवमा योजना शाखाका प्रमुख नवराज जोशी सदस्य रहेका छन्।  

कार्यदलले नगरसभामा वडा नं. १ लाई ४ र वडा नं. २ लाई २ वडामा विभाजन गर्ने प्रस्ताव पेश गरेको थियो। हाल नगरपालिकामा ९ वटा वडा छन्। वडा नं. १ जनसंख्याका हिसाबले नेपालकै सबैभन्दा ठूलो वडा मानिन्छ। यहाँ ५० हजारको हाराहारीमा जनसंख्या छ। तराईका हकमा नगरपालिकाको एक वडा हुन कम्तिमा ६४०० जनसंख्या हुनुपर्ने प्रावधान छ। जनसंख्याका आधारमा वडा नं. १ कम्तिमा ६ वडामा विभाजन गर्न सकिने देखिन्छ।  

स्थानीय सरकार सञ्चालन ऐन अनुसार वडा विभाजनको प्रस्ताव नगरसभाबाट दुईतिहाईले पारित गर्नुपर्ने उल्लेख छ। ६ जना वडाध्यक्ष र अन्य केही कार्यपालिका सदस्यहरु नै प्रस्तावको विपक्षमा उभिएपछि प्रस्तावले सामान्य बहुमत समेत नपाउने देखिएको छ।  

‘हामी सहमतिको प्रयासमा छौं’ नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने–‘पुर्नविचार गर्ने राय आएको छ। सोही अनुसार कार्यदल र सरोकारवालाहरुसँग छलफल भैरहेको छ।’

नगरसभाको दुईतिहाईले पारित गरेपछि सो प्रस्ताव प्रदेश सभामा पेश गर्नुपर्ने हुन्छ। प्रदेश सभाले समेत पास गरेपछि कार्यान्वयनका लागि संघमा पठाउने प्रावधान रहेको छ। यो नगरसभाले वडा विभाजनको प्रस्ताव पारित नगरे नगरपालिकाको आगामी निर्वाचन साविककै अवस्थामा हुने देखिन्छ।

प्रकाशित: ९ माघ २०७७ ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App