coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरा क्षेत्रमा पहिलोपटक भेटियो मण्डारिन हाँस

सिमसार अतिक्रमणले पानी चरा हराउँदै

मण्डारिन हाँस

पोखराको फेवातालमा नयाँ प्रजातिको चरा भेटिएको छ । पंक्षी समाज पोखराले गरेको दुईदिने अध्ययनसँगै गणना गर्ने क्रममा मण्डारिन हाँस नामक नयाँ प्रजातिको चरा भेटिएको हो ।  

पोखराका नौवटा ताल तथा विजयपुर खोला आसपासका क्षेत्रमा दुईदिन लगाएर चरा गणना गरिएको थियो । गणनाकै क्रममा पोखरामै पहिलोपटक जापानमा पाईने मण्डारिन हाँस भेटिएको पंक्षी समाज पोखराका अध्यक्ष मनशान्त घिमिरेले बताए । ‘यसअघि गरिएको गणनामा पोखरामा मण्डारिन हाँस भेटिएको थिएन । यो वर्ष भेटिएको हो,’ उनले भने, ‘यो चरा विशेष गरी जापान, चीन एवं मगोलियाको आसपास र भारतीय उपमहादिपमा पाईन्छ ।’ उनको अनुसार यो फिरन्ते प्रजातिको चरा हो ।  

पंक्षी समाज पोखराले पूर्ण रुपमा पानीमा आश्रित चराहरुको गणना गरेको हो । गणना गर्ने क्रममा ४७ प्रजातिका लगभग २७ सय चराहरु गणना गरिएको तथ्यांक उनले सुनाए । ‘गतवर्ष २८ सय भन्दा बढी चराहरु गणना गरिएको थियो । यो वर्ष प्रजाति उस्तै रहेपनि संख्यामा भने घटेका छन्,’ उनको भनाई थियो । मण्डारिन हाँस नेपालकै पूर्व, चितवन एवं मध्यमस्र्याङदीको बाँधमा समेत भेटिएको थियो । गणनाकै क्रममा फेवातालमा ३ वटा मण्डारिन हाँस भेटिएको थियो ।  

पोखराका तालहरुमा कमन पोचार्ड(मालक हाँस) समेत भेटिएको थियो । यो प्रजातिको चरा लोपोन्मुख अवस्थामा रहेको पंक्षी समाजका अध्यक्ष घिमिरेले बताए । ‘संरक्षित पंक्षीको रुपमा रहेको कालो गरुड पनि भेटियो’ उनले भने, ‘फेवा, खास्टे र दिपाङ तालमा भेटिएको थियो ।’ खोया हाँस एउटा मात्रै भेटिएको थियो । अध्ययनकै क्रममा फेवाताल एवं तालहरुको सिमसार क्षेत्रमा बच्चा कोरल्ने चराहरुले बच्चा नकोरलेको समेत देखिएको छ ।  

विजयपुर खोलामा विगतका वर्षहरुमा पाईने गरुड भेटिनै छाडेको पंक्ष्ी समाज पोखराले जनाएको छ । ‘सुडसुडिया प्रजातिको चराहरु खोलाको किनारमा पाईन्थे,’ अध्यक्ष घिमिरेले सुनाए, ‘तर यो वर्ष त्यस्ता चराहरु देख्नै पाईएन ।’ खोलामा ठूला उपकरण चलाउने(जेसिभीको प्रयोग), नुहाउने, कपडा धुने लगायतका गतिविधिले चराहरु देखिन छाडेको अनुभव उनको थियो । पंक्षी समाज पोखराले सन २००४ देखि पोखरामा पानीजन्य चराहरुको गणना गर्दै आएको छ । डेढदशक अघि टाईगरटप माउण्टेन लजका प्रबन्धक मार्कस कटनको अगुवाईमा चरा गणना शुरु गरिएको थियो । पंक्षी समाजले अहिले वार्षिक क्यालेण्डर बनाएरै पानी चराको गणना गर्दै आएको छ ।  

सिमसारको संकुचन हुदैं गएपछि पानी चराको गतिविधि पनि घट्दै गएको छ । सिमसारमा मानवीय अतिक्रमणको चपेटामा परेपछि चराको बासस्थान हराउँदै गएको उनको भनाई छ । ताल छेउमा पिकनिक खाने, ठूलो ध्वनी लगाएर संगीत बजाउने, क्याम्प फायर बस्ने जस्ता गतिविधि बढ्दै गएपछि चराहरु विस्तारै सिमसार क्षेत्रबाट लोप हुदैं गएको गुनासो पंक्षी समाज पोखराले गरेको छ । हिउँदमा विगतमा पाईने चरा अहिले विस्तारै भेटिनै छाडेको समेत अध्ययनले देखाएको छ ।  

कास्कीको फेवा, बेगनास, रुपा, खास्टे, दिपाङ, न्युरेनी, मैदी, गुँदे र कमलपोखरी ताल एवं विजयपुर खोलामा पानी चरा गणना गरिएको थियो । गणना गर्न फेवातालमा चारवटा समूह सक्रिय थियो । अन्य ठाँउमा चारजना फरक फरक दिशामा बसेर गणना गरिएको थियो । गणना गर्न ३२ जना विभिन्न क्षेत्रका व्यक्तित्वहरु सहभागि थिए । 

प्रकाशित: ९ माघ २०७७ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App