coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शिक्षक हत्या आरोपमा विप्लव समूहका मोरङ इञ्चार्ज पक्राउ

मंसिर तेस्रो साता मोरङको मिक्लाजुङमा भएको एक शिक्षकको हत्यामा संलग्न आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। संखुवासभाको मादी नगरपालिका–४ स्थित ओखरबोटेका ३२ वर्षीय डिबी सिलवाल भन्ने धनबहादुर बिकलाई बुधबार मोरङको बुढीगंगा–४ बाट पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए। मंसिर २३ गते मोरङको मिक्लाजुङ–१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा बिकलाई पक्राउ गरेको डिएसपी राईले बताए।  

स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई उनकै घरबाट नजिकै रहेको जंगलमा लगी घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। श्रेष्ठको हत्या हुनुअघि उक्त क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको आधार इलाका रहेको प्रहरीले जनाएको छ। मोरङको निकै विकट क्षेत्र रहेको हुँदा भूमिगत गतिविधि गर्न सहज हुने गरेको थियो। श्रेष्ठको हत्या भएपछि सशस्त्र र नेपाल प्रहरीको संयुक्त अस्थायी बेस क्याम्प राखिएको छ।

श्रेष्ठको हत्यामा संलग्नहरूको सुक्ष्म तवरले अनुसन्धान गरिरहेको हुँदा हत्यामा संलग्नमध्ये बिकलाई बुढीगंगाबाट पक्राउ गरिएको डिएसपी राईले बताए। ‘श्रेष्ठको हत्यामा बिकसहित अन्य पाँच जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ डिएसपी राईले भने, ‘उद्योगी, व्यापारीबाट नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द 'विप्लव' समूहका लागि चन्दा संकलन गर्ने कामसमेत गर्दै आएका थिए। सोहीअनुसार चन्दा संकलन गर्न आएको मौकामा बिकलाई पक्राउ गरिएको हो।’

हातहतियारसहित पक्राउ परेका बिकलाई प्रहरीले हातहतियार खरखजना मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। ‘पक्राउ परेका बिक विप्लव समूहका मोरङ जिल्ला इञ्चार्जसमेत भएको खुलेको छ,’ डिएसपी राईले भने, ‘इलाका प्रहरी कार्यालय उर्लाबारीमा पक्राउ परेका बिकविरुद्ध शिक्षक श्रेष्ठको हत्या गरेको आरोपमा कर्तव्य ज्यान मुद्दा दर्ता भई अनुसन्धान भइरहेको छ।’  

बिकका साथबाट एक थान अटोमेटिक पेस्तोल, म्याजिन र तीन राउण्ड गोलीसमेत बरामद गरेको छ। ४ वटा मोबायल सेट र ११ वटा सिमकार्डसँगै विकको साथबाट चारवटा मोबाइलका साथै को २४ प ४००५ नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ माघ २०७७ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App