१६ चैत्र २०८० शुक्रबार
समाज

तेजाव पीडितलाई निगमले दियो एक वर्षको रोजगारी

नेपाल आयल निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तेजाब आक्रमणबाट पीडित दुई महिलालाई एक वर्षका लागि रोजगारी दिएको छ। तेजाब आक्रमणबाट पीडित बनेकी साविक फूलबारी गाविस–३ ओखलढुङ्गाकी पवित्रा कार्की र नवलपरासीकी वसन्ती परियारलाई निर्वाह खर्च उपलब्ध गराउने गरी गत पुस १६ गतेदेखि कामकाजमा लगाइएको निगमले जनाएको छ।          

तेजाव आक्रमणबाट पीडित भई सामाजिक तथा मनोवैज्ञानिक त्रासका साथ जीवन बाँचिरहेको आक्रान्त अवस्थामा उनीहरु निगमको सम्पर्कमा आएका थिए। दुवै जनाले कमजोर आर्थिक र शरीरमा तेजावको जलनका कारण अन्य शारीरिक कार्य गर्न असमर्थ रहेको र जीवन निर्वाह तथा नियमित औषधिको जोहो गर्न कठिनाइ भएको व्यहोरा खुलाइ आफ्नो योग्यताअनुसारको रोजगारीको व्यवस्था गरिदिन अनुरोध गरी निगममा निवेदन पेश गरेका थिए।      

तेजावपीडित दुवै जनालाई सामाजिकीकरणमा सहयोग पुर्‍याइ क्षमता विकास गर्नसक्ने अवसर जुटाइदिने तथा जीवनयापन औषधोपचारमा पुनःउत्थान र सामाजिक अन्तरघुलन गराइ निजको आत्मबल बढाइ भविश्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ रोजगार प्रदान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।  

उनीहरुलाई न्यूनतम् मासिक रु २० हजार पारिश्रमिक पाउने गरी कार्यालय सहयोगीको जिम्मेवारी दिइएको उनले बताए। तेजाव पीडितलाई एक वर्षको करार गरेर काममा लगाइएको उनको भनाइ छ। तेजाव पीडितको आत्मबल बढाउने र समाजमा आत्मसम्मानका साथ जीवन निर्वाह गर्न सघाउ पुग्ने उद्देश्यले कामको अवसर दिइएको प्रवक्ता उपाध्यायले जानकारी दिए।  

निगमले पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्रीवितरण व्यवस्थापनका अतिरिक्त संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध सामाजिक तथा कल्याणकारी कार्य गर्दै आइरहेको छ। निगमले कोभिड–१९ रोकथाम तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको थियो। यस्तै निगमले खोटाङको हलेसी मन्दिरमा धर्मशाला निर्माण, लकडाउनका समयमा अपाङ्गता भएका तथा बेसहारा व्यक्ति, बालगृह, वृद्धाश्रमलगायतलाई एलपी ग्यासको सिलिण्डर उपलब्ध गराएर सामाजिक उत्तरदायित्वअन्तर्गत सेवा पुर्‍याएको थियो। रासस    

 

 

प्रकाशित: ८ माघ २०७७ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App