coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गोरखा मालपोतमा सेवा लिन चारदिन

सेवाग्राहीलाई हैरानी

गोरखा मालपोत कार्यालयमा सेवा लिन आएका सेवाग्राही । तस्विर ः नागरिक

घटना नम्बरः १

–मेरो नाम सार्की गुरुङ हो । बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीको बासिन्दा म गत आईतवार मालपोत कार्यालय आएको थिए । मेरो नाममा रहेको जग्गा भाईको मृत्युपछि बुहारीलाई दिन आएका हौ । हामी चारजना छौं । सदरमुकाम आएको तीनदिन भयो, तर, काम सकिएको छैन । बसोबास र खानपिनका लागि ल्याएको २० हजार रुपैयाँ सकियो । खर्च नपुगेपछि बुहारीले थप १० हजार रुपैयाँ बैंकबाट निकालिन ।  

अधिकांश काममा पैसा खर्च भएको हो । अंशबण्डा गर्न यती धेरै दिन लागेको मलाई थाहा थिएन । भोलीपल्टै फर्किन्छु भनेर घरबाट हिडेको थिए । घरमा बस्तुभाउ छन्, श्रीमतीले मात्रै घर धान्न सकस छ । अब काम नसकी पनि कसरी जानु र ?

घटना नम्बरः २  

मेरो नाम यमबहादुर गुरुङ हो, ८४ वर्षको भएँ । शहिद लखन गाउँपालिका ताक्लुङदेखि नातीलाई जग्गा दिन आएको हुँ । सोमवार बिहान ८ बजे मालपोत आईपुगे, तर काम नभएपछि मंगलवार फेरी आउनुप¥यो । एकै दिनमा काम नहुँदा म जस्तो बुढो मान्छेलाई सकस भयो । लठ्ठी टेक्दै हिड्दा दुःख पाए । बसमा आउँदा उस्तै सास्ती छ । बजारमा बस्ने ठाउँ छैन, एकैदिनमा काम नहुँदा हैरानी भयो । भनेको बेला घर जाने गाडी पाउँदैन । गाडी रिर्जभ गरेर जाँदा महँगो पर्छ ।

घटना नम्बरः ३

म गजमान गुरुङ हुँ । धार्चे–४  लाप्राक मेरो घर हो । म गत सोमबार मालपोत कार्यालय आएको हुँ । जग्गा अंशबण्डा गर्न आएको थिए । शान्ति गुरुङ र मैते गुरुङलाई जग्गा दिनुपर्ने छ । कहिले के मिलेन, कहिले के मिलेन भनेर काम अडकिएका छौ । काम भएको छैन । मान्छे धेरै छन भन्छन, तर काम हुँदैन । काम हुँदैछ भनेर हामीलाई टार्छन । मैले केही बुझ्दिन । काम हुन्छ मात्र भन्छन, तर, हुँदैन ।

मालपोत कार्यालय गोरखामा आउने अधिकांश सेवाग्राहीका यस्तै गुनासा छन् । एकै दिनमा काम भएकाहरु भेट्न मुस्किल पर्छ । कम्तिमा दुईदेखि चारदिन सम्म कुरेर बसेका सेवाग्राही भेटिन्छन् । बिहान ९ नबज्दै काम लिएर मालपोतमा भिड लाग्ने सेवाग्राही दिनभरी काम नभएपछि बेलुकी निरास हुँदै फर्कन्छन् । लेखापढी व्यवसायीले पनि टाठाबाठा सेवाग्राहीको काम छिटोछिटो गराउँछन् भने सोझासाझालाई झुलाउँछन् । अधिकाशं सेवाग्राहीलाई कामको प्रक्रिया थाहा हुँदैन । अहिले पनि सेवाग्राहीको फाईल बोकेर लेखापढी कार्यालयको कोठा–कोठा चाहार्छन । फाँटका कर्मचारीले लेखापढीको अनुहार देखेपछि छिटो छिटो काम गर्ने र सेवाग्राहीसँग रुखो बोल्ने गर्छन । भित्र कर्मचारी के काम गरिरहेका छन् भन्ने बाहिरबाट सहजै देखिँदैन । सेवाग्राही झनै अलमलमा पर्छन ।  

कर्मचरी नहुँदा ढिलो ः कार्यालय प्रमुख थापा  

मालपोत कार्यालयका प्रमुख देबेन्द्रबहादुर थापाले कर्मचारी नहुँदा सेवा ढिला भएको बताएका छन् । २६ जनाको दरबन्दी रहेको कार्यालयमा चारवर्षदेखि प्रमुख मालपोत अधिकृत छैनन् । दुईजनाको दरबन्दी रहेको मालपोत अधिकृतमा एकजना कार्यरत छन् । एकजना अधिकृतले प्रमुख मालपोत अधिकृतको जिम्मेवारीमा काम गर्नुपरेको उनले बताए । सातजना खरिदार मध्ये ४ वटा दरबरन्दी हाल सम्म पदपूर्ती भएको छैन । ६ जना नायब सुब्बा मध्ये दुईजना मात्रै कार्यरत रहेको कार्यालय प्रमुख थापाले बताए । ‘फाँटमा काम गर्ने कर्मचारी छैनन,’ उनले भने ‘कर्मचारी नहुँदा सेवा दिन केही ढिलो भएको हो, २ बजे भित्र कागजात पुरा गरेर आएकालाई सेवा दिनसक्छौं  । भिड भएर ढिला भएको होला ।’  

दुईबजे पछि आउने सेवाग्राहीले भने मालपोत कार्यालयमा पुरा गर्नुपर्ने कामको चक्र नभ्याउने हुँदा अर्को दिन सम्म लाग्ने उनले बताए । ‘भएको जनशक्तिबाट सेवा दिएका छौं,’ उनले भने ‘पटक–पटक कर्मचारी माग गर्दा विभागले पठाएको छैन ।’ नामसारी, अंशबण्डा, घर कायम, फुकुवा, रोक्का लगायतका काम एकैपटक लिएर आउने हुँदा प्रक्रिया पुरा गर्न सेवाग्राहीलाई समय लागेको उनले बताए । ‘दैनिक ५० वटा लिखत पास भएको छ’ उनले भने ‘अहिले सेवाग्राहीको चाप धेरै भएकाले पनि समय लागेको हो ।’ पुस महिनामा एककरोड रुपैयाँ राजस्व जम्मा गरेको बताउँदै उनले अंशबण्डा, लिखत पारित, रजिष्टे«सन, प्रतिलिपी, नामसारी, किनबेच लगायतको सेवा लिने धेरै रहेको बताए ।

प्रकाशित: ७ माघ २०७७ ०८:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App