१६ चैत्र २०८० शुक्रबार
समाज

आर्थिक अभाव झेल्दै बलात्कार पीडित परिवार

रुपन्देहीको तिलोत्तमा–१५ की पाँच वर्षीया बालिका ६ दिनदेखि काठमाडौंस्थित शिक्षण अस्पतालको बेडमा छटपटाइरहेकी छिन् । अस्पतालमा सँगै रहेकी बालिकाकी आमाका अनुसार उनको यौनांगमा गहिरो चोट छ । दिशापिसाबका लागि कोखाबाट पाइप लगाइएको छ । गालामा धारिलो हतियारले काटेर छालामासु निकाले जस्तो डरलाग्दो चोट छ । कलिला ओठमा टोकेर बनाइएको गहिरो घाउ छ । दाहिने आँखाको परेला च्यातिने गरी चोट लागेको छ । 

अधिकांश समय बेहोसी अवस्थामै रहेकी बालिका छिनछिनमा बिउँझँदा चिच्याउँछिन्, छटपटाउँछिन् । माघ २ गते काठमाडौं पुर्‍याइएकी उनलाई आइतबार दिउँसो आइसियुबाट जनरल वार्डमा सारिएको थियो । ‘छोरीलाई आइसियुबाट अर्को कोठामा सारेका छन् । शरीरभरि घाउ छन् । घरीघरी दुख्यो भनेर चिच्याउँछे । अपरेसन गरेपछि अब त बाँच्छे कि भन्ने लागेको छ,’ उनले टेलिफोन कुराकानीमा भनिन् ।

स्थानीय एक कक्षामा पढ्ने पाँच वर्षीया ती बालिका माघ १ गते छिमेककै एक व्यक्तिबाट बलात्कारको सिकार भएकी हुन् । बलात्कारमा संलग्न २८ वर्षीय होमबहादुर बिकलाई प्रहरीले सोही दिन पक्राउ गरेको छ । अभियुक्त कपिलवस्तुको बाणगंगा–१२ घर भई तिलोत्तमास्थित हीरालाल मल्लाहको घरमा कामदारको रुपमा बस्थे । पसलमा सामान किन्न गएकी बालिकालाई बिकले चकलेट दिने भन्दै फकाएर झाडीमा लगी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए ।  

घटनाको दिन साँझ ५ बजेतिर बालिका सामान लिन गाउँकै पसलमा गएकी थिइन् । पौने घण्टासम्म छोरी नफर्केपछि आमाले खोजी गरिन् । गाउँमा नभेटिएपछि आफन्तले झाडीतिर खोज्दै जाँदा बाँसको झाङमा बालिका अर्धमूर्छित अवस्थामा भेटिइन् । रगताम्मे भएकी बालिकाको यौनांग, ओठ, आँखा, गाला, घाँटीमा डरलाग्दा चोट थिए । बालिकाका आफन्त हरि मल्लाहका अनुसार छाती र घाँटीमा थिचेको जस्तो निसान थियो । बालिकालाई तत्कालै भैरहवास्थित मेडिकल कलेज लगे पनि त्यहाँबाट लुम्बिनी प्रादेशिक अस्पताल पठाइयो । लुम्बिनीले तत्कालै काठमाडांै रेफर गरिदियो ।  

अहिले बालिका खतरामुक्त रहे पनि स्वास्थ्य अवस्था गम्भीर नै रहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै रुपन्देहीका प्रहरी प्रमुख पोखरेलले बताए । ‘अपरेसनपछि बालिकाको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी पाएका छौं,’ एसपी पोखरेलले भने । अभियुक्त बिकले बलात्कारपछि हत्या गर्ने मनसायले आक्रमण गरेको देखिएको प्रहरीले जनाएको छ । नाबालिका बलात्कार र ज्यानै मार्नेसम्मको अपराध गर्ने अपराधीलाई आजीवन काराबासको सजाय हुनुपर्ने माग परिवार र आफन्तले गरेका छन् । बालिकाका आफन्त र गाउँलेले अभियुक्तलाई कडा कारबाहीको माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालयमा केहीबेर धर्नासमेत दिएका थिए ।

बलात्कारी होमबहादुरका गलत क्रियाकलाप ढाकछोप गरी संरक्षण गरेको भन्दै स्थानीयले हीरालाल मल्लाहलाई पनि कारबाहीको माग गरेका छन् । होमबहादुरको चालचलन पहिलेदेखि नै ठिक नभएकाले गाउँमा नराख्न स्थनीयले गरेको आग्रहलाई बेवास्ता गर्दा पाँच वर्षीया बालिका जघन्य अपराधको सिकार भएको भन्दै गाउँलेले हीरालाललाई कारबाहीको माग गरेका हुन् । स्थानीयको दबाबपछि प्रहरीले हीरालाललाई घटनाको तीन दिनपछि नियन्त्रणमा लिएको छ ।

विकलाई केही वर्षदेखि हीरालालले कामदारको रूपमा घरमा आश्रय दिएका थिए । स्थानीय स्कुलकी शिक्षिका सरस्वती भण्डारीका अनुसार अभियुक्त बिकले यसअघि पनि पटकपटक महिला, बालबालिकालाई जिस्काउने, संवेदनशील अंगमा छुन खोज्ने, रक्सीको बहानामा अश्लील शब्द बोल्ने क्रियाकलाप दोहोर्‍याएपछि गाउँमा नराख्न आग्रह गरेका थिए । तर हीरालालले उल्टै आफ्ना छोरीचेलीको सुरक्षा आफैं गर भन्दै गाउँलेलाई धम्काए । ‘घटना घटाएपछि पनि बिक हीरालालसँगै आगो तापेर बसेको थियो । ऊसँग सोध्न खोज्दा आफ्ना छोरीचेलीको सुरक्षा गर्न सक्दैनौ यसलाई दोष दिन्छौ भनेर उसले हामीलाई नै धम्कायो,’ बालिकाका मामा हरि मल्लाहले भने ।

बलात्कारको सिकार भएकी बालिका चार सन्तानमध्येकी साइली हुन् । उनका दुई दिदी र एक बहिनी छन् । बाबुआमा एक वर्षकी छोरीलाई काखमा च्यापेर चार दिनदेखि शिक्षण अस्पतालको चक्कर काटिरहेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्ने दम्पतीको सम्पत्तिको नाममा एकतले घर छ । घटनालगत्तै छोरीको उपचारका लागि काठमाडाैं लैजाँदा आफन्त र छिमेकले क्रणधन गरेर दिएको पैसा सकिन लागेको बालिकाका बुवाले बताए । छोरीको पिरले बाबुआमा भोकभोकै बसे पनि पैसा सकिएपछि काखे नानीलाई केले दूध किनेर खुवाउने भन्ने चिन्ता थपिएको आफन्तले बताए ।

५ वर्षमा बलात्कारका साढे ४ सय उजुरी

रुपन्देहीमा बलात्कारका घटना बर्सेनि बढ्दो छ । पछिल्लो ५ वर्षमा ४ सय ३९ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा प्रहरीमा दर्ता छन् । त्यसमध्ये १ सय २७ वटा जबरजस्ती करणीको प्रयासका हुन् । चालु आवको ६ महिनामा बलात्कारका ५२ वटा उजुरी परेका छन् । बालिका बलात्कारका घटना पनि बर्सेनि बढ्दो छ । ५ वर्षमा १ सय ३३ जना बालिका बलात्कारको सिकार भएका छन् । बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका विपन्न, बिरामी, अपागंता भएका, दूधे बालिकादेखि वृद्ध महिला पनि छन् । कलिलै उमेरमा बलात्कार जस्तो जघन्य अपराधको सिकार हुँदा बालिकाको शारीरिक र मानसिक वृद्धिमा गम्भीर असर पर्ने चिकित्सक बताउँछन् ।

यौनजन्य अपराधमा आफन्त, छिमेक वा चिनेजानेकै व्यक्तिको संलग्नता बढी भेटिने रुपन्देहीका प्रहरी प्रमुख एसपी पोखरेलले बताए । बालिकालाई फकाउन सजिलो हुने र घटनाबारे खुलेर बताउन नसक्ने भएकाले अपराधीले अबोध बालबालिकालाई निसानामा पार्ने गरेको प्रहरी प्रमुख पोखरेलले बताए ।

प्रकाशित: ८ माघ २०७७ ००:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App