८ वैशाख २०८१ शनिबार
समाज

गोरु तस्करीको अन्तर्य : गोरु रोक्नेलाई धम्की र प्रलोभन

मंगलबार धनगढीबाट मोरङ लैजाँदै गरेका गोरु । तस्बिर सौजन्यः राजु बस्नेत

दाङ बाँकेको सीमा क्षेत्र बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ लौकीमा पश्चिमबाट गोरु बोकेर ल्याउँदै गरेको ना ६ ख ३७५९ नम्बरको ट्रक स्थानीयले रोके । पूर्व पश्चिम महेन्द्र राजमार्ग भएर पश्चिमबाट यसअघि पनि ट्रकका ट्रक गोरु तस्करी भैरहेका थिए । स्थानीयले मंगलबार रोकेको ट्रकमा लोड गरिएका  गोरुको आधिकारीकता बारे सोधपुछ गरियो । 

ट्रक चालकले आँफूसंग भएका सबै कागजात देखाए । मोरङ स्थित एक गाई फार्मका लागि ति गोरुहरु लैजान थालिएको रहेछ । ‘मोरङमा गोरु बजार छ, मलाई त्यहिँ पुर्याएर छोड्न भनिएको हो,’ ट्रक चालक रमेश पौडेलले भने ‘अरु बाँकी कुराहरु मलाई केहि थाहा छैन ।’  

मोरङ पुर्याएर कृषि प्रयोजनका लागि बिक्री गर्ने उदेश्य देखाईएको कागजी प्रमाणले गोरु ढुवानीको बैधता बोलिरहेको त थियो । तर उक्त ट्रक पास गराउने जिम्मा पाएका स्थानीय एजेण्ट संगम खड्काले गोरु ढुवानीको कालोकतुर्त खोलिदिए । उनले ट्रक रोकेका स्थानीय राजु बस्नेतलाई भने ‘कसरी यो गाडी रोकिने रहेछ म पनि हेरौँला, म जसरी पनि पास गराएरै छोड्छु ।’ ति एजेण्टको यो धम्कीपूर्ण भाषाले गोरु ढुवानीको बैधताबारे केहि प्रश्न उब्जिए । 

उनले गाडी नरोक्नका लागि गरेको आर्थिक प्रलोभनले त यि गोरुहरु अबैध रुपमा लैजान थालिएको रहेछ भन्ने प्रष्टै भयो । ‘तपाईलाई पनि हामी मिलाउँछौँ,तपाईले गाडी छोडिदिनु पर्यो,’ राजुलाई ति एजेण्टले प्रलोभन पार्न खोजे ‘तपाईलाई पनि केहि हुन्छ, मिलेर काम गरौँ ।’ खुलेआम गरिएको आर्थिक प्रस्तावले गोरु तस्करी भैरहेको प्रमाणित भयो । 

अनि राजुले ईलाका प्रहरी कार्यालय कुसुमलाई गोरु तस्करी बारे जानकारी गराए । तर प्रहरी आईपुगेन । ‘मैले गोरु तस्करी भैरहेको छ, गाडी रोकेर राखेको छु भनेर प्रहरीलाई धेरै पटक फोन गरेँ,’ राजुले भने ‘तर प्रहरी आएन, उसको पनि सेटिङ त होला नि ।’ लामो समय सम्म प्रहरी नआईपुगेपछि स्थानीयले उक्त ट्रक छोडिदिए । 

गोरु बोकेको ट्रक ।

‘ट्रक प्रहरीलाई बुझाउन खोजेको हो, तर प्रहरी आएन,’ राजुले भने ‘प्रहरी नआएपछि हामीहरुले कतिन्जेल गाडी रोकेर बस्ने ? अनि छोडिदियौँ ।’ यता ईलाका प्रहरी कार्यालय कुसुमका सई श्याम अर्यालले भने प्रहरी ट्रक रोकेको ठाउँमा पुगेको दाबी गर्छन् । तर प्रहरी टोली त्यहाँ पुग्दा ट्रक छोडिईसकेको उनले दाबी गरे । ‘हामीहरु ट्रक रोकेको स्थानमा पुगेका हौँ, तर ट्रक छोडिईसकेको रहेछ,’ उनले भने ‘अनि हाम्रो टोली फर्किएको हो ।’

धनगढीबाट गोरु पठाउने बिश्व बस्नेत रहेछन् । उनले धनगढीका स्थानीसंग गोरु खरिद गरेर बिक्रीका लागि मोरङ पठाउन लागेका रहेछन् । उनले भने ‘धनगढीमा खरिद गरेर बिक्रीका लागि मोरङ पठाईएको हो ।’ कुन प्रयोजनका लागि पठाईएको ? भन्ने बारेमा उनले कृषीका लागि जोत्नका लागि मोरङमा यि गोरुहरु बिक्री हुने दाबी गरे । ‘

मोरङमा पुर्याएपछि यि गोरुहरु त्यहाँका किसानहरुले खरिद गर्नेहुन्,’ उनले भने ‘खेती किसानीका लागि नै यि गोरुहरु पठाईएको हो ।’ लामो समय देखि दाङ देउखुरी क्षेत्र लगाएत पश्चि नेपालबाट गोरु पूर्वी नेपाल पुर्याईने गरिएको छ । यि गोरुहरु काट्नका लागि बंगलादेश पुर्याईने गरेको वताईन्छ । 

यो बिषयमा बस्नेतले भने ‘कसरी पठाईन्छ होला र ? बाटोमा प्रशासन हुन्छ होलात , रोकिनु पर्ने, सजिलै कसरी बंगलादेश पुग्छन होला र ?’ बस्नेतका अनुसार एउटा गोरुको मुख्य एक हजार देखि तीन हजार रुपैयाँ सम्ममा खरिद गर्ने गरिन्छ । ‘हामीहरुले एउटा गोरुको मुल्य एक हजार देखि तीन हजार रुपैयाँमा खरिद गर्ने गर्छौँ,’ उनले भने ‘केहि नाफा लिएर हामीहरुले मोरङमा बिक्री गर्ने हो ।’  

पूर्व पश्चिम महेन्द्र राजमार्गका विभिन्न स्थानमा स्थानीयले तस्करी गरेर लगिँदै गरेका गोरु रोक्ने गरेका हुन्छन् । तर तस्करमा संलग्नहरुलाई कारवाही गर्ने निकाय भने मौननै छन् । ‘धेरै पटक तस्करी गरेर ल्याईएका गोरु रोक्यौँ,प्रहरीमा बुझाईन्छ,’ देउखुरी अमिलियाका एक स्थानीयले भने ‘तर कारवाही हुँदैन, उतिखेरै छुटिहाल्छन् ।’

 

प्रकाशित: ७ माघ २०७७ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App