८ वैशाख २०८१ शनिबार
समाज

नगर अस्तव्यस्त, नगरप्रहरी राजस्व संकलनमा

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा नगरप्रहरीले नगरपालिकामा रहेको बजार व्यवस्थित गर्ने, पार्किङ सहजीकरण गर्ने तथा रेखदेख गर्ने, छाडा पशु चौपायाको नियन्त्रण, दैवीप्रकोप जस्ता घटनामा उद्दार र सहयोग गर्ने उल्लेख छ। तर, कैलालीको गोदावरी नगरपालिकाले भने नगरप्रहरीलाई नदीजन्य पदार्थ निकासीमा रोयल्टी (राजस्व) संकलन गर्न खटाएको छ।  

नगरपालिकाको एकमात्रै सहर अत्तरियाको पार्किङ, छाडा पशु चौपाया तथा फुटपाथले गर्दा सवारी साधन ओहोरदोहोर गर्न असहज छ। यस्तै असहजतालाई सहजीकरण गर्न भर्ना गरिएका नगरप्रहरीलाई भने नदीजन्य पदार्थको राजस्व उठाउन खटिएका छन्। नगरप्रहरीलाई रोयल्टी उठाउन खोला तथा नालामा खटाउँदा अहिले अत्तरिया बजारमा नगरप्रहरीविहीन छ। नगरप्रहरी नहुँदा बजार अस्तव्यस्त हुनुका साथै सडक किनारमा जथाभावी राखिएका ठेला तथा फुटपाथ पसल राखिएका छन्। जसले गर्दा यात्रुलाई यात्रा गर्न कठिन हुनुका साथै कर तिरेर व्यापार व्यवसाय गरिरहेका व्यापारी मर्कामा छन्।

नगरको सुरक्षा, पार्किङ व्यवस्थित गर्ने भनेर राखिएको नगरप्रहरीलाई राजस्व संकलनका लागि खोलामा पठाएको बताउँदै स्थानीय व्यापारी रमेश बोगटीले भने, ‘जुन कामको लागि नगरप्रहरीलाई राखिएको हो, त्यो काम नगराएर पैसा उठाउन खटाइएको छ।’ जसले गर्दा अत्तरिया बजारको पार्किङ मात्रै नभई बजार अस्तव्यस्त देखिएको उनले बताए। ‘बजार अस्तव्यस्त छ, कर तिरेर व्यापार गरेका व्यवसायीको पसल अगाडि नै फुटपाथ पसल सञ्चालनमा हुँदा हामी मर्कामा छौँ,’ अर्का व्यापारी सुशील पाण्डेले भने,‘राजस्व तिरेर बसेका व्यापारीको अगाडि राखिएको फुटपाथलाई हटाउनु नगरप्रहरीको दायित्व हो, तर यहाँ त्यसो गरिएको छैन।’  

गोदावरी नगरपालिकासँग अहिले ६ जना नगरप्रहरी जवान छन्। जसमध्ये ४ जना पुरुष र २ जना महिला छन्। ४ जना पुरुषलाई जवानलाई नदीजन्य पदार्थको रोयल्टी संकलनमा खटाइएको प्रहरीका कमाण्डर तथा नगरप्रहरी जवान पर्मानन्द भट्टले भने,‘हामीलाई अहिले नगरपालिकाले नदीजन्य पदार्थको रोयल्टी संकलनका लागि खोलामा खटाएको छ।’  

नगरपालिकाको आदेशानुसार धनचौरी, सेहरी, स्याउले र बल्मीमा एक÷एक जना प्रहरी जवान खटाइएको उनले बताए। ‘हामीले नगरपालिकाको आदेश पालना गर्ने हो,’ उनले भने,‘जहाँ खटायो त्यही जान्छौँ।’ दुई जना महिला जवान भने बसपार्कमा ड्युटीमा रहेको उनले बताए।  

नगरपालिकाले ठाउँठाउँमा नगर प्रहरी परिचालन गरेर ढुंगा, गिट्टी तथा बालुवा उत्खनन वापत तीन सय ५० देखि एक हजार रूपैयाँसम्म प्रति ढुवानीका साधनबाट रकम उठाउँदै आएको छ। यस कार्यमा चार जना नगर प्रहरी र ६ जना नगरपालिकामा विभिन्न फाँटमा कार्यरत कर्मचारी परिचालन गरेर नगरपालिका आफैले नदीजन्य पदार्थको उत्खनन गर्दै आएको गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले बताए।  

कोभिड–१९ का कारण जारी चार महिना लामो लकडाउन र सोपश्चात् नेपाल सरकारले तोकेको नयाँ मापदण्डका कारण समयमै नदीजन्य पदार्थ संकलन तथा उत्खननको ठेक्का प्रक्रिया टुंग्याउन समस्या भएको बताउँदै उनले भने,‘बोलपत्र आह्वान गर्दा रितपूर्वक कसैको आवेदन परेन भने अर्कोतर्फ संघीय सरकारको नयाँ मापदण्डले पनि समस्या भयो।’ नदी तथा खोला ठेक्कामा नलाग्दा नदीजन्य पदार्थ चोरी निकासी हुन थालेपछि आफैले नगरपालिकाका कर्मचारी परिचालित गरेर रोयल्टी संकलन थालिएको उनले बताए।  

‘हाल हामीले नगरपालिकाका कर्मचारी र नगर प्रहरीलाई परिचालन गरेर नदीजन्य पदार्थको उत्खनन् कार्यलाई सहज बनाएका छौँ,’ उनले भने,‘राजस्व हिनामिना नहोस् भनेर सो कार्यमा नगर प्रहरी परिचालन गरिएको हो।’ नगरप्रहरीलाई राजस्व संकलनमा खटाइँदा नगरको अत्तरिया बजारमा पनि व्यवस्थितीकरण गर्न ट्राफिक प्रहरी र जनपद प्रहरीसँग समन्वय गरिएको उनले बताए।

प्रकाशित: ९ माघ २०७७ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App