coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अधुरै घरमा सर्न थाले भूकम्पपीडित

भिमसेन थापा ५ बगुवाको एकिकृत मिलनबस्ती । तस्बिरः नागरिक

भिमसेन थापा गाउँपालिका–५ बगुवाको लामाचौरमा निर्माण भएको एकीकृत मिलनबस्तीका अपुरा घरमा भूकम्पपीडित बसाइ सर्न थालेका छन् । भूकम्प गएको ६ वर्ष बितिसक्दा पनि घर निर्माण पुरा नभएपछि स्थानीयले आफ्नो घर लिँदै बाँकी काम आफै पुरा गर्दै बसाइ सर्न थालेका हुन् ।  

‘अहिलेसम्म १२ वटा घरमा स्थानीयले बसोबास सुरु गरिसकेका छन्,’ छ महिना अघि नै घर सरेका सुरेन्द्र श्रेष्ठले भने ‘प्लास्टर गर्न र रगंरोगन गर्दा दुईलाख ६५ हजार रुपैयाँ खर्च भईसक्यो, अझै घर तयार भएको छैन । म बिदेश थिए, अहिले फर्केर बाँकी काम गर्दैछु ।’ २०७२ सालको भूकम्पका कारण बिस्थापित घरधुरीलाई एकिकृत मिलनबस्तीमा सार्ने गरी समिति मार्फत बस्ती निर्माण सुरु भएको थियो । सरकारले भूकम्पपीडितलाई दिने तीनलाख र घरधनीले थप तीनलाख रुपैयाँ लगानी गरेर दुईतले चारकोठाको घर पाएका स्थानीयले प्लास्टर गर्न, पिढी मर्मत लगायतका अन्य काम भने आफै गर्नुपर्नेछ ।  

निर्माण समितिले घर छाएर घरधनीलाई दिनेछ । ‘फिनिसिङ गरेर घर चिटिक्क बनाउन कम्तिमा पाँचलाख रुपैयाँ थप लाग्छ,’ घर सर्ने तरखर गर्दै गरेका स्थानीय नारायण श्रेष्ठले भने । उक्त बस्तिमा सबै घरको काम एकैपटक अघि नबढेपछि तत्काल घर आवश्यक भएकाहरु आफैले मर्मत गर्दै सर्दै गरेका हुन् । एकवर्ष अघि सरेका ७५ वर्षिय बलबहादुर श्रेष्ठ भन्छन् ‘पुरानो घर बेसीमा थियो, अहिले यहाँ सरेका हौ । बस्तुभाउ बेसीमा नै छन्, गाउँबेसी गर्छाै ।’ भूकम्पले घर भत्काएपछि टहरामा बस्दा निकै सास्ती भएको गुनासो गर्दै उनले बस्नका लागि नयाँ घरमा सजिलो भएको बताए । ‘चर्पी पनि घरभित्रै छ, हामी जस्तो बुढाबुढीलाई सजिलो भएको छ,’ उनले भने । बस्तीभित्र सडक, ढल, खानेपानी, रिटेनिङवाल लगायतको काम बाँकी छ । 

 ४२ घरधुरीको तेस्रो किस्ता रकम आउन बाँकी भएको निर्माण समितिका उपाध्यक्ष कुमार श्रेष्ठले बताए । ‘त्यो पैसा आएपछि हामी बाँकी घर पनि सम्पन्न गर्छौ,’ उनले भने ‘बैशाखसम्म सक्ने लक्ष्य छ ।’ जग्गा प्राप्ती, हरेकलाई लालपुर्जा, बस्ती निर्माण गर्न दाताको खोजी लगायत कारणले निर्माण सुरु गर्नमा ढिलाई भएको उनले बताए ।  

वडा अध्यक्ष प्रेमचन्द्र श्रेष्ठले बस्ती भित्र खानेपानी, सडक, ढल लगायतका कामको लागि बजेट अभाव भएको बताए । ‘खानेपानी र सडकको केही काम भएको छ,’ उनले भने ‘ढल ब्यवस्थापनका लागि काम गर्न बजेट अभाव भएपछि माग गरिएको छ ।’ जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन)बाट थप बजेट माग गरी पठाएको उनले बताए ।  

बस्ती निर्माण ढिला हुँदा वडा नम्बर ५ को धरमपानी, रिठ्ठेपानी, पाण्डेगाउँ, नयाँगाउँ र डाँडागाउँका स्थानीयलाई टहरामा गुजारा चलाउनुपर्ने बाध्यता छ । कतिपयले पुरानै घर टालेर र कतिपयले नयाँ टहरा बनाएर बसेका छन् । २०४४ सालदेखि चिरा परेको बस्ती भूकम्पले थप जोखिम पारेपछि स्थानान्तरणको योजना बनेको थियो । करिब दुईसय रोपनी जग्गा एकैठाउँमा लिएर एकसय पाँच रोपनीमा घर निर्माण गरिएको छ । एउटा परिवारका लागि छ आना जग्गा पूर्जा सहित दिइएको छ । कसको घर कुन हो भन्ने पनि यकिन भईसकेको छ । बस्तीभित्र कच्ची सडक छ । बिजुलीको पोल, खानेपानी, सडक स्तरोन्नती लगायतका काम भने बाँकी छन् । 

प्रकाशित: ८ माघ २०७७ १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App